बैंकिङ खबर । कोरोनाको संक्रमणका कारण विश्व अर्थतन्त्र नै प्रभावित बनिरहेको छ । यो साता विभिन्न देशहरुको शेयर बजारमा गिरावट आएको, धनाढ्यहरुको सम्पत्ति घटेको लगायतका खबरहरु आए । त्यस्तै, वित्तीय क्षेत्रमा पनि यो साता नयाँ नीतिको कार्यान्वयन, मर्जर, ठगी लगायत थुप्रै घटना एवम् गतिविधिहरु भएका छन्ः
संसादमा बीमा विधेयकको नयाँ मस्यौदा
अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा सम्बन्धि विधेयक आफू अनुकुल बनाउन चाहेको देखिएको छ । बीमा सम्बन्धि संसदमा पेश गरिएको नयाँ मस्यौदाले बीमा समितिको स्वायततामाथि प्रस्न उठाएको छ । बीमा समितिले कर्मचारीको सेवा सुविधा, विनियम तथा संरचनाका कुरामा आफै निर्णय गर्न पाउँछ । तर नयाँ मस्यौदामा अर्थमन्त्रालयको स्वीकृति बिना यी कामहरु गर्न नपाइने उल्लेख छ । यो विधेयक मस्यौदामा बीमा क्षेत्रका विज्ञहरुले भने असहमति जनाउँदै आएका छन् । हाल बीमा विधेयक संसदमा छलफलमा प्रस्तुत गरिएको छ । सो विधेयकमाथि अर्थमन्त्री डा. खतिवडाले बीमा समितिको स्वयत्तता अर्थमन्त्रालयमा तान्न खोजेको देखिन्छ । विधेयकमा हालको बीमा समितिलाई नेपाल बीमा प्राधिकरण बबनाउने प्रस्ताव छ । नयाँ प्राधिकरणको रुपमा लैजाँदा अर्थमन्त्रीले हालको संचालक समिति र अध्यक्ष नै परिवर्तन गर्नेगरी विधेयकमा आफ्ना कुरा थप गरेर पेश गरेका छन् ।
कर्जा सम्बन्धी नयाँ व्यवस्था
नेपाल राष्ट्र बैंकले घरजग्गा वा सामान्य करका लागि बैंकबाट लिइने कर्जा व्यवस्थामा गरिएको परिमार्जनको कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ । नयाँ निर्देशनअनुसार, ५० लाखसम्मको ऋण प्रदान गर्दा वा नवीकरण गर्दा पछिल्लो कर चुक्ता प्रमाणपत्र वा अद्यावधिक कर दाखिला प्रमाणपमत्र आवश्यक पर्दैन । त्यस्तै, ५० लाखदेखि दुई करोडसम्मको कृषि, पर्यटन तथा साना र मझौला उद्योग सञ्चालनका लागि पनि कर चुक्ता प्रमाणपत्र चाहिँदैन ।दुई करोडभन्दा माथिको ठूलो कर्जाको हकमा भने ऋणीसँग अनिवार्य रुपमा पछिल्लो ऋण चुक्ता प्रमाणपत्र हुनुपर्छ । त्यस्तै, नवीकरण गर्न पनि कर चुक्ता प्रमाणपत्र अनिवार्य चाहिन्छ । त्यस्तै, धितो मूल्यांकनको सीमा पनि बढाइएको छ । यसअघि काठमाडौं उपत्यकाभित्र धितोको मूल्यांकनको ४० प्रतिशत र काठमाडौं बाहिर धितो मूल्यांकनको ५० प्रतिशत ऋण दिन सक्ने व्यवस्थामा परिमार्जन गरि उपत्यकाभित्रको धितो मूल्यांकनको ५० प्रतिशत र उपत्यकाबाहिरको धितो मूल्यांकनको ६० प्रतिशतसम्म ऋण पाउने व्यबस्था गरिएको छ ।
नेरुडे लघुवित्तका कर्मचारीद्धारा डेढ करोड हिनामिना
नेरुडे लघुवित्तका कर्मचारीले नक्कली ऋणी तयार गरी डेढ करोड हिनामिना गरेका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित शाखा कार्यालयका कर्मचारीले एक करोड ६१ लाख ७६ हजार रुपैयाँ रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ बस्ने ३१ वर्षीय दीपककुमार कर्ण रहेका छन् ।
पक्राउ परेका दुवैजनाले नक्कली ऋणी बनाएर झुटा विवरण तयार पारी कर्जा लगानी देखाई र सदस्यबाट मासिक साँवा किस्ता र ब्याज रकमसमेत असुली उठाई बैंकमा जम्मा नगरी एक करोड ६१ लाख ७६ हजार आठ सय ६० हिनामिना गरेको देखिएको छ । यसका अलावा त्यत्रो ठूलो रकम हिनामिनामा ती दुईजनाको मात्रै हात नरहेको आशङ्का गर्दै वित्तीय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि उच्च निगरानी राखिएको छ ।
कैलाश विकास बैंकको विलय
