Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

वित्तीय संस्थाका कर्मचारीले पालना गर्नैपर्ने आठ आचरण

२०७६ चैत्र ३ गते

बैंकिङ खबर । हरेक पेशा तथा व्यवसायमा कर्मचारीहरुले निश्चित आचरणको पालना गर्नुपर्ने हुन्छ । आफ्नो पदलाई मर्यादित बनाउन अनुशासनमा बस्नुपर्छ । बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुमा यस्तो आचरण र अनुशासन बढी आवश्यक हुन्छ, किनकि उनीहरुको एउटा गल्तीले समग्र संस्था नै प्रभावित हुन पुग्छ । सर्वसाधारणको पैसा र सम्पत्तिको सुरक्षाको जिम्मा लिएका वित्तीय संस्थाहरु यस विषयमा बढी नै संयमित हुनुपर्छ । अन्यथा, सर्वसाधारणको विश्वास गुम्न गई उक्त संस्थाको छविमा दीर्घकालीन असर पर्न जान्छ ।

राष्ट्र बैंकद्धारा जारी कर्मचारी सेवा विनियमावली २०७६ को परिच्छेद – ८ मा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पालना गर्नुपर्ने आचरण र अनुशासन सम्बन्धी ब्यबस्था रहेको छ ।

समय पालन र नियमितता
(१) कर्मचारीको सबै समय बैंक तथा वित्तीय संस्थाको अधीनमा हुनेछ र कार्यालय प्रमुखले जुनसुकै समयमा पनि निजलाई बैंक तथा वित्तीय संस्थाको काममा लगाउन सक्नेछ ।
(२) कर्मचारीले बैंक तथा वित्तीय संस्थाबाट निर्धारित समयमा नियमित रुपले आफ्नो कार्यालयमा हाजिर भई कामकाज गर्नु पर्नेछ र सम्भव भएसम्म विदाको पूर्व स्वीकृति नलिई कार्यालयमा अनुपस्थित हुनुहुँदैन ।
(३) बैंक तथा वित्तीय संस्थाको कर्मचारीले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको पुर्ण रुपमा पालना गर्नु पर्नेछ ।
(४) कर्मचारीले आफुभन्दा माथिका सबै प्रति उचित आदर देखाउनु पर्नेछ र माथिल्लो पदका कर्मचारीले पनि तल्लो पदको कर्मचारीलाई न्यायपूर्ण तथा शिष्टतापूर्ण व्यवहार गर्नु पर्नेछ ।
(५) सबै कर्मचारीले यस विनियमावली तथा प्रचलित कानूनमा उल्लेख भएको कसुरजन्य कार्य वा खराव आचरण गर्नु हुँदैन ।

अनुशासन र आज्ञा पालन
(१) कर्मचारीले समय समयमा तोकिएको कार्य तोकिएको स्थान, समय र अवस्थामा अनुशासनमा रही आफ्नो कर्तव्यको पालना, परिश्रम र तत्परताका साथ सम्पादन गर्नु पर्नेछ ।
(२) कर्मचारीले आफ्नो काम सम्बन्धी विषयमा आफुभन्दा माथिको कर्मचारीले दिएकोआदेशलाई शीघ्रताका साथ सम्पादन गर्नु पर्नेछ ।
(३) कर्मचारीले बैंक तथा वित्तीय संस्थाको सम्पर्कमा आउने व्यक्तिसँग नम्रतापूर्ण तथा शिष्टतापूर्ण व्यवहार गर्नुपर्नेछ र व्यवहार, कार्य तथा छलफल गर्दा संयमित भई सदाचारपूर्वक तथा अनुशासित र सहयोगको भावले गर्नु पर्नेछ ।
(४) कर्मचारीले कार्यालय समयमा कार्यालय हाताभित्र मादक वा लागू पदार्थ सेवन गर्ने, द्दड गराउने, गर्न प्रोत्साहन गर्ने वा मादक वा लागु पदार्थ सेवन गर्न र कार्यालय हाताभित्र जुवा तास खेल्ने वा कार्यालय भित्र वा बाहिर त्यस्तै अन्य बाजी वा सट्टाबाजी सम्बन्धी कार्य गर्न पाईने छैन ।
(५) कर्मचारीले बैंक तथा वित्तीय संस्थाले जुनसुकै स्थानमा खटाएमा वा सरुवा गरेमा तोकिएको अवधिभित्र तत्परताका साथ जानुपर्नेछ र कुनै पनि कर्मचारीले पूर्व स्वीकृति वेगर आफ्नो काममा अनुपस्थित हुन पाउने छैन ।
(६) कर्मचारीले कार्य संचालनको निमित्त समय समयमा लागु गरिएका ऐन, नियम, विनियम, परिपत्र र व्यवस्था एवं नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाले दिएका आदेश निर्देशनको पूर्ण रुपमा पालना गर्नु पर्नेछ ।
(७) आफ्नो कार्य सम्पादन गर्दा बैंक तथा वित्तीय संस्थाको श्रोत, साधन तथा सम्पत्ति र यसका ग्राहकहरुलाई अत्यधिक सेवा र सुरक्षा प्रदान गर्ने हेतुले गर्नु पर्नेछ । तर, विरामीे वा काबुबाहिरको अवस्थाको कारण परी काममा उपस्थित हुन नसकेको अवस्थाका वारेमा बिदा स्वीकृत गर्ने अधिकारी बिश्वस्त भएमा अनुपस्थित अवधिको विदा स्वीकृत गर्न सक्नेछ ।

