July 8th, 2016

साढे २४ हजारको खातामा अनुदानको पहिलो किस्ता

moneyअनुदान पाउने सूचीमा परेका भुकम्पपीडितमध्ये हालसम्म २४ हजार ४ सय २८ जना भूकम्पपीडितको बैङ्क खातामा पहिलो चरणको ५० हजार रुपैयाँ अनुदान रकम जम्मा भएको छ । हालसम्म ७ भुकम्प अतिप्रभावित ७ जिल्लाका घरधनीले मात्रै सो अनुदान पाएका हुन् । 

काभ्रेपलाञ्चोक, सिन्धुली, नुवाकोट र मकवानपुरका कुनै पनि पीडितले हालसम्म पहिलो किस्ताको रकम प्राप्त गर्न नसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले पीडितलाई बैङ्क खातामार्फत रकम उपलब्ध गराउन ५९ वटा बैङ्कसँग छुट्टाछुट्टै सम्झौता गरिसकेको छ । तर, ती जिल्लामा बैङ्कको पहुँच सहज नभएका कारण अझै पीडितको खातामा रकम जम्मा हुन सकेको छैन । 

प्राधिकरणले प्रभावित जिल्लामा रहेका सबै बैङ्क तथा वित्तीय संस्थालाई सबै गाविस र नगरपालिका समेट्ने गरी क्षेत्र निर्धारणसमेत गरेर केन्द्रमा आएको विवरण उपलब्ध गराई पीडितको भौतिक उपस्थितिबिना नै खाता खोल्ने व्यवस्था मिलाएको छ । 

पीडितको अनुदान सम्झौतापत्रमा भएको विवरण र जिल्लामा उपलब्ध गराएको विवरण रुजु गर्दा नाम नामेसीलगायत अन्य सामान्य त्रुटि भेटिएमा पनि सम्झौतापत्रलाई नै आधिकारिक मानेर रकम उपलब्ध गराउने निर्णय प्राधिकरणले गरेको छ । यस्तो व्यवस्थाबाट पीडितको गुनासो स्थानीय तहमा नै 
सम्बोधन हुने विश्वास प्राधिकरणको रहेको छ ।  

प्राधिकरणका अनुसार भूकम्पका कारण अतिप्रभावित उपत्यकाबाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण सम्पन्न गरी अनुदान पाउने सूचीमा परेका ५ लाख ३३ हजार ४ सय ५४ घरधनी छन् ।