२०७३ भाद्र १ गते

सबल बन्दै आरम्भ माईक्रोफाइनान्स, एकैसाथ २ शाखा विस्तार 

aaranvaआरम्भ माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले बुधबारदेखि सिन्धुलीको खुर्कोट र सिन्धुपाल्चोकको सुकुटेमा आफ्ना शाखा कार्यालयहरु विस्तार गरेको छ । यससँगै कम्पनीको शाखा संख्या १३ पुगेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची न.पा.– ८ स्थित केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लि. को नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, धनकुटा, तेह्रथुम, खोटाङ्ग र भोजपुर गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ । १० वटै कार्यक्षेत्र रहेका जिल्लाहरु समेटिने गरि विभिन्न ११ वटा शाखा कार्यालयहरु कम्पनीले यस अघि नै संचालनमा ल्याईसकेको छ । निकट समयमै संस्थाले थप ५ पहाडि जिल्लाहरुमा आफनो कार्यक्षेत्र बिस्तार गरी थप शाखा कार्यालय स्थापनाको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिइसकेको छ । 

पहाडि जिल्लाहरु मात्रै कार्यक्षेत्र रहेको यस संस्थाले कारोबार शुरु गरेको एक वर्षमै १३ वटा शाखा कार्यालयहरु खोलि हालसम्म करिब ३१०० भन्दा बढि घर परिवारलाई सेवा प्रदान गरेको छ । संस्थाले ४९ लाख भन्दा बढि रकम बचत संकलन गरी हालसम्म १० करोड लगानी गरेको छ । जसमध्ये करिव २ करोड ९ लाख रुपैयाँ असूली गरीसकिएको छ ७ करोड ९१ लाख रुपैयाँ लगानीमा बाँकी रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले बताए । आर्थिक बर्ष २०७३/०७४ मा मात्रै थप करिब २४ करोड लगानी गरी ११ हजार भन्दा बढि घर परिवारलाई लघुवित्तीय सेवा उपलव्ध गराउने लक्ष्य लिएको छ ।

वित्तीय संस्थाले आफनो पूंजी वृद्धिका लागि २०७३/०५/१८ गते विशेष साधारण सभा समेत बोलाएको छ । पूंजीवृद्धि पश्चात संस्थाको जारी शेयर पूंजी ४ करोड रुपैयाँ तथा चुक्ता पूंजी २ करोड ४ लाख रुपैयाँ हुनेछ । साथै आर्थिक बर्ष २०७४/०७५ मा सर्वसाधारणको लागि शेयर निष्कासन गर्ने पनि संस्थाको योजना रहेको छ ।