
बैंकिङ खबर/झन्डै दुई महिनापछि बिहीबारबाट आन्तरिक हवाइ उडान सुरू भएको छ । कोरोना महामारीका कारण सरकारले वैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो। बिहीबारदेखि आन्तरिक उडान पुनः सुरू भएको हो।
आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरूलाई काठमाडौं आउन र काठमाडौंबाहिर जान सहज भएको छ। हवाई यात्रामार्फत् विभिन्न ठाउँबाट काठमाडौं आएका यात्रुले फेसशिल्ड, मास्क र सेनिटाइजरलगायतको व्यवस्थासहित सुरक्षित तवरले विमानस्थलमा आइपुगेका छन् ।

उडान खुलेको पहिलो दिन विमानस्थलमा भीडभाड बढेको देखिएको छ। नेपाल नागरिक उडड्यन प्राधिकरणले हाललाई जुलाई महिनाभर (असार १७ देखि साउन १६ गतेसम्म) का लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्विकृत गरेको जनाएको छ । त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुर लगायत दुर्गम भेगका लागि दैनिक ८ वटा उडान हुने छन् । बिहान साढे ६ बजेबाट बेलुकी ६ बजेसम्मका लागि आन्तरिक उडानको अनुमति दिईएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञाअघि सञ्चालन गरेको उडान सङ्ख्याको आधार सङ्ख्यामा १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको छ ।

विमानस्थलका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई १०, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीनरतीन उडान स्वीकृति दिइएको छ ।
विमानस्थलले कोभिड–१९ महामारीको हालको जोखिम स्थितिलाई ध्यानमा दिई यात्रुको सुरक्षित आवागमनका लागि नेपाल सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्यसम्बन्धी मापदण्डरप्रोटोकल प्रभावकारी रूपमा पालना गराउनेछ । यसका लागि सुपरिवेक्षण समितिसमेत गठन गरिएको छ ।
आन्तरिक उडानका अग्रणी वायुसेवा प्र्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायतले जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्दै सङ्क्रमणरहित उडानमा जुटेको जनाएका छन् ।




