Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

बैंकिङ क्षेत्रका समस्या : नियमित चुनौतीका चाङदेखि कोभिडको घेराबन्दीसम्म !

admin २०७७ कार्तिक ४ गते
सेयर:

सुरज घिमिरे / बैंक तथा वित्तीय संस्थाहरुको सङ्ख्या तथा शाखाहरु बढ्दै गए पनि यसले आर्थिक वृद्धिमा प्रत्यक्ष प्रभाव पार्न नसक्नु नेपाली अर्थतन्त्रको एक प्रमुख चुनौती बनेको छ । कोभिड २०१९ ले बैंक तथा वित्तीय क्षेत्रमा अर्को चुनौती थपीदिएको छ । तीब्र प्रतिष्प्रधा, संस्थागत सुसासनको सवाल, उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यता, करको लफडा, घट्दो लोन टु भ्यालु रेसियो, स्प्रेट दरको चटारो, वित्तीय समावेशिकरण, मानवसंसाधनको टर्नओभर आदि कारणले बैंक तथा वित्तीय संस्थाहरु लामो समयदेखि चुनौतिको चाँगबाट गुज्रिरहेका छन् । लामो समयको लकडाउन तथा त्यसपछि उत्पन्न कोभिड संक्रमणले समग्र अर्थतन्त्रलाई नै चुनौती दिएको छ । जस कारण बैंकिङ क्षेत्रमा कर्जा असुलीदेखि कर्जा लगानीमा समस्या देखिएका छन् । 

तीब्र प्रतिस्पर्धाः 
नेपालको अर्थतन्त्रको आकारको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुको सङ्ख्या अधिक रहेको कुरा विश्व व्यापार सङ्गठन तथा अन्तराष्ट्रिय मुद्रा कोषले समेत सार्वजनिक गर्दै आएका छन् । अधिक बैंक तथा वित्तीय संस्थाहरु भएकै कारण जोखिमपूर्ण क्षेत्रमा लगानी बढ्दै गएको देखिन्छ । परिणामस्वरुप वित्तीय स्थायित्व पनि चुनौतिपूर्ण बन्न पुगेको छ । चर्काे प्रतिष्पर्धाले गर्दा ग्राहकहरु बैंकमा धाउने भन्दा पनि बैंकहरुले ग्राहक खोज्नुपर्ने अवस्था आएको छ । यसले एकातिर मानव संसाधन व्यावस्थापन जटिल बनाइदिएको छ भने अर्काेतिर वित्तीय क्षेत्रमा संस्थागत सुशासन कायम गर्नसमेत कठिन हुँदै गएको छ ।

संस्थागत सुशासनको सवालः 
अधिक धितो मुल्याङ्कन तथा कमसल धीतोमा कर्जा, “इन्साइडर लेण्डिङ्ग”, नक्कली एटिएमबाट रकम चोरी, रियल स्टेट क्षेत्रमा अत्यधिक लगानी, गुड फर पेमेण्ट चेकबाट ठगी, न्यून मुल्याङ्कनमा नातेदारको नाममा सम्पत्ति खरिद–बिक्री, सम्पत्ति खरिदमा घोटाला, आदिले बैंकिङ् क्षेत्रको संस्थागत सुशासनमा चुनौती थपिदिएका छन् । यसैगरी संचालकहरु बीचको अस्तित्व र अहम्को लडाइले पनि बैंक तथा वित्तीय संस्थाहरुमा समस्या सिर्जना गराएका प्रशस्तै उदाहरणहरु छन् ।

