२०७८ बैशाख २४ गते

‘मोबाइल र इन्टरनेट विना पनि गाउँमा डिजिटलाइजेसन सम्भव बनाउँदै छौँ’

युवराज थापा
सिइओ
नेपाल फिनसफ्ट कम्पनी लिमिटेड

(Nepal Finsoft Company Ltd.)

नेपाल फिनसफ्ट कम्पनी लिमिटेडले विगत लामो समयदेखि लघुवित्तहरूलाई आवश्यक टेक्नोलोजीहरू उपलब्ध गराउँदै आएको छ । लुघवित्तमा देखिएको कोर बैंकिङ समस्यालाई समाधान गर्ने उद्देश्यले यस कम्पनीको स्थापना भएको हो । कम्पनीको सिइओमा विगत चार वर्षदेखि युवराज थापा कार्यरत हुनुहुन्छ । आइटी फिल्डमा डिफ्रेन्ट सेग्मेन्टहरूमा २५ वर्ष बिताउनुभएका सिइओ थापाले कम्पनीमार्फत लघुवित्तहरूलाई विभिन्न टेक्नोलोजीहरू उपलब्ध गराउँदै आउनुभएको छ । सिइओ थापासँग बैंकिङ खबरले लघुवित्तमा डिजिटलाइजेसनको अवस्थाबारे कुराकानी गरेको छ ।

तपाईंको नेतृत्वमा रहेको नेपाल फिनसफ्ट कम्पनीबारे बताइदिनुस् न ?
नेपाल फिनसफ्ट लघुवित्तहरूले टेक्नोलोजीको सेक्टरमा भोग्नुपरेको समस्याको सहज समाधानका लागि खोलिएको कम्पनी हो । कम्पनी स्थापनाको मूल उद्देश्य लघुवित्त संस्थामा कोर बैंकिङको समस्या समाधान गर्नु हो ।
यो कम्पनीले हालसम्म आफ्नो सफ्टवेयर बनाउन पाएको छैन । अहिले विदेशी सफ्टवेयरको वितरक भएर काम गरिरहेका छौँ । त्यो सफ्टवेयरको मार्केटिङ, प्रमोसन र सर्पोट पनि गरिरहेका छौँ । अहिले लघुवित्तहरूमा लाइभ भएको छ । त्यहाँ केही समस्या आयो भने हामी यहीँबाट सल्भ गर्छौं । हाम्रो यहीँ कल सेन्टर छ ।
सफ्टवेयरसँगसँगै हामीले लघुवित्तलाई आवश्यक पर्ने ट्यावलेटलगायत विभिन्न टेक्नोलोजीका सामानहरू समेत उपलब्ध गराउँछौँ । हामीले आधिकारिक वितरकका रुपमा सस्तो मूल्यमा आफ्ना ग्राहकहरूलाई टेक्नोलोजीका सामानहरू दिँदै आएका छौँ ।

नेपाली लघुवित्तमा डिजिटलाइजेसनको अवस्था के छ ?

नेपालमा कमर्सियल बैंक, डेभलपमेन्ट बैंक, फाइनान्स कम्पनी र लघुवित्तहरू गरी चारवटा सेग्मेन्ट छन् । टेक्नोजोलीको दृष्टिले हेर्दा सबैभन्दा अप्ठ्यारो स्थितिमा लघुवित्तहरू छन् । लघुवित्तहरूमा कोर बैंकिङबाहेक अरु पनि डिजिटलाइजेसनका कामहरू हुन्छन् भन्ने धारणामा हामी थिएनौँ । कम्प्युटराइज अथवा डिजिटलाइजेसन भनेको कोर बैंकिङ सिस्टम भन्ने हामीले सोचिरहेका थियौँ । तर अहिले सन्दर्भ, परिस्थिति परिवर्तन भएको छ । अहिले सबैले बुझ्न थालेका छन् ।

सहर–बजारमा अहिले जेलाई डिजिटलाइजेसन भनिँदै छ, त्यसमा वालेट, मोबाइल एप्लिकेसन छन् । तर, यो ग्रामीण भेगमा काम लाग्दैन, किनभने गाउँका ग्राहक भनेका २ हजार, ५ हजार लोन लिन आउने ग्राहक हुन् । उनीहरूले स्मार्ट फोन चलाएर पेमेन्ट गर्न सक्छन् भन्ने सोच नराखे पनि हुन्छ । यस्तो अवस्था कसरी समाधान गर्ने, उनीहरूलाई कसरी समेट्ने विषयमा वालेट कम्पनीसँगै सहकार्य गरेर हामी आफैँ गाउँमा गइरहेका छौँ । हाम्रा ग्राहकलाई जति पनि डिजिटल पेमेन्ट सिस्टम चाहिन्छ, त्यो हामिले पूरा गरिरहेका छौं ।
यसरी हामी गाउँगाउँमा जान खोजिरहेका छौँ ।

ग्रामीण क्षेत्रलाई डिजिटलाइजेसनसँग कसरी जोड्न सकिएला ?

