May 9th, 2020

सरकारी बैंकको तयारी गर्दा के-के कुरामा ध्यान दिने ? (बैंकर सरोज कटुवालको टिप्सहरु)

-सरोज कटुवाल

नेपालमा आजकल सरकारी बैंकमा जागिर गर्ने  युवापुस्ताको जमातको ठुलो रहरको बिषय बनेको छ । टाई सुटमा सजिएर आकर्षक टेबलमा बसेर स्मार्ट ब्यक्तित्व सहित सेवा गर्ने अवसर, साथमा सरकारी जागिरको आकर्षण, बर्सेनि ठुलो सङ्ख्याको माग हुने, सुखी जीवनको लागि पर्याप्त सेवा सुविधा आदिले गर्दा पछिल्लो समयमा यसको आकर्षण विशेष बनेको छ । ब्यबस्थापन संकायमा अध्ययनरत बिधार्थीको प्रमुख गन्तव्यको रूपमा रहेको यस पेशामा आउन चाहाने कुरालाई विभिन्न बैंकिङ तयारी कक्षा सञ्चालन , सामाजिक सञ्जालमा यसको चर्चा परिचर्चा, बैंकिङ तयारीका पुस्तक बिक्रीको बढ्दो दर आदिले थप प्रमाणीत गरेको देखिन्छ ।

यस पेशामा हुने आकर्षणले झन् झन् नयाँ पुस्तामा थप कौतुहुलता र जिज्ञासा थपिरहेको छ । रहर, फेसन , सौख वा स्पष्ट लक्ष्य जेसुकै मार्फत भएपनि कसरी तयारी गर्ने, के गर्ने, कति पढ्नुपर्छ, पठन सामाग्रीको जोहो कसरी गर्ने, कसरी तयारी गर्दा राम्रो हुन्छ आदि जस्ता प्रश्न नयाँ उमेद्वारहरूमा बढी पाईने गरेको छ । साथै उपयुक्त ज्ञान नहुँदा धेरै जसो उमेद्वारहरू अलमलमा पर्ने, निर्णय स्पष्ट गर्न नसक्ने, समय खेर फाल्ने तथा निराशा ब्यक्त गर्ने जस्ता समस्याको सिकार भएको देख्न सकिन्छ । यसको केही हद सम्म निराकारण गर्न निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ ।

१) आफुलाई सुहाउँदो पेशा छनौट गर्नुहोस् :
ब्यक्ति अनुसारको स्वभाव, ईच्छा, चाहाना, प्राथमिकता फरक फरक हुने हुदाँ सबैलाई एउटै पेशा उपयुुक्त नहुन सक्छ । सामान्यतः कुन पेशामा तपाईं बढी रमाउन सक्नुहुन्छ त्यो पेशा छनौट गर्नुहोस । यसलाई देखासिकी, अभिभावकको दवाव, कसैको प्रभाव आदिबाट रोज्नुभएको हो भने भोली यसको ठुलो लागत समेत ब्यहोर्नुपर्ने हुनसक्छ । यसमा सचेत हुनुहोस् । बैंकिङ क्षेत्रका सबै पक्षको विश्लेषण गरेर, जानकारीहरू लिएरमात्र निर्णय लिनु उपयुक्त हुन्छ ।

२) हल्लाको पछि नलाग्नुहोस् :
बजारमा धेरै किसिमका हल्ला अफवाह हरू चलिरहेका हुन्छन् । जस्तै बैंकमा जागिर खान सोर्स फोर्स चाहिने कुरा, कुनै ईन्टीच्युटका प्रश्नहरू परिक्षामा धेरै मिल्ने कुरा, अक्षर राम्रो हुनेलाई लोकसेवाले प्राथमिकता दिने कुरा, अङ्ग्रेजी बाट लेख्दा पास हुने संभावाना धेरै हुने कुरा, कुनै किताब बिशेषको उत्कृष्टता जस्ता नचाहिने कुराले बजार तताउने गरेको अवस्थामा यस्ता मिथ्या कुरा पत्याउने वा यसबाट अनावश्यक तनाब लिने भूल नगर्नुहोस् ।

३) सामग्री छनौटमा बिशेष ध्यान दिनुहोस् :
आफुले तयारी गर्ने पुस्तक र सामाग्री छनौट गर्दा सकेसम्म अनुभव भएका अनुभवी ब्यक्तिको सहायता लिनुहोस् । कम्तिमा दुई वटा पुस्तक लिनुहोस्, एउटालाई आधार बनाउनुहोस् , अरूलाई रिफरेन्स को रूपमा प्रयोग गर्नुहोस् । एउटा कमसल पुस्तकले तपाईंको मेहनत खेर जान पनि सक्छ, यसमा ध्यान दिनुहोला । पुस्तकमै अन्डरलाईन गर्ने, नोट बनाउने, लेखेर पढ्ने वा नोटबाट पढ्ने आफुलाई कसरी धेरै कुरा सम्झिन सजिलो हुन्छ त्यही विधि प्रयोग गर्नुहोस् । एकपटक पढेको कुरा पुनः कति समयमा दोहोर्याउनु पर्ने हो पहिल्यै तय गर्नुहोस् ।

