२०७८ जेष्ठ ५ गते

बैंक तथा सहकारीहरुका लागि उपयुक्त भर्चुअल प्लाटफर्म

सन्तोष तिमल्सिना

कोभिड–१९ को महामारीबाट सिङ्गो विश्व नै आक्रान्त बनेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन नेपालमा पनि बढ्दै गएको छ । नयाँ भेरियन्टसहित दोस्रो लहरमा फैलिएको कोभिड–१९ को संक्रमण पुष्टी हुने र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलन थालेपछि स्थानीय प्रशासनहरुले कोरोना भाइरस संक्रमण जोखिम व्यवस्थापन, न्यूनीकरण र रोकथामका लागि निशेषधाज्ञा जारी गरिएको छ ।

अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन, बैठक, भेला, गोष्ठी, तालिम, सेमिनार जस्ता मानिसहरुको भिडभाड हुने खालका गतिविधि तथा कार्यक्रमहरु अत्यावश्यक बाहेकका साधन बाहेकका अन्य सवारी साधनहरुलाई आवतजावत समेत रोक लगाईएको अवस्था छ । यसको प्रभाव स्वरुप सिनेमा हल, होटल व्यावसाय, शैक्षिक संस्था तथा सामाजिक संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन भने बैंक तथा वित्तिय संस्था र सहकरीहरुले आंशिक रुपमा सेवा प्रवाह गरिरहेका छन ।

संक्रमणलाई फैलिन नदिनका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाई सजक र सतर्कतापूर्वक आंशिक सेवा प्रदान गरेता पनि संकटमा सर्तकताका साथ स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गदै आफु, आफ्नो परिवार तथा आफु संलग्न संस्था र त्यसमा आवद्ध सदस्य एवं ग्राहकलाई समेत सुरक्षित गर्नु नेतृत्वको जिम्मेवारी पनि हो । बन्दाबन्दी अर्थात महामरीको समयमा पनि संस्थाका दैनिक तथा प्रसासनिक कार्य संचालनका लागि सूचना र प्रविधिको अधिकतम प्रयोग गरी सेवा तथा गतिविधिहरु गर्न सकिन्छ । यो समयमा भर्चुअल विधिलाई अवलम्बन गरी बैठक, तालिम तथा अनलाईन कक्षाहरु सञ्चालन गर्न सकिन्छ । बन्दाबन्दीको अवधिमा विभिन्न भिडियो कन्फ्रेन्सिङ प्लाटफर्महरुको सर्वाधिक प्रयोग भैरहेको पाईन्छ ।

जुम :
विश्वभरी कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि घरबाटै कुराकानी तथा बैठक, छलफल गर्न तथा सञ्चार माध्यमहरूले अन्तर्वार्ता लिनका लागि जुमको सर्वाधिक प्रयोग भएको पाईन्छ । जुम एक भिडियो सम्मेलन सफ्टवेयर प्रोग्राम हो जुन जुम भिडियो सञ्चारद्वारा विकसित गरिएको हो । बन्दाबन्दीको समयमा विभिन्न संघ संस्थाहरुले जुमको प्रयोग गरी घरमै बसीबसी नियमित कार्य, बैठक, तालिम तथा सेवाहरु जारी राख्ने प्रयास गरेका छन ।

जुम क्लाउड मिटिङ एप्लिकेसनबाट इन्टरनेटका माध्यमबाट एकै पटकमा धैरै जना सहभागि गराई मिटिङ गर्न गर्न सकिन्छ । यो एपको प्रयोग गरी स्क्रिन सेयर गरी भिडियो, फोटो पावरपवान्टमा तयार पारेको ‘प्रिजेन्टेसन’ लगायतका सामाग्रीहरु सहभागीलाई देखाउन मिल्नुका साथै बैठक भिडियो सामाजिक सञ्जाल, न्युज पोर्टल वा अन्य माध्यममार्फत प्रत्यक्ष प्रसारण तथा प्रोगाम रेकर्ड गर्न सकिन्छ । जुम क्लाउड मिटिङ एप्लिकेशनमा मिटिङ होष्ट गर्ने व्यक्तिले सबै सहभागीलाई नियन्त्रण गर्न मिल्ने सुविधा रहेका कारण यसका प्रयोगकर्ताहरु बढ्दै गएको छ । जुम एप निःशुल्क रुपमा प्रयोग गर्दा १०० जनाको सहभागितामा ४० मिनेट बैठक संचालन गर्न सकिन्छ ।

