२०७३ श्रावण ३ गते

राष्ट्रिय बाणिज्य बैंक र नागरिक लगानी कोषबीच सेवा सम्झौता

banijyaनागरिक लगानी कोषको रकम संकलन तथा ट्रान्सफर कार्यलाई अझ बढि सरल र सुविधायुक्त बनाउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोष बीच रकम संकलन तथा ट्रान्सफर गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले हस्ताक्षर गरे । 

सो अवसरमा राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठले दुई ठूला सरकारी निकाय बीचको संझौताले कर्मचारीको वचत बानी विकासमा थप सघाउ पुग्ने अपेक्षा सहित  आगामी आर्थिक वर्षमा बैंकले पुनस्र्थापना गर्ने ३० वटा शाखा कार्यालयको सेवाबाट कोषका बचतकर्ता र सर्वसाधारण जनता लाभान्वित हुने विश्वास ब्यक्त गरे । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पोखरेलले यो संझौताले नागरिक लगानी कोषका ५ लाख ७० हजार बचतकर्ता लाभान्वित हुने बताए । 

यस नयां संझौता अनुसार नागरिक लगानी कोषको बैंकका विभिन्न शाखामा रहेका अनेकौ खाताहरु बन्द गरि स्किम अनुसारको ६ वटा केन्द्रिकृत खाताहरु मात्र संचालन गरिनेछ । नेपाल भरीबाट जम्मा हुन आउने रकम बैंकका शाखा कार्यालय थापाथली, टेकु र वानेश्वरमा रहेका कोषको कर्मचारी बचत बृद्धि अवकाश कोष, निजामती वीमा कोष, शिक्षक वीमा कोष, सैनिक वीमा कोष, नेपाल प्रहरी वीमा कोष, सशस्त्र प्रहरी वीमा कोषको नामको खातामा मात्र शिर्षक अनुसार रकम जम्मा हुनेछ । 

उक्त हस्ताक्षर समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब महाप्रवन्धकहरु सुुशिल श्रेष्ठ, कविराज अधिकारी, का.मु.नायब महाप्रवन्धक टेकराज जोशी, ब्रान्च अपरेशन विभागका प्रमुख उद्धब खनाल, उप प्रमुख नारायण प्रसाद सुवेदी, नागरिक लगानी कोषका मूख्य ब्यवस्थापक सुशिल कुमार अर्याल लगायत दुबै संस्थाका अन्य पदाधिकारीहरुको उपस्थिती थियो ।