‘वालेट अघि बढ्यो, बैंकिङ सर्भिस इनोभेटिभ हुन सकेन’

रघु नाथ भण्डारी, सिइओ, स्विफ्ट टेक्नोलोजी

स्विफ्ट टेक्नोलोजी प्रालि सफ्टवेयर विकासको क्षेत्रमा करिब डेढ दशकदेखि निरन्तर काम गरिरहेको स्वदेशी कम्पनी हो । स्थापनाको करिब सात वर्षसम्म सबैभन्दा चुनौतीपूर्ण मानिने रेमिटेन्सको क्षेत्रमा गुणस्तरीय सफ्टवेयर उपलब्ध गराएर पहिचान बनाएको यो कम्पनी पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रलाई पूर्ण डिजिटाइज्ड गर्ने उद्देश्यले काम गरिरहेको छ । बैंकका सेवालाई अटोमेसन तथा डिजिटाइज गर्न सक्ने सफ्टवेयरको निर्माण गरी हाल कार्यान्वयनको चरणमा रहेको कम्पनीको दाबी छ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित स्विफ्ट टेक्नोलोजीका सिइओ रघु नाथ भण्डारीसित बैंकिङ क्षेत्रमा डिजिटाइजेसनको वर्तमान अवस्था र भावी सम्भावनाबारे बैंकिङ खबरले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।

नेपालमा राष्ट्र बैंकको अगुवाइमा चलिरहेको डिजिटाइजेसन अभियानमा के–कस्तो काम भएको पाउनुभएको छ ?

८–१० वर्षदेखि टेक्नोलोजी र प्रडक्ट डेभलपमेन्टको क्षेत्रमा फिनटेकको वरिपरिका प्रडक्टहरू बनाउने व्यक्तिका हिसाबले मैले बैंकिङ इन्डस्ट्रीलाई नजिकबाट नियालिरहेको छु । कोभिड १९ को महामारीपछि रिटेलमा ठूलो रूपान्तरण आयो । रिटेल सेक्टर परिवर्तन हुन धेरै समय लाग्छ भन्ने सबैको अनुमान थियो, तर त्यसविपरीत यो क्षेत्रले महामारीको विषम परिस्थितिलाई टेक्नोलोजीसित अभ्यस्त हुने अवसरका रूपमा बदल्यो र कारोबारलाई अपेक्षाभन्दा निकै अगाडि बढेर प्रविधिमैत्री बनायो । यसले के प्रमाणित गर्‍यो भने नेपालीले टेक्नोलोजीलाई एकदमै चाँडो स्वीकार गर्दारहेछन् । यदि हामीले नयाँ चिज दिन सक्यौँ भने उनीहरू चाँडो एसेप्ट र एक्सप्लोर गर्दारहेछन् भन्ने क्युआरको अभियानले पुष्टि गरेको छ ।

विभिन्न कम्पनीहरूले क्युआरलाई प्रवर्धन गर्नुभएको छ, जुन धेरै चाखलाग्दो छ । राष्ट्र बैंकका गभर्नर सरले प्रत्यक्ष संलग्न भएर यसलाई नेतृत्व गरिरहनुभएको छ, जसले यसलाई तीव्र गतिमा विस्तार गर्न भूमिका खेलेको छ । सबै पक्षको संयुक्त प्रयत्न र प्रतिबद्धता भएमा यसले नतिजा दिन सक्छ भन्ने कुराको यो राम्रो उदाहरण हो । नेपालमा भइरहेको डिजिटाइजेसन तथा डिजिटल ट्रान्सफर्मेसन अर्थात् कागजी काम तथा भौतिक मुद्रामाथिको निर्भरतालाई घटाएर कुनै साधनको माध्यमले विद्युतीय भुक्तानी गर्न थाल्यौँ । तर, बैंकिङ क्षेत्रले भने डिजिटाइजेसनलाई समयानुकूल परिस्कार तथा अद्यावधिक गरेको अवस्था छैन ।

