बैंकिङ खबर । लगानीयोग्य पुँजीको अभाव कम गरी अर्थतन्त्रमा थप साधन परिचालन नेपाल राष्ट्र बैंकले चालू मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुले विदेशी बैंक, पेन्सन फन्ड, हेज फन्ड लगायतका स्रोतबाट ऋण लिन सक्ने व्यवस्था गरेको थियो । जसअनुसार, हालसम्म सात वटा बैंक तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्था समेत) ले अमेरिकी डलर १३ करोड ६ लाख र जापनिज येन १ करोड १० लाख ऋण लिन स्वीकृति लिएका छन् भने तीन बैंक तथा वित्तीय संस्थाले अमेरिकी डलर ७ करोड १६ लाख र जापनिज येन १ करोड ५ लाख ऋण प्राप्त गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो ऋणको ब्याजदर ६ महिना अवधिको LIBOR दरमा थप ४.० प्रतिशतसम्म हुन सक्ने व्यवस्था छ ।
मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुले विदेशी संस्थागत निक्षेपकर्ता तथा गैर–आवासीय नेपालीहरुबाट कम्तिमा २ वर्ष अवधि भएको विदेशी मुद्रा मुद्दती निक्षेप संकलन गर्न सक्ने र यस्तो निक्षेपको शतप्रतिशतसम्म नेपाली मुद्रामा कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । जसअन्तर्गत पुस मसान्तसम्ममा अमेरिकी डलर १० लाख निक्षेप संकलन भएको छ ।
त्यस्तै, वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था रहेको छ । वाणिज्य बैंकहरुलाई यस्तो साधन परिचालनमा प्रोत्साहित गर्न परिचालित ऋणको शतप्रतिशत कर्जा प्रवाह गर्नसक्ने व्यवस्था गरिएको छ । २०७६ पुस मसान्तसम्ममा १६ वाणिज्य बैंकले रु.४२ अर्ब ९६ करोडको ऋणपत्र जारी गर्न स्वीकृति लिएका छन् ।
राष्ट्र बैंकबाट उपलब्ध गराइने पुनरकर्जा सुविधालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन पुनरकर्जा कार्य्विधि जारी गरिएको छ । जसअनुसार पुस मसान्तमा कुल रु. १९ अर्ब ७५ करोड पुनरकर्जा लगानीमा रहको छ ।
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ संशोधन गरिएको छ । सहुलियतपूर्ण कर्जालाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरुले २०७७ असार मसान्तसम्म प्रवाह गर्नुपर्ने कर्जाको न्यूनतम संख्या समेत निर्धारण गरिएको छ । २०७६ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको रु. ४७ अर्ब २ करोड कर्जा लगानीमा रहेको छ । यसवाट २३,९७८ ऋणी लाभान्वित भएका छन् ।
आर्थिक वर्ष २०७६।७७ को मौद्रिक नीतिमा विस्तृत मुद्राप्रदायको वार्षिक वृिद्धदर १८.० प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखिएकोमा वार्षिक विन्दुगत आधारमा २०७६ पुस मसान्तमा यस्तो वृद्धिदर १४.५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७६।७७ मा कुल आन्तरिक कर्जा २४.० प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा २१.० प्रतिशतसम्मले बढ्ने प्रक्षेपण रहेकोमा २०७६ पुस मसान्तमा यस्तो कर्जाको वार्षिक विन्दुगत वृद्धिदर क्रमशः १४.१ प्रतिशत र १४.९ प्रतिशत रहेको छ ।
२०७६ असार मसान्तको तुलनामा २०७६ पुस मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ३.३ प्रतिशतले अवमूल्यन भई प्रति अमेरिकी डलर खरिद विनिमय दर रु. ११३.०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग २.८ प्रतिशतले अवमूल्यन भएको थियो ।