 मानव संसाधन व्यवस्थापनमा समस्याः
अत्यधिक मात्रामा बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा सञ्जाल सञ्चालनका लागि दक्ष तथा अनुभवी मानव संसाधन प्राप्तीमा समस्या भएकै कारण व्यवस्थापकीय एवम् तल्लो तहमा समेत बैंकहरुबीच मानव संसाधन तानातानको प्रवृत्ति बढ्दै गएको छ । जसले गर्दा अपरिपक्व व्यावसायिक अनुभवमा नै ठाडो करिअर वृद्धिको अवसरले मानव संसाधन व्यवस्थापनमा चुनौती थपेको छ । यसैगरी उच्च व्यवस्थापन र तल्लो तहममा कार्यरत कर्मचारीहरुको पारिश्रमिकमा ठूलो भिन्नता रहनु, उनीहरुको कार्य अवधि लामो हुनु, उत्प्रेरणाको कमी, विदा तथा सेवा सुविधाहरु पर्याप्त नहुनुले कर्मचारीहरुको दक्षतामा ह्रास आउँदै गएको छ । त्यसैगरी श्रमसम्बन्ध व्यवस्थापनमा पनि उत्तिकै ठूलो समस्या छ । बैंकहरुमा युनियन हावी हुँदा कर्मचारीहरुमा प्रतिस्पर्धात्मक क्षमताको विकास हुन सकेको छैन ।

लगानीमैत्री वातावरणको अभावः
२०६२।०६३ को राजनैतिक परिवर्तन पश्चात् मुलुकमा अस्थिरता र संक्रमण व्याप्त रहेको हुँदा निजी क्षेत्रमा उत्साह भएन । पछिल्लो समय मुलुकले स्थायी सरकार पाए पनि स्थायी सरकार हुनु मात्र लगानीमैत्री वातावरणको लागि पर्याप्त शर्त होइन भन्ने कुरा चन्दा आतंक, अविकसित भौतिक पूर्वाधार, उच्च व्याजदर, दक्ष जनशक्तिको अभाव, उद्यमशीलताको कमिजस्ता समस्याहरुले देशमा लगानीमैत्री वातावरण नरहेको पुष्टी गर्दछ । यसले गर्दा एकातिर प्रत्यक्ष वैदेशिक लगानीमा कमि आउँदै गएको छ भने अर्काेतिर पूँजी पलायनको खतरा पनि बढ्दै गएको छ । यसले बैंक तथा वित्तीय क्षेत्रको लगानीको क्षेत्र साँघुरिँदै गएको छ । नियामक निकायले उत्पादनमुलक क्षेत्रमा जान भन्ने र देशमा उत्पादनमुलक क्षेत्रलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा बैंकहरु अफ्ठ्यारोमा परेका छन् । पछिल्लो समय कर चुक्ताको लफडाले बैंकहरुको लगानी साँघुरिंदै गएको देखिन्छ ।

 बैंकहरुको अवास्तविक वर्गिकरणः 
नेपालमा अहिले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु छन् । ‘घ’ वर्गका लघुवित्त संस्थाहरु ग्रामीण गरिबलाई लक्षित गरी कार्यरत भए पनि, ‘क’ ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरुको काम गराइ र कामको क्षेत्रमा खासै भिन्नता देखिँदैन । ‘क’ वर्गका बैंकहरुको तुलनात्मक रुपमा सञ्चालन लागत कम भएको हुँदा ‘ख’ र ‘ग’ वर्गका विकास बैंक र वित्तीय संस्थाहरुको प्रतिष्पर्धात्मक क्षमता न्यून छ । दीर्घकालमा ‘ख’ र ‘ग’ वर्गका बैंकहरु टिकिरहन सक्ने अवस्था छैन । पूँजीगत आधार बलियो बनाउन स्वयं वाणिज्य बैंकहरुको मर्जरमा पनि ध्यान दिनुपर्छ ।

सूचना तथा प्रविधिको व्यवस्थापनमा चुनौतिः
सूचना तथा प्रविधिमा आएको परिवर्तनले बैंकिङ् क्षेत्रमा पनि आमूल परिवर्तन ल्याएको छ । नयाँ–नयाँ बैंकिङ् प्रडक्ट तथा बैंकिङ् बजारले यस क्षेत्रमा थप प्रतिस्पर्धा सिर्जना गराएको छ । ई–बैंकिङ्, एसएमएस बैंकिङ्, एटिएम सेवा, डेबिट कार्ड, क्रेडिट कार्ड, टेली बैंकिङ्, ईसिसि सेवा, आइपिएस सेवा, ई–वालेट, मोबाइल बैंकिङ् जस्ता बैंकिङ् प्रडक्टहरुका लागि आधुनिक सूचना तथा प्रविधिको प्रयोग हुँदै आएको छ । दक्ष जनशक्तिको अभाव र संस्थागत सुशासनको कमिका कारण प्राविधिक जोखिम बढ्दै गएको छ । यसले गर्दा बैंकिङ् कसुरका घटनाहरु पनि बेलाबेलामा घट्ने गरेका छन् ।