विगत पाँच वर्षदेखि मैले बैंकको एपमा जे सुविधा पाइरहेको थिएँ, आज पनि त्यही नै छ । म दुई–तीनवटा बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङका एपहरू चलाउँछु, तिनको सेवा आधा दशकदेखि मोटामोटी उही अवस्थामा छन् । मैले कुनै सेवाका लागि बैंकमा भौतिक रूपमै उपस्थित हुनुपर्ने अवस्था उस्तै नै छ । सामान्य डिपोजिट र विड्रकै लागि पनि बैंकमा सडकसम्मै लाइन देखिन्छ । यो अवस्था विद्यमान रहनु भनेको विदेशको तुलनामा त निकै कमजोर हो, नेपालकै सन्दर्भमा पनि अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्र अटोमेट हुन नसकेको स्पष्ट संकेत हो । राम्रा, पढेलेखेका मान्छे र पैसा भएको क्षेत्र भएर पनि सर्भिस अटोमेसनमा भने नेपाली बैंकिङ क्षेत्रमा कमै काम भएको हामीले स्वीकार गर्नुपर्छ ।

डिजिटाइजेसनमा हुनुपर्ने जति प्रगति हुन नसक्नुमा नयाँ प्रविधिप्रति रुचि नराख्ने र कामै रोकिने अवस्था नआएसम्म नयाँ कुरा सिक्न नचाहने उपभोक्ता समूहको भूमिका कत्तिको देख्नुहुन्छ ?

हाम्रो सामाजिक अवस्थाका कारण निश्चित क्षेत्र र समूहबाहेकका मानिसले साक्षरतालगायत कारणले आफैँले सञ्चारका साधनहरू प्रयोग गरेर कारोबार गर्न सक्ने अवस्था छैन होला, यद्यपि उहाँहरू पनि विस्तारै सिक्दै जानुहोला । वैदेशिक रोजगारीका कारण अहिले मानिस विदेश गएर रेमिट गरिसकेपछि उसले घरमा पहिलो पठाउने उपहार भनेको प्रायः मोबाइल बनेको छ । यसले पनि गाउँ–गाउँसम्म डिजिटाइजेसन भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । डिजिटाइजेसनको साधन हात परेसँगै उहाँहरूले सामाजिक सञ्जाल चलाउन थाल्नुभएको छ, भिडियो कल गर्न पाउनुभएको छ, आफ्ना वरिपरिका तथा नयाँ प्रविधिबारेका जानकारी हासिल गर्नुभएको छ । यसले एककिसिमको डिजिटल अभ्यास सुरु भएको छ । तर, उहाँहरू सबैले स्वयम् सुरक्षित विद्युतीय कारोबार गर्न सक्नुहुन्छ वा सक्नुहुन्न भन्ने विषय भने अहिले नै यकिन गरेर भन्न सकिने कुरा होइन, यो अभ्यास गर्दै जाँदा क्रमिक रूपमा हुने कुरा हो । यो उपभोक्ताको पाटो भयो । अब सेवाप्रदायक संस्थाहरूले के गरिरहेका छन् त ? के सक्नेलाई पनि बैंक तथा वित्तीय संस्थाले विश्व परिवेशले अभ्यास गरिरहेको स्तरको डिजिटल सेवा दिइरहेका छन् त ? यो विषय महत्त्वपूर्ण छ ।

काठमाडौंकै बैंकहरूमा पनि विद्युतीय कारोबारसित अभ्यस्त ग्राहक समूह पनि लाइनमा बसेको देखिन्छ । भर्खरै सेयरका क्षेत्रहरू अटोमेट भएपछि ग्राहकले आफैँ सेयर किनबेच गर्न थालेका छन् । केही समयअघि सम्म आइपिओ भर्न दिनभर लाइनमा बस्नुपर्ने अवस्था थियो, कतिपय अवस्थामा लाठीचार्ज नै हुने गरेको थियो । यदि नयाँ प्रविधिलाई स्वीकार नगर्ने प्रवृत्ति समाजमा हाबी थियो भने सेयरको क्षेत्रमा पनि यति छोटो अवधिमा यति धेरै परिवर्तन नआउनुपर्ने नि ! बैंकिङ सेवाप्रदायकले भने आफ्नो एपमा बैंकिङ सर्भिस नदिएर केवल बिल पेमेन्ट सर्भिस मात्र दिएको देखिन्छ । अब बैंकले मेरा शाखाहरूमा कसरी ग्राहकको लाइन हट्छ भन्नेतर्फ केन्द्रित भएर आफ्ना कोर बैंकिङ सर्भिसलाई डिजिटल माध्यमबाट दिन थाल्ने हो भने सेवाग्राहीले आफैँ ती सेवाको उपभोग गर्न थाल्छन् । तर, आजसम्म यसतर्फ बैंकहरूको ध्यान नगएको देखिन्छ ।

डिजिटाइजेसन र अटोमेसनमा नेपालको बैंकिङ क्षेत्रको गतिविधि कस्तो पाउनुभएको छ ?

