Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

कोभिडको मारमा अर्थतन्त्र :औधोगिक उत्पादनदेखि कृषिसम्म प्रभावित

२०७८ भाद्र १४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक प्रदेश नं. २ कार्यालयले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले औधोगिक, उत्पादन क्षेत्रमा कोभिडले असर पार्ने देखाएको छ । कोभिडका कारण कृतिा तथा माछा पालनमा समेत प्रभाव पर्ने प्रतिवेदनले देखाएको छ ।

आर्थिक परिदृश्यको विश्लेषण गर्दा चालु आर्थिक बर्षको बाँकी ६ महिनाको अवधि तथा आगामी आर्थिक बर्षमा यस प्रदेशको आर्थिक गतिविधिहरु बढ्ने अनुमान रहेकोमा कोरोना भाइरस (कोभिड—१९) संक्रमण बढ्दै गएको र पुँजीगत खर्च अपेक्षित रुपमा हुन नसकेकोले आर्थिक बर्ष २०७७÷७८ मा प्रदेशको आर्थिक वृद्धिदर सामान्य रहने अनुमान छ । प्रदेशका कृषि विज्ञ, पशुपक्षी विज्ञ, मालपोत कार्यालय प्रमुख, यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुख, डिभिजन वन प्रमुख, उद्योगी व्यावसायी तथा अन्य सरोकारवालाहरुले आर्थिक परिदृश्य सम्बन्धी प्रश्नावली मार्फत व्यक्त गरेका विचार तथा जानकारीका आधारमा विश्लेषण गर्दा कृषि, उद्योग र सेवा क्षेत्रको गतिविधि यस प्रदेशमा आगामी आर्थिक बर्षहरुमा बढ्दै जाने अनुमान गरिएको छ ।

 कृषि उत्पादन
यो प्रदेशका किसान माछा पालनतर्फ निकै आकर्षित हुँदै गएका तथा धनुषा जिल्लालाई माछा पालनको लागि सुपरजोनको रुपमा घोषणा गरी कार्यक्रम संचालन गरिएको र यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जामा समेत बृद्धि भएको कारण माछा उत्पादनमा यस प्रदेशको योगदान अझै बढ्दै जाने देखिन्छ । तथापि, कोभिड १९ को दोस्रो लहर आउने संकेत देखिएकोले चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा कृषि तथा माछा उत्पादनमा कमी आउने आंकलन गरिएको छ ।

औद्योगिक उत्पादन
चालु आर्थिक बर्षको बाँकी अवधिमा कोभिड–१९ को प्रभाव क्रमश बढ्दै जाने अनुमानका कारण चिनी, चुरोट, फलाम, खाद्यान्न तथा अन्न बालीको उत्पादन आउदो दिनमा क्रमशः घट्दै जाने देखिन्छ । प्रदेशभित्र सञ्चालित उद्योगहरुको क्षमता उपयोगको अवस्था आधा भन्दा कमै रहेकोमा आगामी दिनमा पनि क्षमता उपयोगमा सुधार हुनेसम्भावना कम रहेको छ ।

सेवा क्षेत्र
चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा सेवा क्षेत्रको योगदान पनि घट्ने देखिन्छ । कोभिड–१९ को दोस्रो लहर सुरु भएसंगै होटल तथा रेष्टुरेन्टहरु, आन्तरिक पर्यटन सम्बन्धी गतिविधि, थोक तथा खुद्रा व्यापार तथा सवारी साधन र विद्यालयहरु बन्द हुने संभावनाको कारण आगामी अवधिमा आर्थिक वृद्धिमा प्रतिकूल प्रभाव पर्न सक्छ ।

पूर्वाधार क्षेत्र
चालु आर्थिक वर्षमा पूर्वाधार क्षेत्रको योगदान बढ्ने अनुमान रहेको छ । प्रदेश नं.२ मा निर्माणाधीकन राष्ट्रिय गौरव आयोजनाहरुको काम द्रुत गतिमा बढ्ने, जयनगर—जनकपुर रेल्वेको नीतिगत व्यवस्था लगायत कार्यविधिहरु तयार भई रेल सञ्चालनमा आउने, प्रदेशभित्र स्थानीय तहहरुले विकास निर्माणका कार्यहरुमा तीव्रता ल्याउँदा सडक, खानेपानी, ढल निर्माण जस्ता स—साना आयोजनाहरु सम्पन्न हुने अनुमान छ । हुलाकी राजमार्ग निर्माणको कार्य प्रगतिमा वृद्धि हुने, सुनकोशी मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना निर्माण कार्य अगाडी बढ्ने जस्ता कार्यले आगामी वर्षहरुमा पूर्वाधार क्षेत्रको प्रगतिमा उल्लेख्य वृद्धि हुने अनुमान छ । स्थानीय तहमा अधिकार प्रत्यायोजन, जनताको विकास प्रति जागरुकता र निर्माण सामग्रीको सहज उपलब्धता जस्ता कारणले यस प्रदेशमा आगामी दिन पूर्वाधार निमार्णको गतिमा तीव्रता आउने अनुमान गरिएको छ ।