
बैंकिङ खबर । नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्च समयमै खर्च नहुँदा बजारमा तरलता अभाव भएको बताएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी सँग चेम्बरले बिहिबार आर्थिक वर्ष २०७७/७८ मा भएको पुँजीगत खर्च पनि पहिलेजस्तै न्यून रहेकाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च समयबद्ध तालिकाअनुसार खर्च गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
यस्तै, चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बिमा व्यवसायलाई सरलीकृत गर्न साबिकमा प्रिमियम वापत चेकबाट भएको भुक्तानीलाई मान्यता दिने व्यवस्थालाई निरन्तरता दिन माग गरेका छन् । यस्तै, रुग्ण उद्योगलाई सहुलियत बैंक ब्याजदर, कृषि उपजको बजार सुरक्षण तथा महँगी नियन्त्रणका लागि २ वर्षको लागि कृषि उत्पादनको बाइव्याक अन्तरगत बफर स्टक राख्ने व्यवस्था गर्न चेम्बरले अर्थ सचिव मरासिनीको ध्यानाकर्षण गराएको हो ।
अर्थ सचिव मरासिनीले समेत चेम्बरबाट आएको सुझावलाई सकारात्मक रूपमा लिएको बताउदै व्यवसायीको आत्मविश्वास बढाउन सरकार कटिबद्ध रहेको बताए ।


