
बैंकिङ खबर । दशै नजिकिएसँगै बैंक तथा वित्तीय संस्थामा ग्राहकहरुको चहलपहल बढेको छ । कोभिड माहामारीको त्रास यथावत रहँदा पनि बैंकमा सेवाग्राहीको लामै लर्को देखिन थालेको छ । दशैको किनमेल तथा कोरोना संत्रासका बिच केही रकम आपतमा काम चलाउन र लकडाउन, निशेधाज्ञा हुन सक्ने डरले ग्राहकहरु बैंक सम्म पुग्ने गरेका छन् । यस्तै यस पटक राष्ट्र बैंकले कोरोनाकै कारण देखाउँदै नयाँ नोट नसाट्ने सूचना निकाल्दै नोट साट्न बैंकहरुलाई निर्देशन दिएपछि बैंकमा नयाँ नोट साट्न आउने सेवाग्राहीको चापले पनि भिडभाड देखिएको हो ।
यस्तै कतिपय शाखाका कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि अधिकांश कर्मचारीहरु आइसोलेसनमा बस्दा सिमित कर्मचारीहरुबाट सेवा प्रदान गर्नुपरेकाले पनि काममा चाप देखिएको हो । बैंकहरुले डिजिटल माध्यमबाट कारोबार गर्न जोड दिदै डिजिटल माध्यममा थुप्रै छुट तथा सेवा सुविधा दिएको भएतापनि सबै नागरीकको पहुँचमा यो सुविधा नपुगेकै कारण भिडभाडमा कमी नआएको बैंकर्सहरु बताउँछन् ।


