June 1st, 2021

तीनवटा मुलुकमा दुईतर्फी उडान शुरु

बैंकिङ खबर/नेपालबाट चीन, टर्की र कतारका लागि दुईतर्फी नियमित उडान पुनः संचालनमा आउने भएको छ।
कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि भारतबाहेकका अन्तर्राष्ट्रिय उडान रोकेको सरकारले पछिल्लोपटक तीन मुलुकमा मंगलबारदेखि पुनः उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। नियमित उडान बन्द भएपछि चार्टर उडान भइरहेका थिए। त्यसमा ट्राभल एजेन्सीले यात्रुबाट भाडामा मनोमानी गरेको गुनासो बढेपछि सरकारले तीन मुलुकका लागि उडान खोल्ने निर्णय गरेको हो।

नागरिक उड्डयन प्राधिकरणका अनुसार चीन, टर्की, कतार लगायतका वायुसेवा कम्पनीलाई साताको एउटा उडान सञ्चालनका लागि सेडुलिङको काम भइरहेको छ । टर्कीको वायुसेवा कम्पनी टर्किस एयरलाइन्सले साताको एउटा उडान बिहीबार गर्ने तालिका पाएको छ। यो कम्पनीले आगामी बिहीबारदेखि नियमित उडान शुरु गर्न लागेको छ।

यसैगरी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, निजी क्षेत्रका वायुसेवा कम्पनी हिमालय एयरलाइन्स, कतार एयरवेज र चीनको वायुसेवा कम्पनीको उडान तालिका भने तयार हुने क्रममा रहेको छ । तीन गन्तव्यमा उडान सुरु भएसँगै नेवानिले दोहा, हिमालयले चीन, कतार एयरवेजले दोहा-काठमाडौं, चीनको एउटा वायुसेवा कम्पनीले चीन–नेपाल, टर्किस एयरलाइन्सले इस्तानबुल-काठमाडौंतर्फ साताको एउटा/एउटा उडान गर्नेछन्।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]