यो प्रश्नको जबाफको सन्दर्भमा म नेपालको बैंकिङ क्षेत्रलाई एउटा प्रश्न सोध्न चाहन्छु– हाम्रा नाम चलेका बैंकहरूले आफ्नो इनोभेसनमा कति बजेट छुट्याउनुभएको छ ? यो प्रश्नको उत्तर खोज्यौँ भने अवस्था स्पष्ट हुन्छ । कुन बैंकको ब्यालेन्स सिटमा इनोभेसनमा राम्रो लगानी गरेको तथ्यांक छ, पहिले यसलाई हेरौँ । उहाँहरूले आन्तरिक अटोमेसनका विभिन्न लक्ष्य निर्धारण गरिरहनुभएको छ, तर त्यसको प्राप्तिका लागि व्यावहारिक प्रयत्न भने गरिरहनुभएको छैन ।
सबै बैंकलाई अटोमेसन चाहिएको छ, तर अनुसन्धानमूलक इनोभेसन विभाग खडा गरेर त्यसका लागि बजेट छुट्याएको बैंक भेटिँदैन ।

मेरो १० प्रतिशत बजेट इनोभेसनमा जान्छ भन्ने बैंक आज पनि छैन । काउन्टरमा जाँदा पहिलेकै तरिका छ र कुनै आधुनिक टुल्स वा प्रविधि राखेको देखिँदैन । अलिकति लाइन व्यवस्थापनको शैलीमा सुधार भए पनि बैंकिङ सर्भिस लाइन लागेरै लिनुपर्छ । अहिले पनि क्यास डिपोजिट मेसिनहरू म्यासिभ रूपमा लन्च गरेको देखिँदैन । पैसा डिपोजिट गर्न लाइनमै बस्नुपर्ने अवस्था छ । यी भनेका आजको दिनमा सामान्य कुरा हुन् । हामी वास्तवमै डिजिटाइजेसनप्रति सिरियस छौँ भने खै त बजेट ?

नेपालबाहिर हेर्दा त्यहाँ बैंकिङ तथा फाइनान्सियल क्षेत्रमा कस्तो अटोमेसन भएको छ जुन यहाँ भएको छैन ?

विदेशका बैंकमा सामान्यतया ग्राहकहरू बैंक जानुपर्ने आवश्यकतै पर्दैन जुन कुरा प्रायः हामी सबैलाई थाहा छ । ठूला–ठूला बैंकहरूमा सेवा लिन भनेर मानिस काउन्टरमा गएको देखिँदैन । यसको अर्थ त्यहाँ ग्राहकले बैंकिङ सर्भिसलाई अर्कै माध्यमबाट प्रयोग गरिरहेको छ । काउन्टरमा उपस्थित भएर सेवा लिने च्यानल नभई विभिन्न टुल्सको माध्यमबाट सेवा लिइरहेको छ । बैंकहरूले इनोभेसन्स ल्याइसकेको हुँदा बैंकमा गएर फिजिकल सर्भिस लिनुपर्ने बाध्यता छैन । नेपालमा भने अझै पनि अघि भनेजस्तै सबैजसो बैंकमा राजधानीमा पनि पढेलेखेकै मानिसहरू पनि लाइन लाग्नुपर्ने अवस्था छ ।

चाहे लोन लिनलाई होस्, चाहे लोनबारे कुरा गर्नका लागि होस्, बैंकमा भौतिक रूपमै उपस्थित हुनुपर्ने अवस्था छ । मैले बैंकमा खाता खोलिसकेको छु, कुनै सुविधा (मोबाइल बैंकिङलगायत) थप गर्नुपर्‍यो भने आफैँ बैंक जानुपर्ने, लाइनमा बस्नुपर्ने, निवेदन दिनुपर्ने अवस्था छ । यसको अर्थ हामी अलि खुला हुन सकेनौँ । मेरो पासवर्ड कुनै कारणले हरायो भने मैले खाता खोल्दा वा डिजिटल सेवा लिँदा नै इमेललगायत सबै डिटेल दिइसकेको छु भने त्यसैबाट रिकभर गरिदिए हुने नि ! मैले अर्को बैंकिङ सर्भिस दिन खोजेँ भने त्यहीँबाट कुनै तरिकाको पोर्टलहरू दिएर वास्तवमा लिन खोजेको हो कि होइन यकिन गरे भइहाल्छ । त्यसतर्फ बैंकिङ क्षेत्रमा निकै कम काम भएको देखिन्छ । विदेशसित त तुलना गर्नै सकिँदैन, यहीँ अवस्थालाई हेर्दा पनि कमजोरी स्पष्ट देखिन्छ । यसमा बैंकहरूलाई मेरा ग्राहकहरू अत्याधुनिक सेवाको उपभोगका लागि सक्षम नै छैनन् भन्ने लागेको होला, तर यो सत्य होइन । यहाँ सबैभन्दा ननरेगुलेटेड, कतिपय अवस्थामा दर्तासमेत नभएको किराना पसलसमेत अटोमेटेड भइसकेको अवस्थालाई उदाहरणका रूपमा लिनु उपयुक्त हुन्छ ।

