March 10th, 2020

चिनमा कोरोना संक्रमणको प्रभाव : खराब कर्जा असुलीमा लागे बैंकहरु

बैंकिङ खबर । कोरोना भाइरसको महामारीबाट देशको अर्थव्यवस्था नै संक्रमित भएपछि खराब कर्जा नियन्त्रण गर्न चिनका बैंकहरु बढी संयमित हुन थालेका छन् । यसका लागि बैंकहरुले नयाँ नयाँ उपायको खोजी गर्न थालेका छन् ।

बेइजिङमा कर्जा तिर्न नसक्ने अवस्थामा रहेका कम्पनीहरुमा प्रवाह भएको कर्जा र भाखा नाघिसकेको कर्जा नियन्त्रणका लागि कदम चाल्न नियामक निकायले स्वीकृति दिइसकेको छ । केही कर्जादाता बैंकहरुले त केन्द्रिकृत क्रेडिट स्कोरिङ सिस्टमसँग त्रुटीहरु रिपोर्ट नगर्न र छ महिनासम्मको कर्जामा व्याज नलिन अनुमति दिन समेत आग्रह गरेका छन् ।

यो कदमले चाइनिज कम्पनीहरुको समय बचत गर्नुका साथै देशको ४१ ट्रिलियन अमेरिकी डलर बचाउने बताइएको छ । कोरोनाको संक्रमणपछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चिनको अर्थतन्त्र स्थीर बन्न पुगेको छ । तर, उनीहरु करदाताको वासलातमा देखिने लुप्त जोखिमका बारेमा पनि सचेत देखिएका छन् । केही विश्लेषकहरु चिनको वित्तीय क्षेत्रको पारदर्शीतामा आँच आउने र बैंकहरुको अवस्थामा दीर्घकालीन प्रभाव पर्नेमा चिन्तित छन् । एस एण्ड पी ग्लोबल रेटिङ्गसका कर्जा विश्लेषक ह्यारी हु भन्छन्, यसले बैंकहरुको स्तर खस्किन सक्ने देखिएको छ । केही बैंकहरु लामो समयसम्म कम क्रेडिटओर्दी बन्ने छन् ।

यो महिनाको सुरुमा एस एण्ड पीले एउटा ठूलो स्वास्थ्य संकटले चिनको खराब कर्जा रेसियो तीन गुणा बढ्न गई ६.३ प्रतिशत अर्थात् ५.६ ट्रिलियन युआन पुग्ने बताएको थियो । चिनियाँ बैंकको शेयर कारोबार पनि यो वर्ष हङकङमा राम्रो भएन । चार ठूला सरकारी बैंकहरुको कारोबार अपेक्षित बुक भ्यालुको तुलनामा औसतमा ०.५ गुणा मात्रै रह्यो ।

केही विश्लेषकहरुले चालू वर्षको प्रथम त्रैमासमा अर्थतन्त्र प्रभावित हुने प्रक्षेपण गरेपछि खराब कर्जा कम गर्न बैंकहरु र नियामकले विभिन्न उपाय अपनाइरहेका छन् । कर्जादाताहरुलाई सहज होस् भनेर सरकारले बैंकिङ क्षेत्रमा खरबौँ युआन प्रवाह गरेको छ भने, नियामकले व्याजदर कट्टा गरेको छ । त्यस्तै, कर पनि घटाइएको छ ।

बढ्दो खराब कर्जाले वित्तीय नियमनप्रति चिनको धारणा नै बदलिएको छ । बेइजिङका अधिकारीहरुले विगत तीन वर्षदेखि बैंकिङ क्षेत्रमा थप अनुशासन कायम गर्न जुटेका छन् भने कम जोखिमयुक्त कर्जा बजार निर्माण गर्न लागी परेका छन् । बैंकहरुलाई खराब कर्जाको हिसाबकिताब राख्दा बढी संयमित हुन प्रोत्साहन गरिएको छ ।

अब कोरोनाको संक्रमणपछि सरकारको प्राथमिकता परिवर्तन भएको छ । हालै एउटा पत्रकार सम्मेलनमा चाइना बैंकिङ एण्ड इन्स्योरेन्स रेगुलेटरी कमिसनका एक अधिकारी ये यानफेइले नीति निर्माता खराब कर्जाको विषयमा थप धैर्यशील हुनुपर्ने बताएका छन् । कर्पोरेटहरुलाई बचाउनु नै बैंकलाई बचाउनु रहेको उनको तर्क छ ।

संकटको समयमा बैंकहरुका लागि लेखा प्रणालीमा लचकता अपनाउने चिन एक मात्र मुलुक होइन । सन् २००९ को अप्रिलमा विश्व संकटको समयमा अमेरिकाको मार्के टु मार्केट रुल्सलाई खुकुलो बनाइएको थियो । यसले पारदर्शीता घटाउने जोखिम रहेता पनि अमेरिकी करदाताहरुलाई छोटो समयमा कर्जा असुली गर्न सहज भएको थियो ।