डिजिटलाइजेसन एउटा मात्र कुराले हुने होइन । यसको एउटा सिस्टम हुन्छ । यसमा नेवटर्क चाहियो, मोबाइल, कम्प्युटरजस्ता डिभाइस चाहियो, इन्टरनेट चाहियो, त्यसपछि एउटा सर्भिस चाहियो । यसरी सबै चिज एउटै कम्पनीले पु¥याउन गाह्रो छ ।

नेपालका गाउँगाउँमा थ्रिजी सेवासमेत नपुगेको अवस्था छ । त्यसैले सहर–बजारमा जुन डिजिटलाइजेसन भनेर सोच्छौँ, त्यो गाउँमा सम्भवै छैन । यद्यपि, सम्भव छैन भनेर पछाडि हट्ने भने होइन । समाधानको अर्को बाटो पनि छ । त्यसका लागि नेपाल फिनसफ्ट कम्पनीले आफैँ रिसर्च गरेर प्रोडक्ट बनाउँदै छौँ । प्रडक्टहरू बनि पनि सकेका छन् । यो प्रविधिमार्फत मोबाइल, वाइफाई, इन्टरनेटलगायतको अभावमा पनि अनलाइन ट्रान्जेक्सनहरू गर्न सकिन्छ ।

लघुवित्तका ब्रान्चहरू गाउँगाउँमा हुन्छन् । दुई दिन हिँडेर पनि हामीले सेवा पु¥याइरहेका हुन्छौँ । त्यो ठाउँमा मोबाइलको नेटवर्क पनि हुँदैन । त्यहाँका कस्टुमरलाई हामीले डिजिटलाइजेसनमा कसरी ल्याउने त ? यो एकदमै च्यालेन्जिङ काम हो । हाम्रो ब्रान्चसम्म नेटवर्क छ, तर त्यहाँ छैन । त्यहाँसम्म हामीले रेडियो फ्रिक्वोन्सीमार्फत काम गर्न सक्छौँ । नेपाल फिनसफ्ट कम्पनीले आफैँ एउटा डिजाइन गरेर डिभाइस बनाएको छ । यो मोबाइल वा ट्याब पनि होइन, हामीले कलेक्सन डिभाइस भनेका छौैँ । यसमार्फत जहाँ नेवटर्क नै छैन, मोबाइल नै छैन, त्यस्तो ठाउँमा पनि आइटीको लागि प्रयोग गरेर काम गर्न सकिन्छ ।

यो प्रविधि प्रारम्भिक चरणमा छ । हामी यसलाई मार्केटिङमा ल्याउने तयारीमा छौँ । त्यसले गाउँगाउँमा जहाँ टेलिफोन नै छैन, त्यहाँ पनि हामी डिजिटलाइजेसनलाई अगाडि लैजान सक्छौँ । यसलाई हामीले विल्कुलै नयाँ अवधारणका रुपमा ल्याएका छौँ । खालि विज्ञापनका लागि नभएर हामी रियलिटीमा जाँदै छौँ । लघुवित्तका जुन सेग्मेन्टहरू छन्, उनीहरूलाई हामीले कसरी डिजिटलाइजेसनमा ल्याउने भन्ने अवधारणामा हामीले यो समाधान ल्याएका छौँ ।

महामारी चलिरहँदा हामी माक्स लगाउँछौँ, नाक छोप्छौँ, मुख छोप्छौँ । तर, कुनै पनि डिजिटलाइजेसनको काम गर्दा, कुनै ठाउँमा गएर टेलिफोन रिचार्ज नै गर्नुप र्‍य यो भने पनि त्यहाँ गएर रिचार्ज कार्ड किन्नुपर्‍यो, त्यसक्रममा हाम्रो हात जोखिमयुक्त वस्तुमा टच हुन्छ । टच भएपछि त्यो हात मुखमा जाला । त्यसैबाट हामीलाई संक्रमणको सम्भावना रहन्छ ।