कैलाश विकास बैंक विहीबारदेखि प्राइम कमर्सियल बैंकमा विलय भएको छ । कैलाशलाई गाभेपछि प्राइम कमर्सियल बैंकको नामबाट कारोबार सुरु भएको छ । प्राप्तिसम्बन्धी प्रस्ताव दुई बैंकको पुस २५ गतेको छुटाछुटै साधारणसभाबाट पारित भएको थियो । नेपाल राष्ट्र बैंकले फागुन १८ गते प्राप्तिको लागि अन्तिम स्वीकृती दिएको थियो ।
माछापूच्छ्रे बैंकको कामु सीईओमा सन्तोष कोइराला
माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालाई संचालक समितिले हटाएको छ । चार बर्षका लागि नियुक्त गरिएका शर्मा दुईबर्ष पनि पुरा नहुँदै बाहिरिएका छन् । उनी फागुन मसान्तबाटै औपचारिक रूपमा बाहिरिएका छन् । बैंकले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नायव प्रमुख कार्यकारी सन्तोष कोइरालालाई दिएको छ । उनले माछापुच्छ्रे बैंकमा ७ वर्ष विताइसकेका छन् । कोइरालाले यसअघि बैंक अफ काठमाण्डूबाट करियर सुरु गरी सानिमा बैंकमा समेत लामोसमय काम गरिसकेका छन् । उनीसँग २१ वर्षको बैंकिङ अनुभव छ ।
५० प्रतिशत रेमिट्यान्स भित्रिने मुलुकमा नेपाली कामदारलाई रोक
विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा करिब ५० प्रतिशत रेमिट्यान्स भित्रिने प्रमुख ६ मुलुकमा वैदेशिक रोजगारी प्रतिबन्ध लागेको छ । कोरोना भाइरसको कारण देखाउँदै हालै कतार, कुवेत, बहराइन र साउदी अरेबियाले नेपाली कामदारलाई भित्र्याउन प्रतिबन्ध लगाएका छन् । दक्षिण कोरिया र जापान नजान नेपाल सरकारले नै आग्रह गर्दै आएको छ, जहाँ कामदार पठाउन अघोषित प्रतिबन्धजस्तै छ । आइतबारदेखि कतारले पनि नेपाली कामदारलाई प्रवेशमा पूर्ण रूपमा रोक लगाएको छ । कतारले नेपाल लगायत १४ मुलुकलाई प्रतिबन्ध लगाएको हो ।
भारतको एस बैंकका संस्थापक पक्राउ
पैसाको संकटमा परी डुब्ने अवस्थामा पुगेको भारतको एस बैंकका संस्थापक राणा कपुर पक्राउ परेका छन् । शनिबार बिहान इडीले सोधपुछका लागि कार्यालयमा बोलाउँदा असहयोग गरेपछि उनलाई आइतबार दिउसो ३ बजे गिरफ्तार गरिएको हो । विशेष अदालतले उनलाई ११ मार्चसम्म प्रवर्तन निर्देशनालयमा हिरासतमा राख्न निर्देशन दिएको छ । गत शुक्रबार इडीले कपुरको समुन्द्र महल टावरमा छापा मार्दा केही कागजपत्र प्राप्त गरेको छ । जसबाट कपुरसँग लन्डनमा पनि केही सम्पत्ति भएको पुष्टि भएको छ । सो सम्पत्तिको स्रोतबारे पनि अनुसन्धान भइरहेको छ ।
भारतको शेयर बजारमा कोरोनाको प्रभाव
कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण भारतीय शेयर बजार प्रभावित भएको छ । विहीबार भारतीय शेयर बजारमा सेन्सेक्स र निफ्टी दुवैमा गिरावट आएको छ । सेन्सेक्समा १२ वर्ष यताकै सबैभन्दा ठूलो गिरावट आएको छ । सेन्सेक्स नौ प्रतिशत अर्थात ३१५० अंकले घटेको छ । यसअघि सन् २००८ को अक्टोबरमा सेन्सेक्स १०.९६ प्रतिशतले घटेको थियो । निफ्टी पनि २०१७ पछि पहिलोपटक ९६०० अंकबाट झरेको छ । सन् २०१७ को जुलाईमा निफ्टीले १० हजार अंक छोएको थियो । बिहीबारको शेयर कारोबारमा निफ्टी पनि करिब नौ प्रतिशतको गिरावटसहित ९६०० अंकबाट झरेको छ । बिगत एक सातामा भारतीय शेयर बजारमा सेन्सेक्समा करिब १५ प्रतिशतको गिरावट आइसकेको छ ।
धनाढ्यहरुको सम्पत्ति घट्यो
कारोना भाइरसको संक्रमणका कारण यति बेला समग्र विश्व अर्थतन्त्र नै प्रभावित बन्न पुगेको छ । यसको प्रभाव स्पष्ट रुपमा विश्वकै धनाढ्यहरुको सम्पत्तिमा देखिन थालेको छ । फोर्ब्सका अनुसार, गत सोमबार मात्रै विश्का टप १० धनाढ्यको सम्पत्ति ३७.७ विलियन अमेरिकी डलरले घट्यो । यसलाई अक्टोबर १९८७ को मार्केट क्र्यासपछिको ठूलो क्र्यास भनिएको छ ।