April 17th, 2020

बैंकिङ तथा वित्तीय क्षेत्रमा कोरोनाको प्रभाव कस्तो देखिएला ?

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा कोरोनाको प्रभाव पछि मात्रै देखिने बैंकर्सहरुले बताएका छन् । अहिले कोरोना संक्रमण र लकडाउनका कारण समग्र अर्थतन्त्र नै प्रभावित बनेको अवस्था छ । प्रायः आर्थिक गतिविधिहरु ठप्प भएका कारण मानिसहरुको आम्दानीको स्रोत बन्द भएको छ । आर्थिक क्षेत्रहरुमा कोरोनाको प्रभाव तत्काल देखिएको भएतापनि बैंक तथा वित्तीय संस्थाहरुमा केही समयपछि मात्रै यसको प्रभाव देखा पर्ने बैंकर्सको भनाई छ ।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा हालसम्मको अवस्थामा बैंकिङ क्षेत्रमा प्रभाव नदेखिएको बताउँछन् । केही महिनापछि यसको प्रभाव बैंकहरुमा देखिने उनले बताए । चालू आर्थिक वर्षको अधिकांश कार्य सम्पन्न भइसकेका कारण बाँकी महिना धान्न सकिने उनको भनाई छ । व्यवसाय एवम् उद्योगधन्दाहरु निश्चित योजनामा चल्ने भएकाले १।२ महिनामा फरक नपर्ने भएकाले धेरै लामो समय लक डाउन भए मात्रै बैंकहरुको कर्जा लगायतको क्षेत्रमा प्रभाव पर्ने सीईओ शर्माले बताए ।

डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष एवम् गरिमा विकास बैंकका सीईओ गोविन्द ढकाल समग्र अर्थतन्त्र नै प्रभावित भएको अवस्थामा बैंकिङ क्षेत्र पनि अछुतो रहन नसकेको बताउँछन् । यद्यपि, यसको स्पष्ट प्रभाव अलि पछि मात्रै देखिने उनको भनाई छ । नेपाल राष्ट्र बैंकले यस विषयमा अध्ययन सुरु गरेको छ । अध्ययनपछि मात्रै बैंकिङ क्षेत्रको वास्तविक अवस्था ज्ञात हुने उनले बताए ।

वित्तीय संस्था संघका अध्यक्ष एवम् गुडविल फाइनान्सका सीईओ सरोजकाजी तुलाधर अहिले नै बैंकिङ क्षेत्रमा परेको प्रभावको मूल्यांकन गर्ने समय भइनसकेको बताउँछन् । लक डाउन पिरियडभरि अफिसहरु चलाउन नपाएका कारण अर्थतन्त्र ठप्प भएको हिसाबले लोन तिर्नुपर्नेहरुले तिर्न नसक्ने र आम्दानी घट्ने हुँदा वित्तीय क्षेत्रमा असर पर्ने उनले बताए । संक्रमण पनि फैलियो र लकडाउन पनि बढ्यो भने चाहिँ भयावह अवस्था हुने उनको भनाई छ ।

लकडाउनका कारण अर्थतन्त्रको चेन नै अवरुद्ध भएका कारण लघुवित्तका लक्षित वर्गहरु निकै प्रभावित भएको लक्ष्मी लघुवित्तका सीईओ प्रकाशराज शर्माले बताए । ग्राहकहरुको कर्जा चुक्ता गर्न सक्ने क्षमता कम भएका कारण भविष्यमा कर्जा जोखिको अवस्था आउन सक्नेतर्फ उनले संकेत गरे । अवस्था सामान्य भई अर्थतन्त्र सुचारु हुन थालेपछि मात्रै वित्तीय क्षेत्रमा परेको असर देखिने र त्यसको समाधानतर्फ सोँच्न सकिने उनले बताए ।