March 27th, 2020

कोरोनाबाट पर्ने आर्थिक क्षतिमा सघाउन अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई अर्थमन्त्रीको आग्रह

महामारीले अर्थतन्त्रमा दीर्घकालीन असर पार्नेछ, यसको क्षतिपूर्तिका लागि नेपालजस्ता कम क्षमता भएका मुलुकलाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस संक्रमणको त्रासबाट अर्थतन्त्रमा पुग्ने क्षतिमा सघाउन अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई आग्रह गरेका छन् । कोरोना महामारीको असरबाट पुग्ने क्षतिलाई पूर्ति गर्न नेपालजस्ता कम क्षमता र स्रोत भएका मुलुकका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको विशेष सहयोग आवश्यक पर्ने अर्थमन्त्र्रीले बताएका हुन् । 

दक्षिण एसियाली राष्ट्रहरूका अर्थमन्त्री, अन्य सरकारी अधिकारी, अन्तर्राष्ट्रिय  मुद्रा कोष, विश्व बैंकलगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीबीच कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असरसम्बन्धी भएको छलफलमा अर्थमन्त्री खतिवडाले सहयोगको आवश्यकता औँल्याएका हुन् । भिडियो कन्फरेन्समार्फत भएको छलफलमा उनले अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहयोग तथा क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र उपयोग गर्नुपर्ने बताएका हुन् ।

छलफलमा अर्थमन्त्री खतिवडाले कोरोना भाइरस महामारीबाट पर्यटन, निर्माण र रोजगारीको क्षेत्रमा तत्काल असर पारेको तथा अर्थतन्त्रमा दीर्घकालमा नकारात्मक असर पार्न सक्ने धारणा राखे । यस रोगले सबै वर्ग र तप्कालाई कुनै न कुनै रूपमा प्रभाव पारेकाले स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको समेत उनले बताए । ‘राज्यको क्षमता सीमित हुँदा क्षति पुगेका वास्तविक वर्ग र क्षेत्रलाई तत्काल र ठूलो सहयोग उपलब्ध गराउने विषय चुनौतीपूर्ण रहेको छ,’ उनले भने, ‘त्यसैले कोरोना प्रभावबाट भएको क्षतिपूर्ति गर्न नेपालजस्ता कम क्षमता र स्रोत भएका मुलुकहरूका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले विशेष सहयोग गर्नुपर्छ, क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र पनि उपयोग गर्नुपर्छ ।’ अर्थमन्त्रीले खतिवडाले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले नेपालमा परेको असर र नेपाल सरकारले रोकथाम र नियन्त्रणका लागि हालसम्म गरेको प्रयासबारे पनि जानकारी गराएका थिए ।

सार्क सहकार्यलाई अघि बढाऔँ  

अर्थमन्त्री खतिवडाले दक्षिण एसियाली मुलुकहरूको साझा संगठन सार्कलाई पुनर्जीवन दिँदै महामारी नियन्त्रण तथा क्षति न्यूनीकरणमा सहकार्य तथा सहयोग बढाउनुपर्ने धारणासमेत राखेका छन् । ‘सार्कलाई पुनर्जीवन दिँदै सार्कको संस्थागत संरचनाको पूर्ण उपयोग गर्ने, एक–आपसका व्यापार आपूर्ति प्रणालीलाई निरन्तरता दिने काम गर्न आवशयक छ,’ उनले भने, ‘आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एक–अर्कालाई सहयोग, साथ र आडभरोसासमेत दिनुपर्छ ।’ 

सहयोग, समन्वयका लागि छलफल

भिडियो कन्फरेन्समा सहभागीहरूले कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्री व्यवस्थापनका विषयमा छलफल गरेका थिए । त्यस्तै, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरू र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीतिबीच गर्न सकिने समन्वय,  अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले गर्न सक्ने सहयोगबारे सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए । 

को–को थिए छलफलमा 

छलफलमा अन्तर्राष्ट्रीय मुद्राकोषका डाइरेक्टर च्यान्योङ री, विश्व बैंकका भाइस प्रेसिडेन्ट हार्टवग सेफर, अन्तर्राष्ट्रिय वित्त निगमका भाइस प्रेसिडेन्ट नेना स्टोजोभिक, बहुपक्षीय लगानी प्रत्याभूत संस्थाका भाइस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ अफिसर एस. विजय आइयरका अतिरिक्त दक्षिण एसियाका राष्ट्रहरूका एक्जुकेटिभ डाइरेक्टरहरू तथा एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीको समेत सहभागिता थियो । सो छलफलमा नेपालका तर्फबाट अर्थमन्त्री खतिवडासँगै अर्थसचिव शिशिरकुमार ढुंगाना, राजस्वसचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटी, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल तथा नेपालस्थित विश्व बैंकका कन्ट्री म्यानेजरको समेत उपस्थिति थियो । 

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।