August 9th, 2020

नगरिक स्टक डिलर र बजारको स्थायीत्व


दिपक न्यौपाने-

नेपालको धितोपत्र बजार पछिल्ला वर्षहरुमा संरचनात्मक परिवर्तनका कारण आधुनिक हुँदै गइरहेको छ । पछिल्लो समयमा धितोपत्रको पूर्ण अभौतिक कारोबार, प्राथमिक बजारमा आस्वा तथा सि–आस्वा प्रणाली लागू भई हाल ७७ जिल्लामा नै बैंक तथा वित्तीय संस्थाका ४,००० भन्दा बढी शाखाहरूबाट प्राथमिक बजारको सेवा उपलब्ध भएको, दोस्रो बजारमा अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएको, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल तथा हेज फण्डजस्ता लगानीका वैकल्पिक साधनहरु प्रवेशका लागि आधार तयार भएको, मर्चेन्ट बैंकर तथा धितोपत्र दलाल व्यवसायीको उपत्यका बाहिर शाखा विस्तार हुने क्रम बढेकोले नेपालको धितोपत्र बजारको क्षेत्र तथा दायरा फराकिलो हुँदै गएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा धितोपत्र बजार सामान्य नै रह्यो । २०७६ आषाढ मसान्तमा १२५९.०९ रहेको नेप्से सुचकांक २०७७ आषाढ मसान्तमा करिब ८.२१ प्रतिशतले वृद्धि भई १३६२.३५ विन्दुमा पुगेको छ । कोभिड १९ को असरलाई नियन्त्रण गर्न नेपाल सरकारले गरेको पूर्ण लकडाउनको कारण बजार तीन महिना भन्दा अधिक समय बन्द भएको र कारोबार सुरु भएपश्चात बजारमा ठुलो अंकले घट्ने र बढ्ने भएतापनि यस आर्थिक वर्षमा बजारमा समग्रमा बढेर नै आर्थिक वर्ष विदा भयो ।
भर्खरै मात्र नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई प्रारभ्कि स्वीकृति दिएको छ र भौतिक पूर्वाधार निर्माण भएपश्चात् पुर्ण सञ्चालनको स्वीकृतिको पर्खाइमा नागरिक स्टक डिलर रहेको छ । नागरिक लगानी कोषको सहायक कम्पनीको रुपमा दर्ता भएको नागरिक लगानी कोषको चुक्ता पुँजी ५ अर्ब रहेको छ । नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल टेलिकम १० प्रतिशत र नेपाल पुनरबीमा कम्पनीको ९ प्रतिशत एवं सर्वसाधारण सेयरधनीको ३० प्रतिशत लगानी रहने नागरिक स्टक डिलरको स्थापना पश्चात् बजारमा हुने चलखेल नियन्त्रणमा केही हद सम्म राहात हुने देखिन्छ ।
हाल नेपालको धितोपत्र बजारमा स्थायीत्व रहेको पाइदैन । सानो सानो सूचनाको आधारमा बजार धेरै अंकले बढ्ने साथै केही लगानीकर्ताले अल्पकालिन लाभ लिने तर बजारमा धेरै सोझा लगानीकर्ताले आफ्नो सम्पत्ति गुमाउनु पर्ने अवस्था छ । बजारमा कम पूर्ति गरेर मूल्य बढाउने साथै बढी पूर्ति गरेर मूल्य घटाउने परिपाटि बढ्दो रुपमा रहेको छ । यसरी विना कारण दुई चार जनाको इच्छामा बजार धेरै घट्ने र बढ्ने हुदाँ धेरै लगानीकर्ताले आफ्नो सम्पत्ति गुमाउने तर दुई चार जनाले कमाउने परिपाटी रोक्न नागरिक स्टक डिलरको महत्वपूर्ण हुने देखिन्छ । नागरिक स्टक डिलरको महत्वपूर्ण कार्य भनेको नै बजारमा कम आपुर्ति हुँदा धितोपत्रको पूर्ति बढाउने र बढी पूर्ति हुदाँ खरिद गरि बजार अस्वभाविक रुपमा घट बढ हुन नदिनु नै हो । यसरी बजारलाई स्थायीत्व दिन नागरिक स्टक डिलरको भुमिका महत्वपूर्ण हुने देखिन्छ ।
हालको अवस्थामा नेपालको कुल बजार पुँजीकरण १८ खर्ब भन्दा माथि रहेको छ र यसमा पनि बाहुल्यता बैंक वित्तीय संस्थाको रहेको छ । ५ अर्बको पुँजी रहेको नागरिक स्टक डिलरको कारोबार हात्तीको मुखमा जिरा झै हुने निीश्चत छ तर नागरिक स्टक डिलरको स्थापनाले बजारमा नयाँ अध्यायनको सुरुवात भने पक्कै भएको छ । आगामी दिनमा बजारमा नयाँ स्टक डिलरको स्थापनाको लागि बाटो खुलेको छ र स्टक डिलरको काम, कर्तव्य र अधिकारलाई स्पष्ट पार्न भने नागरिक स्टक डिलरले महत्वपुर्ण भुमिका खेल्ने निश्चित छ ।
अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने कम्पनीको आफ्नो नेटवर्थको २.५ गुणा देखि ३ गुणा सम्म धितोपत्रको बजार मुल्य रहने अभ्यास भएता पनि नेपालमा कतिपय कम्पनीको सेयर मुल्य नेटवर्थभन्दा कम रहने गरेको र कतिपय कमजोर कम्पनीको बजार मुल्य समेत अस्वभाविक रुपमा बढ्ने गरेको र यसको असर सोझा तथा साना लगानीकर्ता बजारमा फस्ने गरेको पाइन्छ । यसर्थ बजारमा हुने अनियन्त्रित कारोबार केही कम गर्न नागरिक स्टक डिलरले केही हदसम्म सहयोग पु-याउने देखिन्छ ।
वर्तमान अवस्थामा नेपालको धितोपत्र बजार आधारहिन समाचारमा समेत अस्वभाविक रुपमा बढ्ने र नयाँ लगानीकर्ताहरु अल्पकालिन लाभ कमाउने आशामा बजार प्रवेश गर्ने तर आधारहिन सूचनाकै कारण आफ्नो सम्पत्ति गुमाउने गरेको अवस्थामा नागरिक स्टक डिलरले यस्तो विकृति नियन्त्रण गर्ने महत्पुर्ण भुमिका खेल्ने निश्चित छ । बजारमा सेयरको पुर्ति हुन नदिई अस्वभाविक रुपमा मुल्य नियन्त्रण गर्ने परिपाटि अन्त्य गर्न समेत नागरिक स्टक डिलरको भुमिका महत्वपुर्ण देखिन्छ । यसर्थ आगामी दिनमा नेपालको धितोपत्र बजारलाई स्थायीत्व प्रदान गर्न नागरिक स्टक डिलरको कार्यले महत्व राख्ने निश्चित छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]