Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कोरोनाको सबैभन्दा धेरै प्रभाव भोग्ने पाँच अफ्रिकी अर्थतन्त्र

२०७६ चैत्र १९ गते

बैंकिङ खबर । कोरोनाको संक्रमण अफ्रिाकामा सबैभन्दा पछि फैलियो । अफ्रिकी देशहरुमा संक्रमण फैलिने क्रममा छ, जसकारण ठूलो आर्थिक समस्या झेल्नुपर्ने अवस्था आउँदैछ । एंगोला, नाइजेरिया लगायत केही देशहरुको अर्थतन्त्रमा प्रभाव देखि थालिसकेको छ ।
अफ्रिकी देशहरुको मूख्य आम्दानीको स्रोत भनेको खनिज तेल हो । केही समयदेखि नै अफ्रिकी मुलुकहरुमा तेलसम्बन्धी द्धन्द्ध चलिरहेको छ । त्यसमाथि कोरोनाको संक्रमणका कारण विश्वभर तेलको आपूर्ति कम भएपछि तेलेको मूल्यमा गिरावट आउन थालेको छ । जसकारण, अफ्रिकाको मूख्य आम्दानीको स्रोतमा नै धक्का लागेको छ ।
अफ्रिकी मुुलुकहरुमध्ये, यी पाँच देशको अर्थतन्त्र कोरोना महामारीबाट धेरै प्रभावित हुने देखिन्छः

दक्षिण अफ्रिका
दक्षिण अफ्रिकामा छिटै आर्थिक संकट आइपर्ने विश्लेष गरिएको छ । यस वर्ष व्यवसायीहरुको आत्मविश्वास विगत ३० वर्षयताकै सबैभन्दा कम भएको बताइन्छ । निजी क्षेत्रहरुले लगानी गर्न मानिरहेका छैनन् । जसकारण ग्रस फिक्स्ड क्यापिटल इन्भेष्टमेन्ट १० प्रतिशतले घटिसकेको छ । यसले गर्दा दक्षिण अफ्रिकाको मुद्रा अवमूल्यन भएर चार वर्ष यताकै कम भएको छ । यहाँको उर्जा र रसायनिक कम्पनीहरुको बजार खस्किएको छ । यहाँको प्रायः व्यापार व्यवसाय अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित भएकाले कोरोनाको संक्रमणबाट अर्थतन्त्रमा ठूलो जोखिम हुने अनुमान जोकोहीले लगाउन सक्छ ।

एङ्गोला
एङ्गोला खनिज तेल उत्पादनमा निर्भर देश हो । यहाँको निर्यात व्यापारको ९० प्रतिशत हिस्सा खनिज तेलले ओगटेको छ । देशको बजेटमा ७५ देखि ८० प्रतिशत योगदान यस क्षेत्रको रहेको छ । तर, कोरोना महामारीका कारण तेलको आपूर्ति र मूल्यमा समेत कमी आएका कारण यहाँको अर्थतन्त्र प्रभावित भइरहेको छ । यद्यपि, विदेशी विनिमय संचिति घट्न नदिन तेलको उत्पादन गर्न भने छोडिएको छैन । देशमा राजश्वको अन्य स्रोत नभएका कारण तेलको अन्तर्राष्ट्रिय बजार मूल्य घट्दा वा अन्य देशमा भएको लक डाउनका कारण आपूर्ति कम हुँदा आफ्नो देशमा कोरोना संक्रमण नफैलिँदा पनि एंगोलाको अर्थतन्त्रमा प्रभाव देखिन थालेको छ ।

इथियोपिया
तेलको खस्किँदो मूल्यको प्रभाव निर्यातकर्तामा मात्र नभएर आयातकर्तामा पनि परेको छ । तेलको व्यापारमा सहकार्य गरि अर्थतन्त्र चलाइरहेको इथियोपियालाई पनि यस महामारीको समयमा अर्थतन्त्र बचाउन कठिन हुने देखिन्छ । इथियोपियाको सबैभन्दा ठूलो ट्रेड पार्टनर चीन रहेको छ । यद्यपि, अहिले चीन लगायत एसियन देशहरुको व्यापार व्यवसाय ठप्प भइसकेको अवस्था छ । एसियाली मुलुकहरुको व्यापार व्यवसाय सुचारु भई सामान्य अवस्थामा नफर्किएसम्म इथियोपियाको वैदेशिक व्यापार खस्किन गई अर्थतन्त्र प्रभावित हुने देखिन्छ । त्यसमाथि, देशमा कोरोनाको संक्रमण फैलिएसँगै स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने खर्चको भार थपिन्छ र अर्थतन्त्र झन् जोखिममा पर्न जान्छ ।

नाइजेरिया
२०१६ को संकटबाट भर्खरै उत्रिएको नाइजेरियामा फेरि अर्को संकट देखिन लागेको छ । नाइजेरियाको अर्थतन्त्र र विदेशी विनियमय तेलमै निर्भर छ । तेलको मूल्यमा आएको गिरावटले नाइजेरियाको वाह्य ऋण बढ्नुका साथै मुद्रा अवमूल्यन हुन देखिएको छ । कोरोनाको प्रभाव बढ्न दिएन भने नाइजेरियाको फोकस तेलको समस्यामै केन्द्रित हुन सक्छ र अर्थतन्त्रमा समस्या कम हुन्छ । तर, कोरोनाको संक्रमण फैलिँदै गयो भने आर्थिक संकट बढ्न जान्छ ।

तुनिसिया
तुनिसियाको अर्थतन्त्रमा पर्यटनको ठूलो योगदान छ । चालू वर्षमा पर्यटनलाई प्रवद्र्धन गर्ने योजना बनाएको यस देशको अर्थतन्त्रमा कोरोनाका कारण प्रभाव पर्ने निश्चित छ । कोरोनाका कारण होलिडे बुकिङहरु रद्द भएका छन् । सबै देशका मानिसहरु होम क्यारेन्टाइनमा भएका कारण यस देशको वाह्य पर्यटन प्रभावित भइसकेको छ भने आन्तरिक पर्यटनको सम्भावना पनि छैन । पर्यटन देशको दोस्रो ठूलो रोजगारदाता हो भने विदेशी मुद्रा आर्जनको मूख्य स्रोत हो । यसै क्षेत्रमा प्रभाव परेपछि बेरोजगारी बढेको छ भने विदेशी मुद्रा संचिति घटेको छ । कोरोना भाइरसका कारण यस देशको आर्थिक वृद्धिदर १ प्रतिशतमा झरेको छ । आगामी दिनमा असर झन् बढ्ने देखिन्छ ।
अन्य देशमा भएको संक्रमणकै कारण प्रभावित यी अर्थतन्त्रहरु आफ्नै देशमा संक्रमण बढेपछि झन् अप्ठेरोमा अवस्था आउने देखिन्छ ।