ऋण व्यवस्थापनमा समस्याः
उच्च प्रपितस्पर्धाले गर्दा गुणस्तरीय ऋणको अंश बढ्न सकेको छैन । उपयुक्त धितो सुरक्षण, परियोजनाको मूल्यांङ्कन, व्याज, किस्ता र सावाँको व्यवस्थापनमा समस्या आएकै कारण पछिल्लो समयमा कमसल ऋणको परिमाणमा पनि वृद्धि हुँदै गएको छ । असल कर्जाभन्दा पनि नाफाखोरी मानसिकताले चर्काे ब्याजदरको लोभमा ऋण प्रवाह गरेका बैंकहरुले खराब कर्जाको सामना गर्नुपर्ने चुनौती देखिन्छ ।

राजनैतिक हस्तक्षेपः
राजनीतिले नेपालको हरेक क्षेत्रमा प्रभाव पारेको वर्तमान परिप्रेक्ष्यमा बैंकिङ क्षेत्र पनि अक्षुतो रहन सकेको छैन । बैंकहरुमा मानव संसाधनको भर्नादेखि ऋण लगानीसम्म राजनैतिक दर्शनबाट प्रभावित हुनेगरेको कुरा बजारमा दोहोरी रहने कुरा हो । जनमत बटुल्नकै लागि बैंकबाट लिएको ऋणको व्याज मिनाहा गर्नेमात्रै होइन साँवासमेत मिनाहा गरिदिने खराब परम्पराको शुरुवातले सरकारी बैंकहरुमा ऋणको व्याज तथा सावाँ असुलउपर गर्न बैंकहरुलाई ठूलो चुनौती बनेको छ । गर्भनर नियुक्तिदेखि लिएर सरकारी बैंक तथा वित्तीय संस्थाहरुमा सरुवा बढुवामा समेत राजनीति हावीे छ ।

छायाँ बैंकिङको प्रभावः
नियमनको दायराबाहिर रहेको सहकारीहरुको कारोबार, ढिकुट एवम् हुन्डीजस्ता कारोबारहरुले बैंक तथा वित्तीय क्षेत्रमा थप चुनौती थपिदिएको छ । कतिपय सहकारीहरुले ‘क’ वर्गका बैंक सरह कारोबार गरिरहेका छन् । बैंकहरुमा भन्दा सहकारीमा ऋणको प्रक्रिया सरल हुने हुँदा सहकारीमा आकर्षण बढ्दै गएको छ । तर झण्डै १४ हजारको संख्यामा रहेका बचत तथा ऋण र करिब ५ हजारको हाराहरीमा रहेका बहुउद्देश्यीय सहकारी संस्थाले नाममात्रका सदस्यहरुबाट जम्मा गरेको अर्बाैँको निक्षेप अहिले गैर उत्पादनमूलक क्षेत्रमा परिचालन भएको छ ।

कोभिडले थपेको अर्को चुनौती : कोभिड २०१९ ले बैंक तथा वित्तीय क्षेत्रमा अर्को चुनौती थपीदिएको छ । तरलताको अभाव भइरहने वित्तीय क्षेत्रमा अहिले रकम प्रयाप्त थुप्रिएको छ भने कर्जा प्रवाह खासै भएको छैन । उद्यमशीलतामा सस्या, लगानीका क्षेत्रमा असहजता तथा लगानीका लागि पर्ख र हेरको अबस्थाले वित्तीय क्षेत्रलाइ साँघुरो बनाएको छ । लामो समयको लकडाउन तथा त्यसपछि उत्पन्न कोभिड संक्रमणले समग्र अर्थतन्त्रलाई नै चुनौती दिएको छ । जस कारण बैंकिङ क्षेत्रमा कर्जा असुलीदेखि कर्जा लगानीमा समस्या देखिएका छन् ।

(लेखक बैंकर हुन् । )

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।