टेक्नोलोजीले तीव्र गतिमा फड्को मारिरहेका कारण हिजोका टेक्नोलोजीहरू आज तुलनात्मक रूपमा असान्दर्भिक हुँदै गइरहेको अवस्था छ । यस सन्दर्भमा बैंकिङ क्षेत्रका चुनौती के–कस्तो देख्नुहुन्छ जसले बैंकिङ सेवालाई अटोमेसन र डिजिटाइजेसन गर्न गाह्रो भइरहेको छ ?

बैंकहरू आफैँ आइटी कम्पनी होइनन् । उनीहरूको मूल काम आइटी मेनेजमेन्ट होइन । उनीहरूले बाहिरको सर्भिर लिँदा एकदमै महँगो पर्ने र नेपालमै बैंकले खोजेका कतिपय चिज नपाइने अवस्थाका कारण अहिलेसम्म डिजिटलाइजेसन र अटोमेसनमा प्रगति सुस्त भएको हुन सक्छ । आफैँ बनाउन या त उपलब्ध छैन या विश्वास गर्न लायक छैन, विदेशबाट ल्याउँदा महँगो पर्छ । यो बाध्यताले पनि काम गरेको हुन सक्छ । बैंकमा आज पनि प्रायः लोनका प्रोसेसहरू म्यानुअल नै देखिन्छ । नेपालमै यसका समाधानहरू नपाउनु पनि यसको एउटा ठूलो कारण हो ।

बैंक आफैँले सबै अनुसन्धान गर्ने, सफ्टवेयर विकास गर्ने भन्ने कुरा निकै चुनौतीको विषय हो । बाहिरको अभ्यास हेर्दा कतिपयले आफ्नै आन्तरिक विभागले विकास गर्छन् भने कतिपयले फिनटेकहरूसित साझेदारी गरेर काम गर्छन् । भारतमा धेरै नै ठूलो परिमाणमा चाहिएको प्रविधिहरू बजारमै उपलब्ध भएका कारण उनीहरूलाई निकै सजिलो भएको छ । नेपालमा एउटै भेन्डरले विकास गरेको बैंकिङ सर्भिस सबै बैंकले चलाएको देखिन्छ । कुनै बैंकले म आफ्ना ग्राहकलाई त्योभन्दा केही फरक सर्भिस दिन्छु भन्दा पनि त्यो उपलब्ध छैन । आफूले उत्पादन पनि गर्न सक्दैन, बजारमा पनि यसको विकल्प छैन । एकाधिकार भएको कम्पनीले पूरै इन्डस्ट्रीलाई अफूलाई जे गर्दा फाइदा छ, त्यतै लान सक्ने भयो । अहिले नेपाली बैंकिङ टेक्नोलोजीको क्षेत्रमा सेवाप्रदायकले चाहँदा चाहँदै पनि प्रगति गर्न नसक्नुको एउटा कारण यो पनि हो । भेन्डरको यो एकाधिकार तोडेर प्रतिस्पर्धामा आफ्नो रुचि र आवश्यकताअनुसारको टेक्नोलोजी खरिद गर्न पाउनु बैंकिङ क्षेत्रसामु चुनौती छ ।

अहिले जताजतै क्युआर प्रविधिमा आधारित भुक्तानीको चर्चा छ । तपाईंको अनुभवमा क्युआरमा आएको जागरण पर्याप्त छ कि छैन ?

