
वित्तीय कारोबारमा डिजिटल भुक्तानी अभियान चलिरहँदा बैंक तथा वित्तीय कम्पनीहरूमा चेक अनादर अर्थात् चेक बाउन्सका घटना पनि अझै रोकिएका छैनन् । खातामा पर्याप्त रकम नभएको जानी–जानी वा कतिपय अवस्थामा त्यसको जानकारी नभएर पनि खातामा मौज्दात रकमभन्दा बढीको भुक्तानी आदेश चेकमार्फत दिने प्रवृत्तिले बैंकिङ कसुरका घटना बढाइरहेको छ । यस्ता समस्या लिएर पीडित पक्ष प्रहरी प्रशासनमा उजुरी दिन आउने गरेका छन् । प्रहरीले आवश्यक अनुसन्धान गरी अदालतमा मुद्दा चलाउने गरेको छ । लामो समय लगाएर मुद्दाको फैसला हुँदा पीडक पक्ष फरार भइसक्ने र कालान्तरमा पक्राउ पर्ने पनि भइरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि यस्ता घटनामा अनुसन्धान गर्दै आएको छ । यस सन्दर्भमा बैंकिङ खबरले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रहरी उपरीक्षक, प्रवक्ता एवं सूचना अधिकारी गंगा पन्तसँग चेक बाउन्सको अवस्थाबारे कुराकानी गरेको छ ।
चेक बाउन्सका घटनाले समाजमा कस्तो सन्देश दिइरहेको छ ?
पहिले–पहिले लेनदेनका विषयमा दुई पक्षको बीचमा अन्य मान्छेहरू पसेर गुन्डागर्दी गर्ने अवस्था थियो । अहिले बाउन्स चेक दिने प्रवृत्ति समस्या बनेको छ, यद्यपि चेक बाउन्सका घटना पछिल्लो समय बढेको अवस्था भने होइन । चेक अनादरलाई अब कानुनी दायरामा ल्याउने हिसाबले फौजदारी मुद्दाअन्तर्गत राखेर हेर्न थालिएको छ । यसले गर्दा बाहिर बीचमा बसेर खानेहरू कम भए ।
लेनदेनमा पनि फौजदारी मुद्दा चलाउनुपर्ने अवस्था भयो । समाजमा लेनदेन त भइरहेकै हुन्छ । मान्छेहरूको बीचमा लेनदेन हुँदा धितो राखेको हुँदैन तर कतिपयले सुरुमै चेक दिइराखेका हुन्छन् । सामान्यतया ६ महिनापछि, दुई महिनापछि दिन्छु भनेर भाका राखेको हुन्छ । जब लिने व्यक्तिले समयमा तिर्दैन, त्यसपछि उसित सुरुमा लिएको चेक बाउन्स गराएर ल्याएको पनि देखियो । समाजमा सन्देश कस्तो जान्छ भन्दा पनि यसलाई यसो हेर्दा ठिकैजस्तो लाग्छ । यसले बीचमा मान्छेहरू पसेर अपराध गर्ने र पैसा उठाउने चलन भने ठप्पै भएको अवस्था छ ।
चेक बाउन्सका घटनाले समाजमा वित्तीय अपराध बढाएको छ भन्न सकिन्छ ?
वित्तीय अपराध बढेको हो भनेर भन्न अलि मिल्दैन । अहिले संसार नै स्वभावैले अलि मेटिरियल हुँदै गएको छ । समाज भौतिक हुँदै गएको छ । पहिले लेनदेन हुन्थ्यो तर चेक हुँदैनथ्यो । मान्छेले कपाली तमसुक बनाउँथे । त्यसरी गरिएको लेनदेनमा समस्या आउँदा वर्षौंसम्म कानुनी दायरमा ल्याउन सकिँदैनथ्यो । अहिले मान्छे बाठो भएर पैसा दिने वेलामा चेक लिन्छ । सापटी लिने व्यक्तिले म निश्चित समयमा तिर्न सक्छु भनेर चेक दिन्छ । सहरको अवस्थालाई हेर्दा आर्थिक अपराध अर्थात् अपराधको ट्रेन्ड परिवर्तन भएको अवस्था छ । पहिले धम्क्याएर, अपहरण गरेर पैसा माग्ने, उठाउने गर्थे भने अहिले यस्तै ठगीका कुराहरूको स्वरूप बैंकिङ कसुरतिर ढल्किएको हो कि भन्ने लाग्छ ।
बाउन्स चेक काट्नेहरूलाई के भन्न चाहनुहुन्छ ?
चेक पैसा भए मात्रै काट्नुप¥यो, भोलि कानुनी दायरामा आउन सक्ने पक्षहरू हुन्छन् । यो फौजदारी अपराधअन्तर्गत पर्ने भएकाले खातामा पैसा नभएको वा नपुग्ने अवस्थामा चेक काट्नुभएन । मान्छेले आफ्नो तिर्न सक्ने हैसियत हुँदाहुँदै पनि के भइहाल्छ र भन्ने सोचेर हेप्दा यस्ता प्रकारका घटना भइरहेको पनि देखिएको छ । तिर्न सक्ने हैसियत हुन्छ तर टारिरहेको हुन्छ । यसो गर्दा अर्को पक्षले पाउनुपर्ने रकम समयमा पाउँदैन अनि मुद्दा हालिदिन्छ ।
बाउन्स चेक घटनामा कारबाही भोगिरहेकाको संख्या के–कति छ ?
चेक बाउन्सलाई कानुनले बैंकिङ कसुर मानेको छ । यसमा ठगी मुद्दा आकर्षित हुन्छ । हामीले चेक बाउन्सभन्दा पनि बैंकिङ कसुर भनेर मुद्दा चलाएका हुन्छौँ । केन्द्रीय अनुसन्धान ब्युरोमार्फत चैतसम्म बैंकिङ कसुरअन्तर्गत १२ वटा मुद्दा चलाएको अवस्था छ ।
यस्ता घटनामा सजायको अवस्था के–कस्तो छ ?
चेक बाउन्समा दोहोरो क्षेत्राधिकार आकर्षित हुन्छ । बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम प्रहरी कार्यालयमा जाहेरी दरखास्त दर्ता गरी सरकारवादी फौजदारी मुद्दाका रूपमा कारबाही हुने व्यवस्था छ । प्रहरी कार्यालयमा उजुरी गर्ने हदम्याद चेक बाउन्स भएको मितिले १ वर्ष रहने व्यवस्था छ ।
विनिमय अधिकार पत्र ऐन, २०३४ बमोजिम चेक बाउन्स भएको मितिले ५ वर्षभित्र सीधै सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने उल्लेख छ ।
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) मा आफ्नो खातामा मौज्दात रकम नभएको जानी–जानी चेक काटी दिन नहुने उल्लेख छ । खातामा रकम पर्याप्त नभएको थाहा हुँदाहुँदै पनि चेक काटिदिएमा दफा १५ मा देहायबमोजिम सजाय हुने व्यवस्था छ ।
– बिगो खुलेकोमा बिगो भराई बिगोबमोजिम जरिवाना र तीन महिनासम्म कैद ।
– चेक बाउन्स भएमा राष्ट्र बैंकमा कालोसूचीमा राख्नसमेत सकिने व्यवस्था छ ।
यसरी अहिले अलि सजिलो भएको छ । कपाली तमसुकबाट पैसा उठ्ने ग्यारेन्टी हुँदैनथ्यो, तर अहिलेको प्रक्रियाबाट पैसा उठाउन अलिक सजिलो भएको अवस्था छ ।



