कुमार कार्की
अध्यक्ष, नेपाल व्यापार संघ
अहिले समग्रमा हेर्दा व्यापारको अवस्था शून्यप्रायः नै छ भन्नुपर्छ । खाद्यान्न, औषधिलगायत केही सीमित वस्तुको मात्र व्यापार भइरहेको अवस्था छ । केही सुपरमार्केट र हार्डवेयरहरूमा पनि आकलझुकल व्यापार भइरहेको होला । यद्यपि, उहाँहरूको आन्तरिक अवस्थाबारे किटान गरेर भन्न सकिने कुरा भएन । यीबाहेक आयात–निर्यात, उद्योगलगायत सबै चिजको व्यापार ठप्प नै छ ।
सबै मानिस संक्रमणबाट ज्यान जोगाउन लागिसकेको अवस्था छ । गत वर्षदेखि नै ठूलो घाटा व्यहोर्दै आएका व्यवसायीहरू कोभिडको दोस्रो लहरले निम्त्याएको निषेधाज्ञाका कारण टिक्नकै लागि कठिन संघर्ष गर्नुपर्ने तहमा पुगेको अवस्था हो । भाडा तिर्नैपर्छ, बैंकको ब्याज समयमा नतिरे जरिवानासहित तिर्नुपर्ने हुन्छ, कर्मचारी खर्च छँदै छ । तर, व्यवसाय भने ताला ठोकेर बस्नुपरेपछि योभन्दा बिडम्बना के हुन्छ र ?
गत वर्ष घरपेटीहरूलाई एक महिनाको भाडा छुट दिन हामीले संघमार्फत आग्रह गरेका थियौँ । ५–६ महिना लकडाउन हुँदा उहाँहरूले एक महिनाको भाडा छुट दिनुभएको थियो । त्यसले व्यवसायीहरूलाई केही राहत भएको थियो । यसपटक भर्खरै निषेधाज्ञा सुरु भएको र कति लामो जान्छ भन्ने निश्चित नभएकाले यसबारे कुनै छलफल भएको छैन ।
बैंकको किस्ता र करका विषयमा हामीले सरकारलाई केही समय दिन माग गरिरहेका छौँ । सरकारले लकडाउन भए पनि कर दाखिला गर्नुस् भनिरहेको छ । व्यापार–व्यवसाय त परको कुरा, घरबाहिरसमेत निस्किन नसक्ने समयमा कर दाखिला गर्न सक्ने अवस्था छैन । काम गरेपछि कर तिर्नुपर्छ, हामी तिर्छौं । तर, यस्तो वेलामा कर तिर्न सक्ने सम्भावना छैन, कहाँबाट ल्याएर तिर्ने ? कर तिर्नु सबैको दायित्व हो, तर केही समय सार्नुपर्छ भनेर व्यापारिक संघ–संगठनहरूले माग गरेका छन् र हामीले पनि त्यही माग गरेका छौँ ।
अहिले कोलाहलको अवस्थामा सबैजना ज्यान कसरी जोगाउने भनेर संघर्ष गरिरहेका वेला हामीले कसरी अघि बढ्ने भनेर छलफल थालेका छैनौँ । बैंकहरूले पहिलेजस्तो किस्ता तिर्ने समयमा छुट दिन नसकिने बताइरहेका वेला हामीले पनि अब रणनीति बनाउनुपर्नेछ । यस्तो वेलामा पनि बैंक र सरकारले नहेरे कहिले हेर्ने ? महामारी भनेको सधैँ आउने कुरा होइन । यस्तो वेलामा जनता र व्यवसायीलाई जोगाउनु सरकारको कर्तव्य हो । यही माग हामी राष्ट्र बैंकलगायत सम्बन्धित पक्षसित राख्छौँ ।
हाम्रो संघमा करिब १५ हजार व्यापारी आबद्ध हुनुहुन्छ । एक हजारभन्दा बढी हामी सदस्य नै छौँ । यो क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाखौँको संख्यामा रोजगार हुनुहुन्छ । पहिलो चरणमा भएको लकडाउनका कारण धेरैले रोजगारी गुमाउनुभयो । यो बीचमा व्यापार तंग्रिँदै जाँदा आधाजति कामदारले अवसर पाइसक्नुभएको थियो । तर, व्यवसाय पूर्ण रूपमा लयमा नफर्किंदै फेरि भयावह अवस्था सिर्जना भएपछि उहाँहरूको रोजीरोटीमै समस्या परेको छ ।
बिहान कुनै कारणले व्यवसाय बन्द हुँदा त्यही दिनदेखि बेरोजगार हुने क्षेत्र हो यो । यो क्षेत्रमा हजारौँले भारी बोकेर जीविकोपार्जन गर्नुहुन्छ । सवारीचालक, सहयोगी, अन्य मजदुरलगायत बिहान कमाएर बेलुकी खाने धेरै जनशक्ति यो क्षेत्रमा संलग्न हुनुहुन्छ । अफिसमा काम गर्ने कर्मचारीकै हकमा पनि लामो समय व्यवसाय बन्द भएपछि राखिरहन सक्ने अवस्था हुँदैन । त्यसैले समयमै यो महामारीलाई नियन्त्रण गर्न नसकिने हो भने यसले निकट भविष्यमै विकराल अवस्था सिर्जना हुने देखिन्छ । त्यसैले महामारीविरुद्धको लडाइँ सबै मिलेर लड्नुपर्छ । सबै जनताले सावधानी अपनाएमा मात्र यो महामारीलाई परास्त गर्न सकिन्छ ।
बैंकिङ खबरले गरेको कुराकानीमा आधारीत