क्युआर कोडमार्फतको भुक्तानीलाई म नेपालकोे एउटा महत्त्वपूर्ण कदमका रूपमा लिन्छु । नेपालमा हुनुपर्ने काम धेरै समय लागेर अथवा समय घर्किसकेपछि मात्र हुने गरेको छ । तर, क्युआर कोडमार्फतको भुक्तानीलाई यो कदमले एकदमै छलाङ मारेको मान्नुपर्छ । जसरी सवारीचालनका क्रममा मापसे र नो हर्नको नीति छोटो समयमै सफल भए र परिणाम दिइरहेका छन्, त्यसैगरी विद्युतीय भुक्तानीमा क्युआरले पनि छोटो समयमा फड्को मारेको अवस्था छ । यसले नेपाली समाजको कुनै नयाँ कुरालाई ग्रहण गर्ने क्षमता कति धेरै छ भन्ने प्रमाणित गर्छ । नेपालीमा केही नयाँ चिज पाउँदा त्यसलाई स्वीकार गर्ने, उत्सुकताका साथ ग्रहण गर्ने, प्रयोग गर्ने र पृष्ठपोषण (फिडब्याक) दिने मनोविज्ञान छ । नयाँ चिजको प्रयोग गर्दा स्वाभाविक रूपमा त्रुटि पनि हुन्छ, र त्यसलाई सहजै स्वीकार गरेर थप सिक्दै, अभ्यस्त हुँदै जाने स्वभाव हाम्रो समाजको छ ।

क्युआरको तीव्र विस्तार सम्भव बनाउने अर्को प्रधान पक्ष भनेको सबैको संयुक्त प्रयास हो । यसमा राष्ट्र बैंक, बैंकिङ इन्डस्ट्री, सफ्टवेर कम्पनी, भुक्तानी सेवाप्रदायक कम्पनी, उपभोक्तालगायतको ‘जोइन्ट इफोर्ट’ छ । नियामक निकाय आफैँ क्युआर कोड बाँड्दै हिँड्नु भनेको सामान्य कुरा होइन, पहिलोपटक यस्तो देखिँदै छ । अन्य सेवामा नियामक निकायका पदाधिकारीहरू स्वयम् मैदानमा उत्रिएको यसअघि देखिएको थिएन । सबै पक्षले इमानदार भएर प्रयत्न गरियो भने परिणाम सम्भव हुन्छ भन्ने कुराको यो राम्रो उदाहरण पनि हो ।

प्रविधिको विकास जुन गतिमा भइरहेको छ त्यसलाई बैंकिङ क्षेत्रले लिन सकिरहेको छैन भन्नुभयो । तपाईंको विचारमा बैंकमा लाइन लागेर सेवा लिनुपर्ने अवस्थाबाट ग्राहकले कहिले मुक्ति पाउलान् ?

यतिवेला बैंकहरूको आँखा खुलिसकेको छ भन्ने संकेत पाएको छु, जुन विगतका वर्षहरूमा भएको थिएन । बैंकको सेवा अब यथास्थितिमा चल्न सक्दैन, बैंकका सर्भिस उपभोग गर्ने च्यानलहरू, जस्तै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कार्ड सर्भिस, क्युआर सर्भिसलगायतमा बैंकिङका सर्भिसलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ भन्नेमा बैंकहरूको चिन्तन सुरु भएको छ । मोबाइल बैंकिङ त छ तर त्यसमा बिल मात्र तिर्न मिल्छ, त्यसबाट बैंककै मूल सेवाहरू भने लिन मिल्दैन, यस्तो अवस्थाबाट अब बैंकले सिक्नुपर्छ, जुन यथार्थ बैंकले अहिले बुझिसकेका छन् भन्ने मलाई लाग्छ । त्यही भएर नै कतिपय बैंकले जोखिम मोलेर आफैँ सिस्टम बनाएका छन् ।

मैले एउटै किसिमको प्रविधि मात्र चलाएँ भने कसरी अरुको भन्दा फरक र आकर्षक सेवा दिन सक्छु त भन्ने बैंकले बुझेको जस्तो लाग्छ । हामीले क्युआरमा गरेका कामहरू प्रति उनीहरूले निकै चासो देखाएका छन् । हामीले स्मार्ट क्युआर लन्च गर्‍यौँ, त्यसपछि फास्ट बैंकिङ भनेर मोबाइल बैंकिङ विकास गर्‍यौँ । त्यसपछि बैंकका साथीहरूबाट धेरै सोधपुछ आएको छ, जसले बैंकहरूलाई आफूले खोजेजस्तो विकल्प प्राप्त नभइरहेको र उपयुक्त विकल्पको खोजी भइरहेको स्पष्ट बुझिन्छ । कुराकानीका क्रममा पनि उहाँहरूमा त्यसकिसिमको भावना देखिएको छ र हामीलाई डेमो देखाउन आग्रह गरिरहनुभएको छ । त्यसैले अब बैंकहरू आफ्नो बैंकिङ सर्भिसलाई नै अटोमेट गर्ने दिशामा अघि बढ्छन् भन्ने लाग्छ ।

सम्पूर्ण बैंकिङ सेवा अनलाइन प्रविधिमार्फत दिन आवश्यक सफ्टवेयरहरूको विकास स्वदेशमै भइसकेको छ कि विदेशबाट ल्याउनुपर्ने अवस्था छ ?