कोरोनाले हामीलाई के अवधारणा दियो भने कुनै पनि कुरा टचलेस हुनुपर्‍यो  अथवा सिंगल टच हुनुपर्‍यो । लुघवित्तका कस्टुमरहरूको कुरा गर्दा सय रुपैयाँको रिचार्ज गरिदिनु पर्‍यो  भने हाम्रो फिल्ड स्टाफले आफैँ सबै काम गरिदिन्छन् । हामीले यस्तो टचलेस अवधारणा ल्याएका छौँ । त्योबाहेक अफिसहरूमा पनि हाजिरी डिभाइसको प्रयोगमा स्टाफहरूलाई कसरी सुरक्षित राख्ने भन्ने अवधारणा हामीले ल्याएका छौँ । एटेन्डेन्स डिभाइसमा औँला राख्नुपर्छ जसले अप्ठ्यारो स्थिति आएको छ । हामीले लुघवित्तहरूका लागि नयाँ डिभाइस ल्याउँदै छौँ, जसमा टचलेस फेस रिडिङबाट डिभाइसले आफैँ एटेन्डेन्स गर्न सक्छ । त्यस्तै, हामीले गाउँघरमा प्रयोग हुने वालेट ल्याएका छौँ । स्मार्ट फोन छैन भने पनि हामी टचलेस तरिकाले काम गर्न सक्छौँ । यहि सबै डिभाइसहरु मेड इन नेपाल हुन् ।

नेपालको बैंकिङ सेवा कत्तिको डिजिटलाइज्ड भएको पाउनुभएको छ ?

आजभन्दा २० वर्षअघि र अहिलेको तुलना गर्ने हो भने धेरै परिवर्तन भएको छ । तर, जुन लेभलमा हामी जानुपर्ने थियो, त्यो भइरहेको छैन । किनकि, हामी सबैजना परम्परागत बैंकिङमै फसेका छौँ । लोन लिने, डिपोजिट राख्ने, यही चिजलाई नै हामीले डिजिटलाइजेसन भनिराखेका छौँ । अनलाइन पेमेन्टहरू आएका छन् । तर, देशको कति प्रतिशत जनताले वालेट चलाएर अनलाइन पेपेन्ट गरिरहेका छन् त ? त्यो ठूलो कुरा हो ।

यी सुविधाहरू सहर–बजारमा प्रायः सबैको पहुँचमा छ, प्रायः सबैसँग स्मार्ट फोन छ । तर, उनीहरूले यसलाई कति प्रयोग गर्छन् त ? हामीले यसको सम्पूर्ण इकोसिस्टम हेर्नुपर्छ । वालेट कहाँ–कहाँ प्रयोग गर्ने भन्दा हामीले अनलाइन सपिङ गर्न प्रयोग गर्न सक्छौँ अथवा वालेट सेवाले उपलब्ध गराएका सुविधाहरू प्रयोग गर्न सक्छौँ । तर, म आफ्नो घरको अगाडि किनारा पसलमा सामान किन्न जानुपर्‍यो भने त्यसको प्रयोग गर्न सक्दिनँ । पछिल्लो समय क्युआर कोडले गर्दा यसको चर्चा भइरहेको छ । हामीले सबै सेग्मेन्टको पहुँचमा हुने गरी डिजिटलाइजेसनमा जानुपर्छ, उच्च वर्गलाई मात्र हेरेर होइन । अन्यथा डिजिटलाइजेसन अभियान सार्थक बन्न सक्दैन । मासमा जाने हो भने हामीले ओम्नी च्यानल पनि बनाएर जानुपर्छ । हामीले मोबाइलबाट पेमेन्ट गरेर मात्र डिजिटलाइजेसन हुँदैन, अरु गेज वे पनि हुनुप¥यो जहाँबाट उसले पेमेन्ट गर्न सकोस् ।

मसँग स्मार्ट फोन छैन, नोकियाको सानो मोबाइल छ । त्यसबाट म कसरी पेमेन्ट ट्रान्सफर गर्ने त ? त्यसको समाधान नेपालमा छैन । त्यसमा पनि हामीले एसएमएस अथवा युएसएसडीबाट काम गर्न सक्छौँ । डिजिटलाइजेसनका लागि फरक च्यालनबाट पनि काम गर्र्ने विभिन्न बाटो बनाउन सक्नुपर्छ, जसलाई हामी ओम्नी च्यानल भन्छौँ । अनि मात्र हामी सबैलाई समेट्न सक्छौँ ।

नेपालमा डिजिटलाइजेसनमा विदेशी कम्पनी हाबी भएका हुन् ? हुन् भने नेपाली कम्पनीहरू किन पछाडि परिरहेका छन् ?