गुगल मीट :
गगुल मीट सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलद्वारा विकसित गरिएको एक भिडियो कन्फ्रेन्सिङ एप्लिकेशन हो । यो एप्लिकेशनको प्रयोग गरि अनलाईन कक्षा, बैठक तथा तालिमहरु संचालन गर्न सकिन्छ । जिमेल वा एपबाट पनि मिटिङ्ग सुरु गर्न सकिन्छ । यो एप्लिकेशन मार्फत बैठक बस्दा गुगल कार्यक्षेत्रका उपयुक्त गुगल ड्राईभ, डकुमेन्ट, सिट, स्याईड र ब्यावसायिक डिजाईनहरु प्रयोग गर्न सकिन्छ ।

बैठकका बिषयका प्रस्ताव, छलफलका बिषय, तथा अन्य प्रस्तुतीकरणका लागि तयार पारिएको सामाग्रीहरु स्क्रीन शेयर गरेर सहभागिहरु माझ प्रस्तुत गर्न सकिन्छ ।
अनलाइनमार्फत भिडियो बैठक तथा कुराकानी गर्न सकिने गगुल मीटमा एकै पटक २५० जना भन्दा बढीको संख्यामा १ घण्टासम्म निःशुल्क प्रयोग गर्न सकिन्छ ।

माईक्रोसफ्ट टीम्स :
माइक्रोसफ्ट कम्पनीद्वारा उत्पादन गरिएको संचारको एक प्लेटफर्म हो । भिडियो कन्फेक्सन तथा फाईल भण्डारका लागि यो एप्लिकेशन उपयुक्त मानिन्छ । अनलाईन बैठक, च्याट, क्याउड स्टोरेज लगायतका सबै फिचरहरु एकै ठाँऊमा हुने भएकाले भर्चुअल क्लास संचालनका लागि माईक्रोसफ्ट टीम्सको प्रयोग गरिन्छ ।
अनलिमिटेड रुपमा मिटिङ सेडुल निर्धारण, १० जिबि सम्म फ्रि डाटा स्टोरेज, अधिक रुपमा भिडियो तथा अडियो डिस्कशन, सेक्युर्ली स्टोरजेज माइक्रोसफ्ट एक्सेस, वर्ड, एक्सेल र पावरप्वाईन्टको उपयोग गर्न मिल्ने भएकाले भर्चुअल क्लास तथा तालिम संचचालनका लागि यो एप्लिकेशन अधिक रुपमा प्रयोग भएको पाईन्छ ।

यि एप्लिकेशनहरु पछिल्लो समय नेपालमा सर्वाधिक रुपमा प्रयोगमा आएका प्रतिनिधि एपहरु हुन । यसका अलवा स्काईप, भाईवर, गोटुमिटिङ लगायतका थुप्रै एप्लिकेशनहरु उपलब्ध छन । बन्दाबन्दीको समयमा धेरै मानिसहरु एकै स्थानमा भेला भएर बैठक भेला गर्न नमिल्ले परिस्थितीमा प्रविधिको अधिकतम प्रयोग गरी संस्थालाई गतिशिलता दिन सकिन्छ । घरमै बसिबसि भर्चुअल मिटिङ गरी महत्वपूर्ण निर्णय लिन सकिने भएकाले पनि यस्ता एप्लिकेशनहरुको उपयोगिता बढ्दै गएको छ ।