
बैंकिङ खबर/नेपालमा ठूलो मात्रामा धान, चामल लगायतका खाद्यान्न आयात हुने गरेको छ । नेपाललाई कृषिप्रधान देशको रुपमा चिनिएपनि हाल धान, चामल, मकै र गहुँजस्ता अन्न भारतबाट मात्र होइन अमेरिकी देशहरूबाट समेत आयत हुने गरेको छ ।
भन्सार विभागका अनुसार पछिल्लो ५ वर्षको अवधिमा नेपालमा पाँच ५ वर्षमा १ खर्ब २० अर्बको चामल आयात भएको छ । जसमा आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ को जेठ मसान्तसम्ममा २५ लाख ३३ हजार ५ सय १५ मेट्रिक चामल आयात गर्दा नेपालबाट १ खर्ब २० अर्ब ६७ करोड ५४ लाख ९९ हजार रुपैयाँ चामल खरिदमै बाहिरिएको छ ।
जसमा आव २०७३/७४ मा १९ अर्ब ५९ करोड १८ लाख रुपैयाँको ४२ करोड ६८ लाख ९५ हजार केजी चामल आयात गरेको छ । त्यस्तै, २०७४/७५ मा २३ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ बराबरको ५२ करोड ८३ लाख ३९ हजार केजी, २०७५/७६ मा २५ अर्ब ७४ करोड ९० लाख रुपैयाँको ५३ करोड ४३ लाख ९९ हजार केजी, २०७६/७७ मा २३ अर्ब १७ करोड १७ लाख रुपैयाँ बराबरको ४४ करोड १ लाख ५५ हजार केजी र २०७७/७८ को जेठमसान्तसम्ममा २८ अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको ६० करोड ३७ लाख २४ हजार केजी चामल आयात भएको भन्सार विभागले जनाएको छ ।
चालु आवमा चामल आयात हालसम्मकै उच्च रहेको छ । नेपालमा वार्षिक प्रतिव्यक्तिले १ सय ३७ केजी चामल खपत गर्ने अध्ययन देखाएको छ । विगतका दिनमा प्रतिव्यक्ति ९० केजी वार्षिक चामल खाने अनुसन्धानबाट निष्कर्ष निकालेको थियो । तर, अहिले नेपाली भान्सामा चामल मात्रै पाक्ने भएकाले १ सय ३७ केजी पुगेको छ ।
नेपालमा धान अर्थात धानको बिउ मात्रै १४ लाख ७७ हजार ६ सय ४२ मेट्रिक टन आयात भएको छ ।
जसमा आर्थिक वर्ष २०७३/७४ मा ४ अर्ब २८ करोड ६७ लाख रुपैयाँ बराबरको १ करोड ६३ लाख ३० हजार केजी, आव २०७४/७५ मा ५ अर्ब ९७ करोड २५ लाख रुपैयाँको २१ करोड ५० लाख ५० हजार केजी, आव २०७५/७६ मा ६ अर्ब ८४ करोड ६० लाख रुपैयाँ बराबरको २३करोड ५१ लाख ६७ हजार केजी, आव २०७६/७७ मा १० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको ३४ करोड ८३ लाख ३६ हजार केजी र चालु आवको जेठ मसान्तसम्ममा १९ अर्ब ५५ करोड ९७ लाख रुपैयाँ बराबरको ३४करोड ८३ लाख ३६ हजार केजी धान आयात भएको छ ।
वार्षिक रुपमा धानको बिउमा आयात बढ्नुको मुख्य कारण हाइब्रिड कल्चर रहेको विज्ञहरुको भनाइ छ ।
यसैबीच नेपालले वार्षिक रुपमा उल्लेखनीय चामल आयात गरेसँगै नेपालमा पनि धानको उत्पादन उल्लेखनीय रहेको छ । जसमा पाँच वर्षको अन्तरालमा नेपालले साढे २ करोड बढी मेट्रिक टन धान उत्पादन गरेको छ ।
कृषि मन्त्रालयको तथ्यांक अनुसार पाँच वर्षको अवधिमा नेपालले २ करोड ७१लाख ६४ हजार ८ सय ५१ मेट्रिक टन धान उत्पादन भएको जनाएको छ ।
चालु आर्थिक वर्षमा चैते धान र वर्षे धान गरी कुल धानको उत्पादन गत वर्षको तुलनामा ७० हजार ८ सय ३१ मेट्रिक टनले वृद्धि भई ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन उत्पादन भएको छ ।
साथै, १४ हजार हेक्टर ५ सय ५९ हेक्टर क्षेत्रफल वृद्धि भई कुल १४ लाख ७३ हजार ४ सय ७४ हजार हेक्टर क्षेत्रफलमा धान उतपादन भएको छ । त्यस्तै, आव २०७२/७३ मा ४२ लाख ९९ हजार ७९ मेट्रिक टन, आव २०७३/७४ मा ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक टन, आव २०७४/७५ मा ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन, आव २०७५/७६ मा ५६ लाख १० हजार ११ मेट्रिक टन, आव २०७६/७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।




