
बैंकिङ खबर/अर्थमन्त्री जनार्दन शर्माले सरकारले निजी क्षेत्रसँग हातेमालो गर्न नीति तय गर्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको भेटका अवसरमा उहाँले भन्नुभयो, ‘देशभर साना तथा मझौला उद्योगहरुको व्यापक सञ्जाल बनाउने र तिनकै जगमा ठूला उद्योगहरुको विकास गर्न सकिन्छ, त्यसको लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने नीति तय गर्नेछ ।’
मुलुकको अर्थतन्त्रको आधार स्तम्भका रुपमा रहेका साना तथा मझौला उद्योगहरुको प्रवर्द्धनबाट मात्रै आर्थिक विकास सम्भव भएको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘साना उद्योगको संख्या कति छ ? अवस्था के छ र समस्या के छ ? बजारको अवस्था के हो ? उत्पादनको अवस्था के छ ? सबै कुराको अध्ययन गरेर के के गर्न सकिन्छ छलफल गरौं ।’
आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार भएको भन्दै उहाँले
साना उद्योगको विकासको लागि सहुलियत कर्जाको व्यवस्था गर्न सकिने बताउनुभयो ।
मुलुकको अर्थतन्त्रको विस्तार, स्थायित्व, समावेशीकरण र दीगो विकासको आधार तयार गर्न आफू क्रियाशील रहने बताउँदै उहाँले आम नागरिकको जीवनमा रूपान्तरण ल्याउनका लागि मूल तहमा अनुभूत हुनेखालका उद्यमशीलता विकास कार्यक्रम लागू गर्ने ती उद्यमको दीगो सञ्चालन आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको आर्थिक विकास र सम्बृद्धिको आधार भनेको उद्यमशीलता विकासको माध्यमबाट घरघरमा सिर्जना गर्ने रोजगारी मार्फतको औद्योगिकरण भएको बताउनुभयो ।


