April 14th, 2020

फुर्सदको समय : लकडाउन, स्वास्थ्य र अर्थतन्त्र

खडक रोकाया ।

 आज विश्व नै पुर्ण रुपमा ठप्प भएको छ । हाम्रा ती अनगिन्ति चाहनाहरु पनि एउटा सिमित कोठामा कैद भएका छन् । कसरी दिन बिताउने भन्ने अहिलेको सबैभन्दा ठुलो समस्या हाम्रा माझ आएको छ । हाम्रा अनेक समस्याहरु पहिले भन्दा फरक रुपमा आएका छन् । सबैलाई भोलीको चिन्ताले सताएको छ । मानसिक रुपमा हामी अहिले सम्मकै चिन्तित अवस्थामा आईपुगेका छौं । यो समयलाई कसरी सहज रुपमा लिने र तनावरहित कसरी हुने केही टिप्सहरु हेरौं ।

हिजो र भोलीको अस्तित्व नै छैन
हामी हिजोको हरेक पलहरुलाई आफ्नो स्मरणमा भण्डारण गर्न माहिर छौं । राम्रा नराम्रा सबै पलहरुले एकमुष्ट हाम्रो स्मरण क्षमताले भ्याएसम्म हाम्रो बर्तमानलाई अवास्तविक बनाईरहेका हुन्छन् । हामीलाई वर्तमानबाट अलग गराईरहेका हुन्छन् । यसको अर्थ बिगतलाई डिलिट गर्ने भनेको होईन त्यो सम्भव पनि छैन तर हाम्रो पुर्णतया लगाव प्रत्येक पलहरु जुन घटित भईरहेका छन ती संग हुनुपर्दछ । बितेका कुराहरुले खुशी र दुखी हुनुमा कुनै अर्थ छैन तिनको कुनै अस्तित्व नै छैन । त्यसैगरी हामी भबिष्यप्रति पनि ब्यर्थमै चिन्ता गर्छौ । हाम्रो दिमागमा यति धेरै फिल्महरु बन्छन ती पनि सबै डरलाग्दा । फिल्ममा कसैको काल्पनिक कथा हुन्छ कुनै डरलाग्दो हुन्छ भने कुनै सुखद र रोमान्टिक । कम्तीमा हामीले हाम्रो दिमागमा हरर फिल्म बनाउन छोडौं । बनाउने नै हो भने पनि हरर हैन छोटो छोटो सुखद र रोमान्टिक मुभि बनाऔं । भबिष्य पनि हाम्रो कल्पना मात्रै हो यथार्थ हैन । त्यसैले आफै कल्पना गर्ने र आफैं डराउने नगरौं त्यसले हाम्रो बर्तमानलाई नमिठो बनाईरहेको हुन्छ । हाम्रो रोगप्रतिरोधी क्षमता पनि घटाईरहेको हुन्छ ।

बर्तमान नै वास्तविक जीवन हो
अहिलेको समयमा हामी मानसिक र शारिरीक रुपमा सन्तुलित भईरहनु चुनौतीपुर्ण छ । कसैलाई अत्यावश्यक बस्तुहरुको अभावले पिरोलेको छ त कसैलाई ती चिजहरु भएर पनि बाहिर निस्कन नपाउदा समस्या भएको छ । अहिले धेरै जसोले आ आफ्नो कला प्रस्तुत गरिरहेका छन् । सामाजिक सन्जालहरुमा ती कलाहरु प्रसस्तै भेटिएका छन् । पेन्टिङ र डान्सले बढी स्थान पाएका छन् । धेरैजनाले लेख्न फुर्सद पाएका छन् । कसैले दर्जनौ महत्वपुर्ण किताबहरु पढेर सिध्याएका छन् । संगैभएकाहरु घरपरिवारसंग रमाएका तथा टाढा बस्नेहरु ले पनि भर्चुअल भेटघाट बढाएका छन् । जन्मदिन मनाउनेहरु पनि फरक शैलीमा मनाईरहेका छन् । खाना पकाउन नजान्नेहरु पकाउन जान्ने भएका छन् । आफ्नो आगन बारी सरसफाई गरेर चिटिक्क पारेका छन् । खाएर मात्रै हात धुने बानी परेकाहरु दिनमा बीसौं चोटी हात धोएर बसेका छन् । र आध्यात्मिक चेत भएकाहरुले सबैभन्दा बढी यो समयको आनन्द लिईरहेका छन् ।

शारिरीक तथा मानसिक स्वास्थ्य
अहिलेको समयमा शरीर लाई सक्रिय बनाईरहन चुनौती छ । केही काम पनि छैन र दिनभरी नै मोबाईल तथा ल्यापटप मा समय बितिरहेको छ । खाने समय र सुत्ने समय पुर्ण रुपमा परिवर्तन भएको छ । खाने तरिका र सुत्ने तरिका तथा समय फेरिएको छ । जसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ र प्रतिरक्षा प्रणाली झन कमजोर हुन सक्छ । मानसिक रुपमा पनि अहिलेको समय निकै तनावपुर्ण छ । दिनभरी त्यही कोरोना बाहेक हाम्रो दिमागमा केही छैन । अनलाईन, मोबाईल तथा फोनमा कुरा गर्दा त्यही त्रासदीको ब्याख्या भईरहेको छ । अमेरिका जस्तो देशले हल गर्न नसकेको समस्या हाम्रो देशमा कति बिकराल होला भनेर मान्छेहरु मानसिक रुपमा कमजोर भएका छन् । दिनभरीका समाचार तथा अनलाईन बाट प्राप्त जानकारीहरुले साझ हुदासम्म दिमाग खराब भईसकेको हुन्छ । अत्यावश्यक चिज लिन जादा पनि संगै आईपोहाल्योकी भनेर तनाव छ । सुरक्षित रहेर काम गरौं र अनावश्यक रुपमा चिन्तित बनेर कोरोनासंग लड्ने क्षमता नघटाऔं । आफ्नो सृजनालाई बिस्तार गरौं र यो समयलाई पुर्ण सदुपयोग गरौं ।

अर्थतन्त्रको भबिष्य
आयात र बिप्रेशणमा आधारित नेपाली अर्थतन्त्रमा दीर्घकालिन असरहरु निकै गहिरो रुपमा पर्ने देखिन्छ । पर्यटन ब्यवसायले पनि पुरानै लयमा आईपुग्न निकै समय लाग्ने छ, तर सरकारी नीति आगामी दिनमा कसरी आउछ त्यसले बेरोजगारीका समस्या र आन्तरिक उत्पादनमा बृद्दी कसरी बढाउने भन्ने कुराको मार्गनिर्देशन गर्नेछ । बैंकिङ क्षेत्रको कर्जा लगानी बिस्तार रोकिदा चौतर्फी रुपमा असर गर्नेछ । तर कृषि उत्पादनमा जोड दिन सके भुक्तानी सन्तुलन सकारात्मक दिशामा जान सक्छ । जे जति राहत कार्र्यक्रमहरु आउछन् सबै आन्तरिक उत्पादनलाई बढावा दिने खालका आउन सके आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि राम्रो सुरुवात पनि हुन सक्छ ।

 

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]