July 24th, 2016

यस्ता छन्, आठौँ वर्ष पूरा गरेको ज्योति विकास बैंकका भावी योजनाहरु 

jyotiज्योति बिकाश बैंक लिमिटेडले आफ्नो स्थापनाको आठौ वर्ष पुरा गरेको छ । वि.सं. २०६५ साल श्रावण ९ देखि निरन्तर सेवारत बैंकले जति सक्दो चाडो धेरै ग्राहक समक्ष पुग्न शाखा विस्तार, आधुनिक प्रबिधिको अबलम्बन, ए. टि. एम. को स्थापना तथा आकर्षक सुविधाहरु ल्याउँदै आएको छ । जाजरकोट र खोटांङ्ग लगायत २४ वटा शाखा तथा पबित्र धार्मिकस्थल देबघाटमा एक्स्टेन्सन काउन्टर रहेका छन् भने ९ वटा ए टि एम संचालनमा छन् ।

यसै अवसरमा बैंकले झिमरुक बिकाश बैंकसंगको मर्जर अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । यो मर्जर सम्पन हुनासाथ बैकको शाखा संजाल २९ पुग्ने छ भने तुक्ता पुँजी ५ करोड ८७ लाख रुपैयाँले बढ्नेछ । मर्जरपश्चात शाखाहरुलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने नीति लिने योजना रहेको बताइएको छ । साथै, बैंकको संजाल देश ब्यापी रुपमा सातै प्रदेशमा पुर्याउने योजनाका साथ उपयुक्त स्थानहरु पहिचान गरि यस  वर्ष थप शाखा संजालहरु वृद्धि गरिने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजी वृृद्धिको लागि गरेको निर्देशन अनुरुप बैंकको पँजी यस वर्षको अन्त्यसम्ममा २ अर्व ५० करोड रुपैयाँ पुर्याउने योजना बैंकले नेपाल राष्ट्र बैंकमा पेश गरिसकेको छ । अरु उपयुक्त संस्थाहरुसँग पनि मर्जर÷एक्वीजिसन प्रक्रिया अगाडि बढाइ रहेको र नपुग पुँजी अग्राधिकार शेयर तथा बोनस शेयर जारी गरेर पुर्याउने लक्ष्य रहेको बैंकले जानकारी दिएको छ ।

आधुनिक प्रविधिलाई हेर्दा इन्टरनेट बैंकिंग सेवा, मोबाइल बैंकिंग सेवा, टेलिफोन तथा मोबाइलको बिल भूक्तानी सेवा, ए. बि.बि.एस. सेवा तथा ए.टि.एम. कार्ड मार्फत जारी गर्ने योजना रहेको बताइएको छ । ग्राहकको भावना र आवस्यकतालाई ध्यानमा राखी बालकल्याण बचत, जेस्ठ नागरिक सम्मान बचत, दम्पति बचत तथा साधारण बचत जस्ता विभिन्न आकर्षक बचत कार्यक्रमहरु लागु गरेको बैंकले रेमिटेन्स, बिदेशी मुद्रा विनिमय, सेफ डिपोजिट लकर लगायतका सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै, लघु, साना तथा मझौला कर्जा, युवा व्यावसयिक कृषि कर्जा, आवास कर्जा सञ्चालनमा छन् । त्यस्तै जलविद्युत जलाधार क्षेत्रमा स्थानीय रोजगारी तथा पर्यावरणमैत्री लघु वित्त कर्जा जस्ता थप सेवाहरु पनि संचालन ल्याउन लागिरहेको जानकारी बैंकले दिएको छ । 

बैंकले २०७३ असार मसान्त सम्ममा करिब ६५,५०० हजार निक्षेपकर्ता ग्राहकबाट रु. ७ अर्व ६७ करोड निक्षेप संकलन गरेको छ भने करिब ३,८०० ऋणीहरु मार्फत रु. ६ अर्व ६ करोड कर्जा लगानी गरेको छ । त्यस्तै बैंकले रु. २१ करोड १० लाख संचालन मुनाफा आर्जन गरी खुद मुनाफा रु. १३ करोड ४३ लाख आर्जन गर्न सफल भएको छ । चालु आ.व. मा रु. ९ अर्व २० करोडको निक्षेप तथा ८ अर्व ५० करोडको कर्जा पुर्याउने लक्ष्य लिएको छ । गत वर्षको निस्कृय कर्जा घटाएर १.९२ प्रतिशतमा झारेको छ । 

व्यापारिक उद्देश्यका अतिरिक्त आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै सामाजिक योगदानमा पनि संलग्न रहेको यस विकास बैंकले कूल मुनाफाको १ प्रतिशत ज्योति विकास च्यारिटी फन्डको रुपमा सामाजिक दायित्व निर्वाह अन्तर्गत सहयोग गदैं जाने नीति लिएको छ ।