July 6th, 2016

 नेपाल बैंक र सेन्ट्रल बैंक अफ ईण्डियाबीच रेमिट सम्झौता

nepal bankनेपाल बैंक लिमिटेड र भारतको सेन्ट्रल बैंक अफ ईण्डियाबीच मुम्बईमा रेमिट्यान्स  भुक्तानी सम्झौता भएको छ । सो सम्झौतापछि भारतमा विभिन्न रोजगारी तथा व्यवसाय गरी रहेका नेपालीहरुले उक्त सेन्ट्रल बैंक अफ ईण्डियाको कुनै पनि शाखाबाट पठाएको रकम मूलुकभर रहेका नेपाल बैंक लिमिटेडको कुनै पनि शाखाबाट सजिलै भुक्तानी लिन सक्ने भएका छन् । सेन्ट्रल बैंक अफ ईण्डियाबाट पठाएको रकम नेपाल बैंकको एनबीएल रेमिटमार्फत Cash to Cash, Account to Account अथवा Cash to Account सुविधाबाट भुक्तानी लिन सक्नेछन् ।  

अहिले मूलुकभर नेपाल बैंक लिमिटेडको १२६ वटा शाखा सञ्चालनमा छन् । करीव चार हजार पाँच सय शाखा रहेको भारतको सेन्ट्रल बैंक अफ ईण्डियासंगको रेमिट्यान्स सेवा सम्झौतापछि भारतमा रहेका नेपालीहरुलाई स्वदेश आगमनमा रकम बोक्नु पर्ने झन्झटबाट मुक्ति पाउनुका साथै बाटोमा हुन सक्ने चोरी ठगीबाट समेत सुरक्षित हुने अपेक्षा गरिएको छ ।  

नेपाल बैंकले यस अघि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय रेमिट्यान्स कम्पनीहरुसंगको साझेदारीमा  युरोप, खाडी मूलुक तथा अन्य राष्ट्रबाट “एनबिएल रेमिट' तथा अन्य माध्यमबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । यसैगरी यस बैंकले वेष्टर्न युनियन, हिमाल रेमिट, प्रभु मनी ट्रान्सफर, आईएमई, मनीग्राम, सिटी एक्सप्रेस लगायतका रेमिट्यान्स कम्पनीसंगको सहकार्यमा विदेशबाट पठाएको रकम भुक्तानी गर्दै आएको छ ।