March 23rd, 2020

बैंकबाट आबश्यकता भन्दा धेरै रकम नझिकौं, वित्तीय सन्तुलन कायम गरौं

अपेक्षा ढुंगाना, कोरोना भाइरसको त्रास संसारभर फैलिरहेको छ । फलस्वरुप सबैजसो बैंकमा ग्राहकहरु पैसा झिक्न जानेको लामै लर्को छ । एटीएमबाट रकम झिक्नेको संख्या पनि बढेको छ । बैंकमा भएको रकम झिकिहाल्ने प्रबृति राम्रो होइन । अहिलेको समय भनेको हरेक व्यक्तिले संयमता अपनाउनुपर्ने समय हो । आफूलाई आबश्यकता भन्दा धेरै पैसा निकाल्ने, आफूलाई आबश्यकता भन्दा धेरै सामानको जोहो गर्ने, आफूलाई आबश्यकता भन्दा धेरै ग्यासको भण्डारण गर्ने यो अत्तासिने मनसाय एवं वित्तीय अबस्थालाई खल्बलाउने तरीका हो । आफूलाई आबश्यकता भन्दा धेरै पैसा निकाल्दा बजारमा पैसाको अभाव हुन पुग्छ । आफूलाई आबश्यकता भन्दा धेरै सामान खरीद गर्नुले बजारमा सामानको अभाव सिर्जना हुन्छ । यस कारण मितव्ययीता अपनाउँदै समाजलाई नियमित र सरल तरीकाबाट संचालन गर्नका लागि वित्तीय सन्तुलन हुनु जरुरी छ । वित्तीय सन्तुलनका लागि हरेक व्यक्तिले यसका मापदण्ड अपनाएर सहजीकरण गर्नु नै उपयुक्त हुन आउँछ ।

कोरोना भाइरसका कारण सरकारले उपत्यकालाई लक डाउन गर्न सक्ने र बैंकहरु बन्द हुन सक्ने शंकाले घरमै पैसा जोहो गरेर राख्नका लागि रकम झिक्न जानेहरु बढेका छन् । हाल बैंकको काम निक्षेप राख्न आउनेहरुको पैसा राखिदिने र चेक बोकेर आउनेलाई पैसा दिनेमै सिमित बनेको छ । बैंकहरुले कर्जा प्रवाहको रणनीति पनि बनाउन सकिरहेका छैनन्, पछिल्ला दिनमा बैंकहरुको कर्जा लगानी ठप्प नै छन् । कोरोनाको प्रभाव यतिमै सिमित रहन सकेन, विश्व अर्थतन्त्रलाई नै यसले असर पारेको छ । अन्य कारोबारमा मन्दी छ । व्यापार व्यबसाय तथा उद्यमशीलता सुस्ताएको छ । यो नेपालमा मात्रै होइन शक्तिशाली देशहरुमा झन् कोरोनाको सन्त्रास छ । जहाँ मान्छेहरु मर्ने र विरामीको संख्या बढ्ने कार्य भइरहेको छ । एसियाली डेभलपमेन्ट बैंक एडीबीको प्रारम्भिक तथ्यांकलाई हेर्ने हो भने कोरोनाकै कारण विश्व अर्थतन्त्रमा ३ खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति हुनसक्ने आकलन गरिएको छ ।

यस्तो अवस्थालाई मध्यनजर गर्दै अब खर्चमा मितव्ययीता अपनाउनुपर्ने आवश्यक्ता देखिएको छ । आवश्यक्ता भन्दा धैरै रकम नझिक्ने, कति बचत गर्ने, कति खर्च गर्ने, कति सम्म ऋण लिने, कहाँ बचत गर्ने, कहाँ खर्च गर्ने, कुन ठाँउमा कति खर्च गर्नु उपयुक्त हुन्छ ? कति बचतले भविष्यमा भइपरी आउने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ भन्ने सम्पूर्ण कुराको कुशल रणनिति बनाइ अघि बढ्न सके देशको अर्थतन्त्रमा केहि हदसम्म भएपनि सकारात्मक सुधार आउने अपेक्षा गर्न सकिन्छ । यस्तो गर्न सके वित्तीय संस्थाको छवि र त्रासमा सुधार ल्याउँछ, ग्राहकको वफादारीता बढाउँछ, आवश्यक्तामा मात्र पैसा निकाली अर्थतन्त्रमा थोरै भएपनि सुधार गर्नमा सबैको संलग्नता र प्रतिबद्धता हुन्छ । वर्तमान समयमा प्रविधि क्षेत्रमा समेत विकास बढ्दै गएको छ । यसको प्रयोगकर्ता समेत बढ्दै छन् । बैंकमा लामो भिड नगरौ, विद्युतीय तथा अनलाइन सेवाहरूको  प्रयोग गरौ । आवश्यक्तमा मात्र खर्च गरौ वित्तीय समस्या सिर्जना नगरौं । असहज परिस्थितिलाई सबै मिलेर सामना गर्नुपर्दछ । यस्तो बेला हरेकले संयमता र वित्तीय सन्तुलन तथा मितव्ययीता अपनाउने हो भने समाजमा अभाव र समस्या धेरै हल भएर जाने छ ।