साताको आइतबारदेखि सामान्य घट्दै आएको शेयर बजार बुधबार आएर सुधारिएको छ । साताको तीन दिनमा ६.३८ अंकले घटेको नेप्से परिसूचक बुधबार ८.७४ अंकले बढ्दै १२६६.०८ अंकको नयाँ उचाइमा पुगेर बन्द भएको www.businesssansar.com मा खबर छ । परिसूचकसँगै शेयर कारोबार पनि बढेको छ । दिनभरिमा १ सय २१ वटा कम्पनिको २३ सय ५८ कित्ता शेयर ९ लाख ५९ हजार ४ सय ६३ पटक किनबेच हुँदा ४९ करोड ४९ लाख ७६ हजार १ सय ९१ रुपैँया बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार ४५ करोडको नेप्से कारोबार भएको थियो ।
कुल कारोबार रकममध्ये, बुधबार सबैभन्दा धेरै नेपाल बैँकले ५ करोड ७७ लाख १४ हजार ३२ रुपैँया बराबरको शेयर कारोबार गरेको छ । एनएमबी बैँकको ३ करोड ८३ लाखभन्दा माथिको शेयर कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैँक र नेको इन्स्योरेन्सको २ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बंगलादेश बैँक, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, चिलिमे जलविद्युत् कम्पनि र इन्भेष्टमेन्ट बैँकको संस्थापक शेयर १ करोड माथिको कारोबार भएको छ । १० प्रतिशतले शेयर मूल्य बढेको सेती फाइनान्स र काबेली विकास बैँकका लगानीकर्ताले धेरै कमाएका छन् भने मिरमिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैँकका लगानीकर्ताले गुमाएका छन् जसको शेयर मूल्य ९.६३७३ प्रतिशतले घटेको छ ।
जलविद्युत् समूहबाहेक सबै समूहका शेयर सूचक बढेका छन् । २ करोड ४५ लाखभन्दा माथिको कारोबार भएको जलविद्युत् समूह ७.९९ अंकले ओर्लिएको छ । सबैभन्दा धेरै २८.६ अंकले बढेको उत्पादनमूलक समूहको सबैभन्दा थोरै २ लाख ८१ हजारमाथिको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै २३ करोडमाथिको कारोबार भएको वाणिज्य बैँक समूह ८.९७ अंकले बढेको छ । वीमा समूह २८.१६ अंकले बढेको छ भने अन्य समू १०.५७ अंकले बढेको छ । त्यस्तै, होटल, विकास बैँक र फाइनान्स समूह क्रमशः ३.९९, ६.७४ र ३.९४ अंकले बढेका छन् ।