Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

नयाँ गभर्नरका लागि योग्य र सम्भावित तीन अनुहार

२०७६ फाल्गुन ३० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक बैंकका वर्तमान गभर्नर डा. चिरंजीवि नेपालको कार्यकाल सकिन लागेको छ । चैत्र पहिलो साताबाट उनको कार्यकाल सकिन्छ ।  नयाँ गभर्नर नियुक्तिका लागि सरकारले प्रक्रिया सुरु गरिसकेको छ । गभर्नर बन्नका लागि योग्यता र अनुभवका छ चाहिन्छ नै, राजनीतिक निकटताले पनि प्रभाव पार्छ । राष्ट्र बैंकको गभर्नरको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ । बहालवाल अर्थमन्त्रीको संयोजकत्वमा गठन हुने तीन सदस्यीय समितिको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने भएकाले प्रधानमन्त्रीको निर्णय नै सर्वमान्य हुन्छ । त्यसैकारण गभर्नरका दाबेदार सीधै प्रधानमन्त्रीसम्म पहुँच स्थापित गर्न खोज्छन् । गभर्नर बन्ने दौडधूमा धेरै छन् । तर, योग्यताका साथमा अर्थमन्त्री र प्रधानमन्त्रीसँगको सम्बन्धलाई समेत हेर्दा प्रतिष्पर्धामा केही मात्र छन् ।

चिन्तामणी शिवाकोटी : भावी गभर्नरको दौडमा अहिलेसम्म सबैभन्दा अगाडि डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी छन् । बैंकिङ क्षेत्रलाई राम्ररी बुझेका, नेतृत्व क्षेमता भएका र सक्षम मानिएका उनी गभर्नरका लागि सबैभन्दा उपयुक्त पात्र हुन् । झापाका शिवाकोटी केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा डेपुटी गभर्नर बनेका थिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्लाबासी भएकाले उनको सम्भावना बढी छ । राष्ट्र बैंकमा उनले ३२ वर्ष काम गरिसकेका छन् ।

महाप्रसाद अधिकारी : हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी अर्का सम्भावित बलिया व्यक्ति हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाको निकट मानीने उनी पनि बैंकिङ क्षेत्र बुझेका पात्र हुन् । चार्टर्ड एकाउन्टेन्ट रहेका अधिकारीलाई खतिवडाले गभर्नर हुँदा राष्ट्र बैंकमा डेपुटी गभर्नर बनाएका थिए । उनी वित्तीय क्षेत्रका कुशल प्रशासक मानिन्छन् ।

डा. मीनबहादुर श्रेष्ठ : गभर्नरका लागि अर्का योग्य पात्र हुन् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. मीनबहादुर श्रेष्ठ । उनी कम्यूनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । प्रचण्डले अघि सार्ने पात्रका रुपमा रहेका उनी पनि सम्भावित दरिला व्यक्ति हुन् । प्रचण्डले गभर्नरमा आफ्नो निकटवर्ती सिफारिस गर्दा श्रेष्ठ नै पर्ने छन् । उनी अर्थमन्त्री खतिवडा गभर्नर हुँदा राष्ट्र बैंकको अनुसन्धान विभागको प्रमुख थिए ।

गभर्नर नियुक्तिका लागि गठित समितिले एक जना डेपुटी गभर्नर र दुई जना आर्थिक तथा वित्तीय क्षेत्रमा विज्ञ ब्यक्तिहरू सहित तीन जनाको नाम सिफारिस गर्ने र ती तीन मध्येबाट मन्त्रीपरिषद्ले एक जनालाई स्वीकृत गरी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । जसअनुसार, समितिको सिफारिसमा पर्ने सबैभन्दा बलियो सम्भावना भएका यीनै तीन देखिन्छन् ।