मेरो विचारमा सफ्टवेयरको सेक्टरमा हामी आन्तरिक रूपमा सक्षम छौँ । बैंकिङ सर्भिसलाई डिजिटााइजेसन गर्नका लागि स्वदेशी प्रविधिबाट परिवर्तन सम्भव छ । बैंकले इन्टरनल प्रोसेस वा आफ्ना डकुमेन्टलाई सुरक्षित राख्ने कुरा मात्र अटोमेट भएर एउटा ग्राहकले लिने सेवामा परिवर्तन आउँदैन । ग्राहकले सेवा पाउने विद्यमान तरिकामा फरक ल्याउन बैंकले इच्छा राख्ने हो भने हामीजस्ता फिनटेक वा सफ्टवेयर कम्पनीहरूले उहाँहरूलाई सहयोग गर्न सक्छन् । यसका लागि आवश्यक जनशक्ति पनि बजारमा उपलब्ध छन् । कतिपय सिस्टम नै तयारी अवस्थामा छन्, त्यसलाई बैंकहरूले आ–आफ्नो तरिकाले परिवर्तन गरेर प्रयोग गर्न सक्ने अवस्था छ । आजको दिनमा नेपाली कम्पनीहरू नै बैंकिङ क्षेत्रलाई नवीन टेक्नोलोजी दिन सक्षम छन् । नेपालका मुख्य वालेट कम्पनीहरू (पिएसपी) सबैले यहीँको जनशक्तिमार्फत आफैँ सफ्टवेयर बनाएका हुन् भने बैंकिङ क्षेत्रमा त्यो अटोमेसन हुन नसक्ने भन्ने हुन्न ।

हामीले डिजिटल वालेट सफ्टवेयर कम्बोडिया, कोरियामा समेत बेचेका छौँ । बैंकले आफ्नो प्राथमिकतामा राख्दै जाने हो भने यस्ता सर्भिसहरू अटोमेट हुँदै जानेछन् । गर्दै जाँदा यदि कुनै सफ्टवेयर यहाँ उपलब्ध भएन भने पनि छिमेकी देशका कम्पनीहरूले यहाँ डिलर राखेर पनि सफ्टवेयर उपलब्ध गराउन सक्ने अवस्था रहन्छ । त्यसैले यो बैंकको इच्छाशक्ति र प्राथमिकतामै निर्भर गर्छ । साना साना लोनहरू अटोमेट हुन थालिसकेका पनि छन्, जुन राम्रो पक्ष हो ।

एटिएम ह्याकिङका छिटपुट घटना यदाकदा घट्ने गरेको सन्दर्भमा नेपालको डिजिटल बैंकिङ सेवा कत्तिको सुरक्षित देख्नुहुन्छ ?

एक वाक्यमा भन्ने हो भने सुरक्षित छ । तर, आज सुरक्षित छ भनेर भोलि पनि सुरक्षित भइहाल्छ भनेर ढुक्कले बसियो भने समस्या हुन सक्छ । यो प्रणालीलाई सुरक्षित राख्न हामीजस्ता प्राविधिक सेवाप्रदायक संस्थाहरूले चौबिसै घण्टा निगरानी गरिरहेका हुन्छौँ । यसअघि हामी ह्याकरको नजरमा कम थियौँ । तर, डिजिटाइजेसनको व्यापकतासँगै अब हामी उनीहरूको नजरमा परिसकेका छौँ । अब हाम्रा बैंकहरूले विगतको निरन्तरताका रूपमा भन्दा पनि आफ्ना सुरक्षा चुनौतीमा जोइन्ट इफोर्ट लगाएर सुरक्षा संयन्त्रलाई चुस्त–दुरुस्त राख्नुपर्ने हुन्छ । बाहिर भएका इन्सिडेन्टहरूबाट तुरुन्तै आफूले सिकेर त्यसका प्रतिरक्षा प्रणाली यहाँ लागु गर्नुपर्छ ।

