July 14th, 2016

गाभिए बीओके र लुम्बिनी बैंक

BOKL Merger pic 1 (2)बैंक अफ काठमाण्डू (बिओके) र लुम्बिनी बैंक गाभिएपछिको एकिकृत कारोवार सुरु भएको छ । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले एकिकृत कारोबारको सुरुवात गरे । मर्जरपछि बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।

बिओकेसँग लुम्बिनी १०० बराबर ८२.८१ को सेयर अनुपातमा गाभिएको हो । मर्जरपछि बनेको बैंकको चुक्ता पुँजी ४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालक समितिमा बिओकेबाट पाँच र लुम्बिनीबाट चार जना सञ्चालक छन् । 

कार्यक्रममा बोल्दै गभर्नर नेपालले दुई बैंक गाभिएपछि बैंक थप सबल भएको बताए । उनले ग्रामिण क्षेत्रमा बैंक नगएको बताउँदै ती गाउँमा गएर जनताको सेवामा समेत ध्यान दिन आग्रह गरे । कार्यक्रममा लुम्बिनी बैंकका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठले यो बैंक चाँडैनै टप फाइब बैंक बन्ने दाबी गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले मर्जरमा जाँदा सेयर कारोबार रोक्न नहुने बताउँदै रोक्नैपरे मर्जमा जाँदा गाभिनेको मात्रै गर्नुपर्ने धारणा राखे ।