चैतको किस्ता काटीएका ग्राहकले अति आबश्यक परे रकम फिर्ता पाउने

बैंकिङ खबर । लकडाउनमा बसेका ग्राहकहरुलाई सहज होस् भनेर नेपाल राष्ट्र बैंकले २०७६ चैत्र मसान्तमा भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताहरुको भुक्तानी २०७७ असार मसान्तसम्ममा गर्न सकिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरुलाई २०७६ चैत १६ गते सर्कुलरमार्फत निर्देशन दियो । यस्तो किस्ताको हकमा कुनै जरिवाना शूल्क लिन नपाईने पनि स्पष्ट पारिएको थियो । तर, यस्तो किस्ता चैत्र मसान्तमा नै भुक्तानी गर्न आउने ऋणीलाई व्याजमा १० प्रतिशत छुट दिनु भन्ने पनि राष्ट्र बैंकको निर्देशन थियो ।

तर बैशाख लागिसकेपछि बैंकका ऋणी ग्राहकहरुले बैंकहरुले खबरै नगरी चैत्र महिनाको किस्ता काटेको भन्दै गुनासो गर्न थाले । बैंकिङ खबरको फेसबुक पेज र इमेलमा पत्राचार गर्दै बैंकले चैत महिनाको किस्ता खाताबाट कट्टा गरेको र सो को म्यासेज आफूहरुले मोवाइलमा पाएको बताए ।

बैंक र ग्राहकको समन्वयनमै किस्ता कटौती
यो विषयले धेरै मानिसहरुमा दुविधा पैदा भयो । कतिपयले बैंकमा राखेको रकम छ भनेर निकाल्न जाँदा बैंकले किस्ता काटेर व्यालेन्स सकिएको पाए । अनि कतिपयले बैंकलाई तिर्ने खाता र आफूले जम्मा गर्ने खाता एउटै हुँदा पनि किस्ताको बारे मेसो पाएनन् । कतिपय बैंकमा काम गर्ने कर्मचारीको पनि अधुरो बुझाई रह्यो । उनीहरुले धमाधम किस्ता काट्न थाले । राष्ट्र बैंकले पनि नियमित किस्ता नलिन भनेर भनेको थिएन । यसरी हेर्दा बैंकर पनि गलत छैनन् । तर ग्राहक र विशेष गरी साधारण व्यक्ति जसले बैंकमा एउटै खाताबाट किस्ता बुझाउँछ, उसले काम गर्न नपाएको अबस्थामा र राष्ट्र बैंकको सहुलियत सुन्ने वित्तीकै आशा पालेका व्यक्तिहरुमा किस्ता काट्छ भनेर बुझ्ने कुरा पनि भएन । जसले गर्दा बैंकमा भएको रकम झिकेर जीवन गुजार्न चाहादा समस्या पनि आइलाग्यो ।
सर्बसाधारणले दुख पाउनु भएन । बैंकलाई असार मसान्तसम्म भुक्तानी गर्दा हुन्छ र व्यक्तिसँग पैसा कम छ भने उसले संकटमा आफू बाँच्ने आधार पहिलो प्राथमिकता हुन सक्छ । धेरै कर्जा लगेर त्तैमासिक भुक्तानीका लागि नियम बनाइरहँदा सर्बसाधारणलाई कुरा बुझ्न समस्या हुनु स्वभाविकै हो । त्यससँगै नियमित किस्ताको कुरा नबुझेका व्यक्तिलाई दोधार भएको हुन पनि सक्छ । यसै विषयलाई लिएर सयौ व्यक्तिले जिज्ञासा राखेपछि हामीले यो कुरा केही बैंकर र नेपाल राष्ट्र बैंकसँग उठायौं ।

नेपाल राष्ट्र बैंकले यसबारेमा बैंक र ग्राहकको समन्वयनमा नै किस्ता तिर्ने काम भइरहेको बताएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बैंकहरुले ग्राहकलाई दिनुपर्ने सुविधा दिइरहेको बताए । चैत्रमा नै किस्ता बुझाउन चाहनेहरुले बुझाउन सक्ने र यसो गर्दा व्याजमा १० प्रतिशत छुट समेत पाउने भनेको छ । सो अनुसार किस्ता बुझाउने ऋणीले पाउनुपर्ने छुट पाइरहेको र बेंक तथा ग्राहकको बीचमा समन्वयनका आधारमा किस्ता काट्ने वा पछि तिर्ने मिलाउन सकिने उनले प्रष्ट पारे ।

अति आबश्यक परेको व्यक्तिले किस्ता फिर्ता पाउने

प्रभु बैंकका सीईओ अशोक शेरचनले १० प्रतिशत छुट पाइन्छ भनेर नै केही ग्राहकहरुले किस्ता तिरिरहेको र कतिपयले असार मसान्त भित्र तिर्दा हुन्छ भन्ने हिसाबले किस्ता नतिरेको बताए । कसैकसैले नजानेर ऋण तिर्ने खातामा पैसा राखेको भए नियमअनुसार नै बैंकले काटेको हुन सक्ने उनले बताए । उनका अनुसार केही सामान्य नागरिकले एउटै खाताबाट किस्ता र नियमित कारोबार गर्दा त्यस्तो हुन सक्ने उल्लेख गरे । तर ग्राहकको इच्छा बिपरित काटीएको भए असार मसान्तसम्म भुक्तानी गर्नेगरी फिर्ता गर्न सकिने उनले स्पष्ट पारे ।

डेभलपमेन्ट बैंकर्स एशोसियसनका महासचिव समेत रहेका ज्योति विकास बैंकका सीईओ मनोज ज्ञवालीले सिस्टम अनुसार नै किस्ता काटिने गरेको बताए । राष्ट्र बैंकले किस्ता नलिनु भनेको नभएका कारण तोकिएको छुट दिएर किस्ता असुल गरिने उनको बुझाई छ । ‘‘राष्ट्र बैंकले किस्ता तिर्न नसक्ने भए असुली प्रक्रियामा नजानु, कालो सूचिमा नराख्नु मात्रै भनेको छ”, उनले भने, “तर, खातामा रकम छ र तिर्न सक्ने अवस्थामा छ भने व्याजमा १० प्रतिशत छुट दिनु भनेर पनि राष्ट्र बैंकले प्रष्ट भनेको छ ।” यदि किस्ता काटिएका ऋणीहरुले किस्ता पछि तिर्छु भनेर गुनासो गरे भने बैंकहरुले सो रकम फिर्ता गरिदिने समेत उनले बताए ।

सरोकारवालाका अनुसार बैंक र सेवाग्राहीको बीचमा समझदारी गरेर किस्ता लिन सकिने वा समस्यामा परेका व्यक्तिको किस्ता काटीएको छ र उसले किस्ता पछि भुक्तानी गर्छु भनेर भनेमा पनि बैंकले रकम फिर्ता दिने कुरा यस रिपोर्टबाट पाइएको छ ।