नयाँ प्रविधिको विकास हुँदैमा र प्रयोग हुँदैमा ह्याक हुन्छ भन्ने हुँदैन । बाहिर कुनै इन्सिडेन्ट भइसकेपछि हामी कति त्यसको सुरक्षाका नियमहरू लागु गर्छौं भन्ने कुरामा हाम्रो सुरक्षा निर्भर हुन्छ । अबका दिनमा एकपटक सुरक्षित बनाइदिएर ढुक्क हुन सकिँदैन, दिन प्रतिदिन सुरक्षाका सबै प्रविधि र यस्ता घटनाबाट लिने सिकाइ चुस्त–दुरुस्त राख्न सक्नुपर्छ । त्यस्तै सावधानी उपभोक्ताले पनि अपनाउनुपर्छ । अबको ह्याकिङ ठूलो–ठूलो टुल्स, डिभाइसमा खर्च गर्नेभन्दा पनि इमेल गरेर, सामाजिक सञ्जालमा कुरा गरेर, सोसल इन्जिनियरिङ गर्ने हुन्छ । त्यसैले उपभोक्ताले पनि यस्ता कुराबाट बच्न सक्नुपर्छ । यसो गरेमा नेपालको बैंकिङ प्रणाली सुरक्षित छ र रहिरहन्छ । यद्यपि, बैंक र हामीजस्ता फिनटेकले सधैँ उच्च सतर्कता अपनाउनु आवश्यक छ र कसैले चौबिसै घण्टा हामीलाई निगरानी गरिरहेको छ र ह्याक गर्न सक्छ भन्ने सोचेर काम गर्नु आवश्यक छ ।

तपाईंको कम्पनी स्विफ्ट टेक्नोलोजीले कस्तो सेवा दिइरहेको छ र नेपाली बैंकिङ कस्तो होस् भन्ने भिजन छ ?

स्विफ्ट टेक्नोलोजी प्योर सफ्टवेयर डेभलपमेन्ट कम्पनी हो । हामी रेमिटेन्स पृष्ठभूमिबाट आएका हौँ । हामीले पाँच–सात वर्षसम्म एउटा मात्र प्रडक्टमा काम गरेका छौँ । हामीले सबैभन्दा चुनौतीपूर्ण क्षेत्रको रेमिटेन्सलाई सफ्टवेयरहरू दिएका छौँ । त्यो बाहिर देशमा पनि चलाउनुपर्ने हुन्छ, नेपालभित्र पनि चलाउनुपर्ने हुन्छ, हरेक देशका मानिससँग काम गर्नुपर्ने हुन्छ । त्यहाँ कोही राम्रा हुन्छन् त कोही खराब नियतका पनि हुन्छन् । त्यस्तो क्षेत्रलाई हामीले विनाकुनै सेक्युरिटी ब्रिचेज, एक सेकेन्ड पनि डाउन नहुने गरी यहाँसम्म ल्याएको अनुभव हामीसित छ ।

पछिल्लो दुई वर्षदेखि भने हामी बैंकिङ क्षेत्रका लागि काम गरिरहेका थियौँ, जुन विस्तारै बजारमा ल्याउन थालेका छौँ । यो अघि हामीले चर्चा गरेजस्तो बैंकिङ सर्भिसलाई अटोमेट गर्न तयार गरिएको प्रविधि हो । यसमा हाम्रो फोकस भनेको टपअप वा बिल पेमेन्टमा सीमित बैंकका डिजिटल सेवालाई कसरी बैंकिङ सर्भिस अटोमेसनतर्फ लाने भन्ने छ । बैंकमा धेरै भन्दा धेरै ग्राहक आउने कारणलाई कसरी अटोमेट गर्ने भन्नेमा हाम्रो ध्यान छ । यसमा हामीले दुई–तीनवटा तरिकाले हेर्न खोजेका छौँ । कतिपय मानिसले सीधै टुल्स चलाएर गर्न सक्लान् । कतिपय सीधै बैंकमा जान्छन्, उनीहरूलाई त्यहाँ जान नपर्ने कसरी बनाउने जस्ता बैंकमा हुने हरेक गतिविधिलाई नियालेर त्यसका लागि समाधानको डिजाइन गरेर काम गरेका छौँ । अब यो बजारमा आउन थालेको छ, एकदुईवटा बैंकले यसलाई अभ्यास गरिसकेका छन् भने अरुले पनि यसप्रति रुचि देखाएका छन् । यसको प्रयोगले अर्को बैंकभन्दा फरक र गुणस्तरीय सेवा दिन सकिन्छ ।

