महेश राज जोशी ।
कुनै पनि बैंक तथा बित्तीय संस्थाको लागि असल कर्जा नै सबैभन्दा ठुलो सम्पत्ति हो भने कर्जा प्रवाह गर्न आवश्यक पर्ने सबैभन्दा ठुलो श्रोत निक्षेप हो । सर्बसाधारण व्यक्तिदेखि संस्थाहरुको निक्षेप संकलन गर्न विभिन्न सुबिधाहरु तथा ब्याज निर्धारण गरी बैंकहरुले बिभिन्न प्रकारका खाताहरु संचालनमा ल्याएका हुन्छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले जनाए अनुसार निक्षेप भन्नाले बैंक वा वित्तीय संस्थाको चल्ती, बचत वा मुद्दती खातामा ब्याज भुक्तानी दिनुपर्ने वा ब्याज भुक्तानी दिनु नपर्ने सर्तमा ग्राहकहरुबाट जम्मा भएको रकम सम्झनुपर्छ र सो शब्दले बैंक वा वित्तीय संस्थाले राष्ट्र बैंकले तोके बमोजिमका विभिन्न वित्तीय उपकरणको माध्यमबाट स्वीकार गर्ने रकम समेतलाई जनाउँछ ।
नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७६ बमोजिम राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ र ‘ग’ बर्गका वित्तीय संस्थाहरुले अन्य इजाजतप्राप्त संस्थाहरुमा मागेको बखत फिर्ता पाउने प्रकारको खाता (call deposit) समेत खोल्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाको अवस्था बिष्लेण गर्न कर्जा, निक्षेप, लागत तथा मुनाफालाई आधारमानी बिभिन्न वित्तीय अनुपातहरुको सुक्ष्म अध्यन गर्ने गरिन्छ । यसमध्ये आजको बैंकिङ क्षेत्रमा मुल चासोको रुपमा अध्ययन गर्नुपर्ने महत्वपूर्ण वित्तीय सुचक कासा अनुपात (CASA Ratio) हो ।
बचत खाता र चल्ती खाता बैंकिङ कारोबार गर्दा अत्यधिक सुनिएका खाताहरु हुन् । समान्यतया एक ब्यक्तिबाट बचतकर्ताले ब्याज प्राप्त गर्ने गरि खोलीएको खाता बचत खाता हो भने एक संस्था तथा कम्पनिले कुनै पनि प्रकारको ब्याज नपाउने गरि खोलिएको खाता चालु वा चल्ती खाता हो । कासा अनुपात भन्नाले कुनै पनि बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा बचत तथा चल्ती खातामा रहेको जम्मा निक्षेप कति हिस्सा छ भन्ने अनुपातलाई जनाउछ । चल्ती खातामा कुनै पनि प्रकारको ब्याज दिनुनपर्ने र समान्य बचत खातामा पनि मुद्दति तथा अन्य खाताको तुलनामा न्युन ब्याजदर हुने भएकोले कुनै पनि बैंकको कुल निक्षेपको जति बढी कासा अनुपात हुन्छ कोषको लागत त्यति नै कम पर्न जान्छ । सामान्य भाषामा भन्दा कर्जा प्रवाह बाट प्राप्त हुने ब्याज भन्दा कासा निक्षेपकर्ताहरुलाई कम ब्याज भुक्तान गर्नुपर्ने भएकोले बैंक तथा वित्तीय संस्थाको कासा अनुपात जति बढी हुन जान्छ उक्त बैंक तथा वित्तीय संस्थाको कोषको लागत त्यति नै कम पर्न जान्छ ।
कुल निक्षेपमा कम लागतमा प्राप्त गर्न सकिने कासा निक्षेप बृद्धि लाई प्रमुख लक्ष्य निर्धारण गरि कासा अनुपात बृद्धिमा लागीपर्दा बैंक तथा वित्तीय संस्थाको स्वस्थ मुनाफामा बृद्धि भएको हुन्छ । कर्जा र प्राथमिक पुँजी निक्षेप अनुपात (CCD Ratio) को कुल निक्षेपमा कासा अनुपातको भुमिका महत्वपुर्ण हुन्छ । अधिकतम कासा अनुपात सहितको लगानीयोग्य रकम मनग्य हुँदा मात्र आजको प्रतिष्पर्धात्मक बैंकिङ क्षेत्रमा ब्यापार बिस्तार गर्न सकिन्छ, जसकारण दिगो मुनाफा सहित अब्बल बैंकको दर्जामा अटाउँछ । त्यसकारण नेपालमा पनि बिभिन्न बित्तिय अनुपातहरुमा कासा निक्षेपको मात्रा सबैभन्दा महत्वपूर्ण बित्तीय सुचकको रुपमा अध्यन हुनु जरुरी छ, जसले बैंक तथा वित्तीय संस्थाको कुल मुनाफा र कर्जा प्रवाह क्षमताको मापन समेत निर्धारण गर्दछ । कुल निक्षेपमा कासा निक्षेपको ठुलो हिस्सा हुदा कोष लागतमा समेत कमि आउने भएकोले बैंक तथा वित्तीय संस्थाको आधार ब्याजदर समेत बढ्न पाउँदैन जसकारण ब्यवसायीहरुले सस्तो ब्याजदरमा कर्जा पाउँदा देशकै आर्थिक प्रणालीमा समेत सकारात्मक प्रभाव पर्दछ ।
लेखक बैंकर हुन् ।