अहिलेसम्मको मेरो अनुभवमा नेपाली सफ्टवेयर अथवा टेक्निकल कम्पनीहरू एउटै स्टाण्डर लेवलमा छन् । उनीहरूले राम्रो सफ्टवेयर प्रडक्टहरू बनाएका छन् । तर पनि विदेशी कम्पनीहरू हाबी भएका छन् । यसो हुनुको कारण हामीले बाहिर निर्यात गर्न सकिरहेका छैनौँ । हामीले सफ्टवेयर हबका रुपमा विकास गर्न सकिरहेका छैनौँ, किनकि हामी बढी बोल्छाँै तर काम कम गर्छौं । हामी जे बनाउँछौँ त्यसैमा सन्तुष्ट हुन्छौँ । आज दुनियाँ कहाँबाट कहाँ पुगिसकेको छ तर हामी त्यो चिजको पछि जान खोज्दैनौँ । हामी कम्फर्ट जोनमा बस्न चाहन्छौँ । नेपालमै पनि यसका धेरै उदाहरण छन् । पहिले हरेक बैंकमा नेपाली सफ्टवेयर चल्थे, अहिले विदेशीले मार्केट लिएको छ । धेरै बैंकहरू अहिले नेपाली सफ्टवेयर नै चलाउँदैनन् । यसो हुनुको कारण हामीले आफूलाई कहिल्यै अपडेट गरेनौँ । हामी सधैँ कम्फर्ट जोनमा बस्यौँ, एउटा चिज बनाएर त्यसैलाई बेचेर बस्यौँ ।

सफ्टवेयर इन्ड्रिष्ट्रिमा नयाँ–नयाँ इन्भेन्टेशन भइरहेका हुन्छन् । त्यसमा हामीले निरन्तर अपडेट गर्दै जानुपर्छ । टेक्नोलोजी भनेको हरेक पाँच वर्षमा अपडेट हुनुपर्छ । नेपालीको कमजोरी के भयो भने रिसर्चमा कसैले पनि ध्यान दिएको छैन, नयाँ टेक्नोलोजी इन्ट्रड्युस गरौँ, अपडेट गरौँ भन्ने भएन । हामी आफूले जे जानेको छ, त्यही मात्र गरिरहेका छौँ । अर्काे महत्त्वपूर्ण कुरा मेरो अनुभवले के भन्छ भने एक–दुईजना मान्छेले मिहिनेत गरेर सफ्टवेयर बन्दैन । त्यसमा हरेक सेक्टरका विज्ञहरू चाहिन्छ । सबै जना मिलेर बनाउनुपर्छ, तर नेपालमा त्यो देखिँदैन । कम्पनीले एक–दुईजना लाई हायर गरेर ल तिमी यो बनाऊ भनेर दिने चलन छ । त्यस्तो व्यक्तिले कम्प्युटरमा काम गर्न त जानेको हुन्छ तर बिजिनेस जानेको हुँदैन ।

आज पनि नेपाली बैंकिङ सिस्टममा सहिकोर बैंकिङ सिस्टम नै भएको छैन । कारण, एउटा प्रोग्रामरमा बैंकरको जति नलेज हुँदैन, यसको अर्थ यहाँ कम्युनिकेसन ग्याप भयो । यहाँ पूरै विज्ञहरू बसेर बनाउने काम हुँदैन । हाम्रो बढी ध्यान Frontend मा छ, डाटाबेस डिजाइन(Backend) मा कम छ । यसले गर्दा साना संस्थाहरूमासबै सफ्टवेयर चल्छन् तर जब ट्रान्जेक्सन बढ्छ, त्यो सिस्टम कोल्याप्स हुन्छ । यो फ्रन्टेण्डको गल्ती होइन, (Backend) ब्याकेनको गल्ती हो । त्यसैले नेपालका सफ्टवेयर कम्पनीहरूले फ्रन्टेन्डमा मात्र होइन, ब्याकेनमा ध्यान दिनु जरुरी छ । प्रोग्राम, विजनेश एनलाइसिस, डीबीए, विषय विज्ञको संयोजकबाट सफ्टवयर बन्नुपर्छ । त्यसपछि मात्र हामीले इन्टरनेसनल कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्छौँ ।