हामीले हालसम्मको चुनौतीबाट सिकेको कुरा के हो भने एउटै भेन्डर छ, सबैलाई एउटै सफ्टवेयर दिन्छ, मैले केही नयाँ गर्न खोजेँ भने मेरो इनोभेसन तथा आइडियालाई अरुसँग पनि सेयर गरिदिन्छ । त्यस्तो समस्याको सामना कसरी गर्ने त ? हामीले पनि फेरि त्यसै गरौँला, चारवटा बैंकलाई हाम्रो सफ्टवेयर बेचौँला, ती सबैमा एउटै होला । हो, त्यसैले अब त्यसरी नगरेर बैंकसित सफ्टवेयर भेन्डरका रूपमा नभई फिनटेक पार्टनरका रूपमा काम गर्ने र हरेक बैंकले आफ्नो युनिक प्रडक्टहरू बनाउन सक्ने वातावरण हामी बनाउँदै छौँ । यसमा दुईवटा मोडल हुन सक्छन्– बैंकले आफैँ इन्जिनियर राखेर काम गर्न सक्छ या राख्न सक्दैन भने आउटसोर्स गर्न पनि सक्छ । मानौँ दुईवटा इन्जिनियर लिएर काम गरायो भने उनीहरूलाई उसले आफ्नो प्रोजेक्टमा मात्र काम गराउँछ, उसको युनिक काम बाहिर जाँदैन । त्यो मोडालिटीमा काम गरेपछि बैंकले इनोभेसनमा फोकस पनि गर्ने भयो । पहिले बैंकले इनोभेसनमा ध्यान नदिएको कारण आफ्नो मिहिनेत अरुले पनि प्रयोग गर्ने भएकाले पनि हुन सक्छ, जुन अब हामी विलकुलै हुन दिँदैनौँ ।

बैंकहरूले आफ्ना सर्भिस अटोमेसनन्समा आफैँ दिमाग लगाऊन् र उनीहरूका युनिक प्रडक्टहरू बनाउन सक्ने वातावरण बनोस् भन्नेबाट हामीले सुरु गरेका छौँ । सफ्टवेयर त सबैले बनाउन सक्ने भए, त्यस्तो मोडलको सफ्टवेयर बनाउनुपर्‍यो जसले बैंकहरू खुसी भएर अरुभन्दा युनिक सर्भिस दिन सकून् र त्यसलाई लामो समय मेनटेन गर्न सकून् भनेर हामीले पछिल्लो दुई वर्षदेखि काम गरेर, त्यस्तो माइक्रो सर्भिस आर्किटेक्चरमा सिस्टमहरू डिजाइन गरेर त्यो सम्भव बनाएका छौँ । अहिले एकदुईवटा बैंकहरू फरक–फरक तरिकाको सेवा दिन तयार भइसकेका छन् ।

तपाईंको भिजनको बैंक बन्यो भने ग्राहकले अहिलेभन्दा बढी के–के सुविधा पाउँछन् ?

त्यस्तो अवस्थामा बैंकका अधिकांश सेवा अटोमेटेड हुन्छन् । ग्राहकले बैंकलाई चिन्ने नभई बैंकले ग्राहकलाई चिन्ने हुन्छ । तपाईंले कुनै सेवाको माग गर्नुभयो भने बैंकले तपाईंलाई त्यो सेवाका लागि उपयुक्त हो वा होइन भनेर विभिन्न डाटाका आधारमा तत्कालै मूल्यांकन गर्न सक्नेछ । त्यसैका आधारमा बैंकले तपाईंको वित्तीय आचरण र व्यवहार अध्ययन गर्न सक्नेछ । त्यसपछि तपाईंलाई अन्य सेवाहरू अटोमेटिक अफर गर्न थाल्नेछ । जसरी गुगल तथा फेसबुकले हाम्रो आचरणलाई नियालिरहेको हुन्छ र त्यसैअनुरूप मलाई प्रडक्टहरू सेल गर्न खोज्छ, सोहीअनुरूप बैंकले अब इन्टरनेटमार्फत सम्भावित ग्राहक खोज्ने तथा आफ्ना प्रडक्ट सेलका अफरहरू दिन सक्नुपर्छ ।


सोसिअल मेडिया