अल्पाइन डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा ४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा २२ दशमलव ५० प्रतिशतले धेरै मुनाफा कमाएको हो । अघिल्लो आर्थिक बर्षमा बैंकले ३ करोड ८३ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
बैंकले खुद व्याज आम्दानी र संचालन मुनाफामा उल्लेख्य प्रगती गरेको छ । १४ करोड रुपैयाँ चुक्ता पूँजी भएको उक्त बैंकले जगेडामा ६ करोड ९७ लाख रुपैयाँ राखेको छ । सो अवधिमा बैंकले १ अर्ब ६० करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
खराब कर्जा २ दशमलव ५६ प्रतिशत रहेको बैंकले प्रोभिजनमा ३० लाख रुपैयाँ राखेको छ भने ६ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३२ दशमलव ३३ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १४ दशमलव २३ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४८ दशमलव ०९ रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ५५ प्रतिशत रहेको छ ।