August 8th, 2020

युथ एण्ड बैंकिङ : मेरो अनुभव, बैंकिङमा एक दशक

खडक रोकाया –

जुन १५ २०१० अर्थात २०६७ असार १ गते म संगै २२ जना साथीहरु कुमारी बैंकको सहायक पदमा नियुक्त भएका थियौं जसमध्ये कतिजना आज पनि एउटै संगठनमा छौ भने कतिजना बिभिन्न फरक फरक ठाँउमा छन् । आज मलाई फर्केर हेर्न मन लाग्यो कस्तो रह्यो त यो दश बर्ष । के के भएछ यो दश बर्षको दौरानमा । कति ठाँउ पुगिएछ के के सिकिएछ र कति परिपक्व भईएछ भनेर शब्दहरु मार्फत नै सबैमाझ राख्न मन लाग्यो ।

विविधताको अनुभव
जागिरको रमाईलो पक्ष भनेकै बिभिन्न ठाँउ घुम्ने अवसर प्राप्त हुन्छ । कामको शिलशीलामा म पनि आफ्नो घरभन्दा टाढा भएर काम गर्नु पर्ने अवसर प्राप्त भयो । फरक भाषा, फरक चालचलन र रीतिरिवाजमा नयाँ कुरा सिक्न पाईयो । नयाँ ठाउमा नयाँ साथी, नयाँ काम, नया सोच र आत्म निर्भर भई काम गर्दा छुट्टै आनन्द आउने रहेछ । एक दशकको समयावधी ले धेरै पेशागत र अन्य ब्यवहारीक ज्ञान हाँसिल गर्ने अवसर प्राप्त भयो ।

रमाईलो कार्य वातावरण
यो दश बर्षको दौरानमा सिनियरबाट धेरै सिक्ने मौका पाईयो र यो दौरानमा मैले जति पनि म भन्दा पछि जागिर शुरु गरेका साथीहरु संग काम गरे सबैले मलाई माया गरे । आफुले जानेको कुरा सिकाउनमा म पनि कुनै कन्जुस्याई गर्दैन र त्यही कुराले यहानेर काम गरेको हुनुपर्दछ । यो दश बर्षको दौरानमा म संग काम गरेका साथहिरुले रमाईलो कार्य वातावरण पाईएको अनुभव सुनाउछन । जसले आज मलाई आनन्दित बनाउछ र भबिष्यलाई मार्गनिर्देशन गर्दछ ।

ग्राहक सेवा पहिलो प्राथमिकता
म चाहन्छु म संग आएको कुनै पनि ब्यक्ति रिसाएर नजाओस । र एक दुई सामान्य घटना बाहेक त्यस्तो समस्या म संग यो दश बर्षको दौरानमा घटेन । आफैले फ्रन्ट लाईनमा काम गर्दा र अरुलाई काममा लगाउदा मेरो पहिलो प्राथमिकता नै उत्कृष्ट ग्राहक सेवा रह्यो र रहनेछ । सेवा प्रवाहको दौरान फ्रन्टलाईन जति स्मार्ट र उत्प्रेरित हुन्छ त्यति नै सेवाको गुणस्तर स्तरीय हुन जान्छ र सेकेन्ड लाईन लाई सहज हुन जान्छ ।

५ बर्ष शाखा प्रबन्धक र ५ बर्ष अन्य भुमिकामा
बैंकिङ सेवामा प्रबेश गरेको हिजोजस्तो लाग्छ तर आज फर्केर हेर्दा ५ बर्ष त शाखा प्रबन्धक कै भुमिकामा बितेछ । टेलर, सिएसडी, अपरेशन ईन्चार्ज, क्रेडिट सबै कामको अनुभव लिईयो । बिचमा छोटो समय हेड अफिसको एउटा बिभागको पनि अनुभव लिईयो । कुल शाखा चारवटा र तीनवटा शाखाको शाखा प्रबन्धक भईएछ । यसो फर्केर हेर्दा त समय रमाईलो पो भएछ ।

बलियो टिम निर्माण र सर्विस मार्केटिङ
कुनै पनि काम गर्दा एउटा बलियो टिम छ भने सजिलै सित सम्पन्न हुन्छ । आफ्नो टिम मेम्बर लाई जिम्मेवारी स्पष्ट रुपमा दिने हो र दायित्वबोध गराउने हो भने पक्षपातको गुन्जायस रहदैन । टिममा सबैको भुमिका महत्वपुर्ण हुन्छ । कुनै एउटाको काम मात्रै लाई मह्त्व दिदा अन्यको मनोबल घट्छ र कार्य वातावरण बिग्रिन्छ । जब टिम राम्रो बन्छ अनि सर्विस मार्केटिङ स्तरीय हुन जान्छ ।

पहिलो पटक शाखा प्रबन्धक हुदाको अनुभव
बैंकमा काम गर्ने सबैको पहिलो लक्ष्य भनेको शाखाको प्रमुख भएर काम गर्नु हो जस्तो लाग्छ । तर मनमनै फेरी डर पनि लाग्दो रहेछ एकैचोटी ठुलो जिम्मेवारी आउदा काम गर्न सकिने हो कि होईन भनेर । तर डराएर अवसर त पाईदैन भनेर आँट गर्नुपर्दोरहेछ । म पनि शुरुमा डराएकै थिए तर बिस्तारै बानी पर्दै जाने र अनुभवले सबैे कुरा ठिक ठाँउमा आउने रहेछ ।

अबको लक्ष्य
समयले मान्छेलाई उसले सोचेकै त दिदैन तर आफुले सोचेको र रुचीलाई समयसंगै मिलान गर्न निरन्तर प्रयास गर्दै जानुपर्दछ । मार्केटिङ र तालिम अफिसर भएर आफुलाई प्रमाणित गर्न म आफैलाई चुनौती दिईरहेको हुन्छु । बैंकिङमा अहिलेको कामको चाप र प्रतिस्पर्धा लाई ब्यबस्थित गर्न सकेमात्रै टिक्न सकिन्छ । आफ्नो काम लाई नै प्यासन बनाउन नसके काम गरेको पनि अर्थ छैन । नयाँ पुस्ताको उर्जालाई अवसरको रुपमा सदुपयोग गरी स्वस्थ बैंकिङ समाजको निर्माण आजको आवश्यकता पनि हो ।
सबैलाई धन्यबाद तथा साथीहरुलाई बधाई
यो दश बर्षे यात्रालाई सघाउने सबै सिनियर सरहरु, साथीभाई, सरोकारवाला सबैलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि सहकार्य रहिरहोस । साथै म संगै करियर सुरु गरेका साथीहरुलाई पनि बिशेष बधाई दिन चाहन्छु ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]