इमान्दारी
(१) कर्मचारीले आफ्नो जवाफदेहीता अन्तर्गतको कार्य सम्पादन गर्दा सदैव बैंक तथा वित्तीय संस्थाको भलो चिताई इमान्दारी तथा बफादारीका साथ गर्नु पर्नेछ ।

व्यापार व्यवसाय
(१) अख्तियार प्राप्त अधिकारीको पूर्व स्वीकृति विना कुनै पनि कर्मचारीले कुनै निकायमा वा अन्यत्र काम गर्न वा व्यापार, व्यवसाय गर्न वा फर्मको हिस्सेदार बन्न पाउने छैन ।
(२) अख्तियार प्राप्त अधिकारीको पूर्व स्वीकृति विना कुनै पनि कर्मचारीले कुनै बैंक, वित्तीय संस्था दर्ता गर्न वा स्थापना गर्न र कुनै सार्वजनिक निकाय, संस्था वा व्यक्तिबाट कुनै किसिमको दस्तुर लिन पाउने छैन ।
(३) उपविनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सेवामा रहेका कर्मचारीले साहित्यिक, कलात्मक, ऐतिहासिक वा वैज्ञानिक प्रकृतिकोकार्य गर्न सक्नेछ ।

गोपनियता
(१) प्रचलित कानून अनुसार दिनु पर्ने भएमा वा दिन वाध्य पारेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले बैंक तथा वित्तीेय संस्था र यसका व्यवसायसँग सम्बन्धित कागजात, जानकारी तथा सूचना अन्य व्यक्तिलाई दिन पाउने छैन ।
(२) कुनै कर्मचारीले ओहदाको कर्तव्य पालन गर्दा ज्ञात हुन आएको कुनै कुरा वा बैंक तथा वित्तीय संस्था वा अन्य माध्यमबाट प्राप्त गरेको वा आफुले लेखेको वा संकलित गरेको कुनै कागजपत्र वा समाचार असम्बन्धित व्यक्ति वा संस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले संकेत वा प्रकट गर्न पाउने छैन । तर, यस व्यवस्थाले सरोकारवाला निकायलाई प्रचलित कानून वा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सूचना वा जानकारी दिन वाधा पुर्याएको मानिने छैन ।
(३) उपविनियम (२) को व्यवस्था बैंक तथा वित्तीय संस्थाको सेवामा रहेको वा सेवामा नरहेको जुनसुकै अवस्थामा पनि लागु हुनेछ ।

राजनीति वा चुनावमा भाग
(१) कर्मचारीले राजनीतिक दलको सदस्य वन्न वा राजनैतिक पदको लागि हुने निर्वाचनमा उम्मेदवार हुन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारले प्रभाव पार्न हुँदैन । तर, प्रचलित कानून बमोजिम आफुले पाएको संगठन दर्ता गर्न तथा मतदान गर्ने अधिकार प्रयोग गर्न तथा पेशागत संगठन (जस्तै नेपाल वार एसोशियन, नेपाल मेडिकल एसोशियन, नेपाल चार्टर्ड एकाउण्टेण्ट सस्था, नेपाल व्यवस्थापन संघ, नेपाल प्राध्यापक संघ आदि) मा प्रतिनिधित्व गर्न यस विनियमले बाधा पु–याएको मानिने छैन ।

प्रतिनिधित्व गर्नमा प्रतिबन्ध
(१) कर्मचारीले आफुलाई मर्का परेको विषयमा प्रचलित कानून बमोजिम आफै वा वारिस मार्फत सम्बन्धित निकाय वा पदाधिकारी समक्ष निवेदन दिन वाहेक अन्य कर्मचारी वा समुहको प्रतिनिधित्व गर्न पाउने छैन । तर प्रचलित कानून बमोजिम दर्ता भएको कर्मचारी युनियनको तर्फबाट प्रतिनिधित्व गर्दा यस विनियमले वाधा पुर्याएको मानिने छैन ।

प्रदर्शन र हडताल गर्नमा प्रतिबन्ध
(१) प्रचलित कानून बमोजिम आप्mनो हक अधिकारको प्रयोग गर्ने वाहेक कर्मचारीले देशको सार्वभौमसत्ता, अखण्डता, शान्ति सुरक्षा, वैदेशिक सम्बन्ध, सार्वजनिक मर्यादा, अदालतको निर्णयको अवहेलना र कुनै अपराधलाई प्रश्रय हुने गरी प्रदर्शन गर्न, हडतालमा भाग लिन वा सो कार्य गर्न वा सोको लागि अरुलाई उक्साउन समेत पाउने छैन ।

कर्मचारीले माथि उल्लिखत लेखिएको कुनै कुरा उल्लंघन गरेमा निज उपर कारबाही गरिने विनियमावलीमा उल्लेख छ । विनियमावलीको परिच्छेद ९ मा कारबाहीसम्बन्धी व्यवस्था छ ।