हिमालयन बैंक लिमिटेड तथा ट्रयाङ्ग्लो सिन्डरिन बर्हाड, मलेसिया बीच रेमिट्यान्स सेवासम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब.रा. तथा ट्रयाङ्ग्लोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सिया हुई योंगले एक समारोहकाबीच सोमबार हस्ताक्षर गरे ।
हिमालयन बैंक लि. तथा ट्रयाङ्ग्लो बीचको यस सम्झौतावाट विदेशमा कार्यरत करीब २२ लाख नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउनेछन् । ट्रयाङ्ग्लोको माध्यमवाट नेपाल आउने विप्रेषण बैंकको ४२ वटै शाखा तथा साढे ७ हजारभन्दा बढी हिमालरेमिट काउन्टरवाट तत्कालै भुक्तानी लिन सकिनेछ ।
हिमाल रेमिट हिमालयन बैंकको आफ्नै अनलाईन रेमिट्यान्स सेवा हो । बैंकको रेमिट्यान्स सेवाको लागि विश्वभरी ९० भन्दा बढी अन्तर्राष्ट्रिय व्यवसायिक साझेदाहरु रहेका छन् ।
मलेसियाको कुआलालम्पुरमा प्रधान कार्यालय रहेको ट्रयाङ्ग्लोको इन्डोनोसिया, मध्यपूर्व तथा संयुक्त अधिराज्यमा रहेका अन्तर्राष्ट्रिय शाखा कार्यालयले विश्वका करीब ८० देशहरुमा सहज, सुलभ र सुरक्षित विप्रेषण तथा प्रिपेड कार्ड सेवा प्रदान गरिरहेका छन् । मलेसियन सरकारको स्वामित्व र “Ekuinas” को लागानी रहेको ट्रयाङ्ग्लोको एशियामा फिलिपिन्स, बाङ्गलादेश, भारत, चीन, श्रीलंका लगायतका दशवटा देशहरुमा रेमिट्यान्स भुक्तानी केन्द्रहरु समेत संचालनमा छन् ।