२०७७ मंसिर १४ गते

मेगा बैंकले ल्यायो ‘कर्पोरेट–पे’ सेवा, ग्राहकले खाताबाटै डिजिटल भुक्तानी गर्न सक्ने

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न मिल्ने गरी ‘कर्पोरेट–पे’  प्रणालीको सुरुवात गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सो ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो सम्झौता पश्चात बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत ग्राहकहरुले बैंकमा नगईकनै रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु आफ्नो खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत connectIPS अथवा NCHL-IPS मा रियल–टाइम वा नन–रियलटाइममा समेत भुक्तानी सम्बन्धी कारोबारहरु गर्न सकिने मेगा बैंकले जनाएको छ । corporatePAY आबद्व हुनका लागि ग्राहकले मेगा बैंकमा सम्पर्क गरि æcorporatePAY” प्रणालीको सुरुवातको लागि स्वीकृति लगायतका आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसपश्चात ग्राहकहरुले तोकिएको सीमा भित्र रही कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नताबिना गर्न सक्नेछन भने तोकिएको सीमा भन्दा बढी रकमको कारोबार गर्नको लागि बैंकले नियमानुसार थप प्रक्रिया पूरा गरेपश्चात गर्न मिल्ने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउन Multi-Layer Authentication को सुरक्षित व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट तथा स्वीकृत ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै, ग्राहकले आवश्यक्ता अनुसार यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।