२०७३ श्रावण २४ गते

सहयोगी विकास बैंकले यसरी कमायो साढे ७ करोड मुनाफा

sahayogiसहयोगी विकास बैंकले गत आर्थिक वर्षमा ७ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ७ दशमलव ८ प्रतिशतले नाफा बढाएको हो । बैंकको सञ्चालन मुनाफा र खुद व्याज आम्दानी बढेपछि नाफा पनि बढेको छ । सो अवधिमा बैंकको खुद व्याज आम्दानी २० दशमलव ७० प्रतिशतले बढेर १५ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १९ दशमलव ६० प्रतिशतले बढेर ९ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

२५ करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा १३ करोड ३७ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा २९ दशमलव ३३ प्रतिशतले वृद्धि गरी २ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ २७ दशमलव ७९ प्रतिशतले बढाएर २ अर्ब २६ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले प्रोभिजनमा २ करोड ६६ लाख रुपैयाँ छुटाएको छ भने २ करोड १३ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

त्यस्तै, बैंकको प्रति शेयर आम्दानी वार्षिक २९ दशमलव ३२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ४७ गुण, प्रति शेयर नेटवर्थ १ सय ५१ दशमलव ८६ रुपैयाँ, तरलता अनुपात २९ दशमलव ७४ गुणा रहेको छ । जोखिम युक्त सम्पति १४ दशमलव ४७ प्रतिशत र निष्कृय कर्जातर्फ शुन्य दशमलव १८ प्रतिशत रहेको छ ।