२०७३ श्रावण १५ गते

झन्झन् बढ्दै फेसबुकको लोकप्रियता : १.७१ अर्ब पुगे प्रयोगकर्ता

facebookविश्वमा सर्वा्धिक लोकप्रिय रहँदै आएको सामाजिक सञ्जाल फेसबुकले गत वर्षको तुलनामा १ सय ८६ प्रतिशत बढी नाफा आर्जन गरेको छ । अप्रिलदेखि जुनसम्मको अवधिमा फेसबुकले २ अर्ब डलर आर्जन गरेको छ । यो २०१५ को ७१ करोड ८० लाख डलर बढी हो । विश्लेषकले ५.८ अर्ब डलर आम्दानी हुने प्रक्षेपण गरेका थिए । तर, कम्पनी आम्दानीको ६.४ अर्ब डलरको उच्च अपेक्षाभन्दा बढी लक्ष्य हासिल गर्न सफल भएको छ ।

भिडियो विज्ञापनको योगदान
प्रमुख कार्यकारी मार्क जुकरबर्गले भिडियोे क्षेत्रको वृद्धिबाट आफू खुसी भएको बताएका छन् । “हाम्रो समुदाय र व्यवसायले अर्को राम्रो त्रैमासिक अवधि देखेको छ,” उनले भने, “हामी विशेष गरी भिडियो क्षेत्रमा भएको प्रगतिबाट खुसी छौं र हाम्रो सेवाको केन्द्रका रूपमा आउने भिडियोप्रति अग्रसर हुनेछौं ।” केही समयपछिको कारोबारमा सामाजिक माध्यमको सेयर ७ प्रतिशतले उकालो लागेको छ ।

फेसबुकले भिडियोसहित नयाँ विज्ञापन प्लेटफर्म परीक्षणलाई प्रोत्साहन गरिरहेको छ । मोबाइल विज्ञापनले दोस्रो त्रैमासिक अवधिमा गत वर्षको सोही अवधिको ७६ प्रतिशतको तुलनामा बढी अर्थात् ८४ प्रतिशत विज्ञापन आम्दानी गरेको छ । कम्पनीले विज्ञापनको प्रवाहबाट नाफा गरेको छ । “फेसबुक माथि उठ्नका लागि अझै प्रशस्त सम्भावना छ । यो भिडियो विज्ञापनबाट मात्रै होइन,” आरबीसी क्यापिटल मार्केट्सका विश्लेषकले ग्राहक टिप्पणीमा लेखेका छन् ।

सक्रिय प्रयोगकर्ता बढ्दै
सक्रिय मासिक प्रयोगकर्ता (एमएसी) को संख्यामा १५ प्रतिशतले वृद्धि भई २०१६ को जुनसम्मका १.७१ अर्ब पुगेको छ । यो क्षेत्र विज्ञापनका लागि प्रमुख मापन हुँदै आएको छ । उक्त अवधिमा ट्विटरको मासिक सक्रिय प्रयोगकर्ता ३ प्रतिशतले वृद्धि भएको छ । सक्रिय मासिक प्रयोगकर्ताको संख्या पहिलो पटक १ अर्ब नाघेको छ । साइटमा समय गुजार्ने दैनिक प्रयोगकर्ताको संख्या पनि बढेको छ ।

हालसम्मको मितिमा मोबाइल वृद्धिको प्रमुख बाहक हुँदै आएको छ । फेसबुकले नयाँ सेवालाई जोड दिँदै आएको छ । यसमा फोटो र भिडिया सेयरिङ पनि समावेश छ । कम्पनीले लक्ष्य भेट्न विज्ञापनलाई प्रोत्साहन गरिरहेको छ । यसमा नयाँ फेसबुक लाइभ फिचर पनि छ, जसमा प्रयोगकर्ताले लाइभ स्ट्रिमिङ भिडियो हेर्न सक्छन् । भौगोलिक क्षेत्रको आम्दानी पनि बढेको छ । एसिया १९ प्रतिशत र युरोपमा २१ प्रतिशतले वृद्धि भएको छ । एजेन्सी