Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

वित्त व्यवस्थापनमा जिम्मेवार रहन अर्थमन्त्री शर्माको निर्देशन

२०७८ भाद्र १५ गते

बैंकिङ खबर । अर्थमन्त्री जनार्दन शर्माले वित्त व्यवस्थापन तथा त्यसको समुचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवहरूलाई आफ्नो विशिष्टताअनुसार परिणाममुखी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ । नवनियुक्त राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाउनुभएका सचिव सुमनराज अर्याललाई आइतबार स्वागत गर्दै उहाँले राजस्व वृद्धिको योजना यथाशक्य चाँडो पेस गर्न निर्देशन पनि दिनुभयो । सार्वजनिक संस्थान अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा यसअघि आफूले माग गरेका योजनाहरू यथाशक्य चाँडो पेस गर्न निर्देशन दिनुभएको छ ।

अर्थमन्त्री शर्माले मन्त्रालयअन्तर्गतका तीन जना सचिवको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न निर्देशन दिनुभयो । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरूमा सकारात्मक परिणाम दिनसके मात्र आफूहरूले काम गरेको पुष्टि हुने भएकाले त्यसैअनुसार लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजस्व वृद्धि, पुँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनैपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नवनियुक्त महालेखा नियन्त्रक अर्यालले नीतिगत सुधार, व्यावसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्यप्रणालीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महŒवपूर्ण रहेकामा जोड दिँदै त्यसका लागि आफ्नातर्फबाट सक्दो योगदान हुने विश्वास दिलाउनुुभयो । स्वागत कार्यक्रममा नवनियुक्त राजस्व सचिव कर्णले प्रशासनतन्त्रमा, ब्युरोक्रेसीमा अनुभवी व्यक्ति धेरै भए पनि सोअनुसारको कार्यसम्पादन कम देखिएको बताउनुभयो । उहाँले सरकारी कार्यालयले समेत स्वामित्व महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले करदातामैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजस्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’भन्दा ‘होम ग्रोन ट्रेन्ड’का आधारमा काम गरिने बताउनुभयो ।