४) तयारीलाई निर्दिष्ट बनाउनुहोस् :
प्रथम चरणमा सिलेबस लाई स्पष्ट बुझ्नेगरी सकाउनुहोस् । त्यसपछि त्यस तहमा बिगतमा सोधिएका प्रश्नहरूको समाधान गर्नुहोस, जसले तपाईंलाई प्रश्नको प्रकार, परिक्षामा समय व्यवस्थापन , प्रश्न सोध्ने ट्रेन्ड आदिवारे अवगत गराउछ । ऐन, नीतिनियम, तथ्यांक हरूलाई परिवर्तन हुने र नहुने भागमा विभाजन गर्नुहोस् । परिवर्तन नहुने बिषयलाई सुरूमै पूर्णरूपमा याद गरिहाल्नोस र अन्यलाई समयक्रमसँगै अध्यावधिक गर्दै जानुहोस् । नजिकका बिषयहरूलाई तुलनात्मक अध्ययन गर्नुहोस् ।

५) उतर निश्चित र सिमित ढाँचाको बनाउनुहोस् :
पर्याप्त पुस्तक, नोट, ईन्टरनेट आदिले गर्दा यता उताबाट बटुल्दा बटुल्दै उत्तर लामो हुने संभावना हुन्छ । परिक्षामा कुनै उत्तर लामो हुदाँ अन्य उतरलाई अन्याय हुन जान्छ । समान अंकभारमा कुनै एकदम लामो र कुनै अनावश्यक छोटो हुनुले कमजोरी दर्शाउछ । तर यो परिक्षाहलको गल्ती नभएर तयारी गर्दाको गल्ती हो भन्ने कमैले महसुुस गर्दछन् । थोरै शब्दमा धेरै बिषयबस्तु झल्किने किसिमको उत्तरहरू प्रभावकारी हुन्छन् । उतर थोरै लेखेर भन्दा पनि उतरमा मागेको बिषयबस्तु थोरै हुदा असफल हुने संभावना बढ्छ ।अतः कुन किसिमको प्रश्नमा कति उत्तर लेख्ने पहिल्यै देखि आदत बसाउनुहोस् ।

६) सही साथी, सही समय र सही गुरु बनाउनुहोस् :
एक्लै केही गर्न पनि रमाइलो हुदैन पढ्न पनि । राम्रो पढ्ने, छलफल गर्ने, लक्ष्य मिल्ने किसिमको साथी वा सानो समूह तयार गर्नुहोस् र त्यसलाई भरपूर सदुपयोग गर्नुहोस् । समयलाई अधिकतम उपयोग गर्नुहोस् । बिहानको समय पढाइमा अझ उपयुक्त हुन्छ । पढ्छु भनेपछि ५ सकेन्ड उल्टो गणना गरेर ५…४…३….२….१ पढ्न बसिहाल्नुहोस् । हैन भने फेसबुक, काम, अल्छिपना, थकान, बाहाना आदिले तपाईंलाई टाढा लगिहाल्नेछ । अब गुरूको कुरामा अरू कसैले तपाईंलाई उत्कृष्ट बनाउन सक्दैन जति तपाईं आफैले सक्नुहुन्छ । यसर्थ आफैलाई पढाइको लयमा हिड्न सिकाउनुहोस् । यो तपाईंले नै गर्नुपर्नेछ ।

७) आफुलाई संयम, गतिसिल र आत्माविश्वासी राख्नुहोस् :
थोरै पढ्नासाथ धेरै गफ लाउने, आफुले जानेको कुरा भन्दै नभन्ने, एकदुईदिन पढेर छाड्ने, गाह्रो मानेर वा धेर सजिलो मानेर नपढ्ने , प्रयास गरेर पनि भएन भनेर निराश हुने आदि गल्तिहरू नगर्नुहोस् । परिक्षाका उमेदवारहरू अधिकांस औषत नै हुन्छन् , नआतिनुहोस् । राम्रो बौद्धिक मान्छेको जहाँपनि आवश्यकता हुन्छ । अफुमा निखारता ल्याउनुहोस । निरन्तर लागिरहनुहोस, कुनै दिन जागिरले तपाईंलाई खोज्दै आउनेछ । यहाँहरू सम्पूर्ण लाई सफलताको शुभेच्छा छ शुभकामना छ ।

(लेखक नेपाल बैंक लिमिटेड, प्रधान कार्यालयमा कार्यरत हुनुहुन्छ ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]