२०७६ फाल्गुन १८ गते

सिधाकुरा बैंकरसंग– वित्तीय साक्षरताको एक भिन्न नमुना

महेश राज जोशी –

सामान्य अर्थमा पैसाको उचित व्यवस्थापन तथा वित्तीय कारोबार सम्बन्धी ज्ञानलाई वित्तीय साक्षरता भनेर बुझिन्छ । हरेक व्यक्तिसंग भएको सीमित स्रोत र साधनको कुशल उपयोगबारे जानकारी दिदै आयमुलक क्षेत्रमा लगानी गर्ने र त्यसबाट आर्थिक उन्नती गर्ने ज्ञान र सीप प्रदान गर्नु वित्तीय साक्षरताको प्रमुख लक्ष्य हो । सामान्यतया आम जनतालाई बैंकको पहुँचमा कसरी पुर्याउने मात्र होईन बचत, कर्जा तथा उचित लगानी सम्बन्धी कार्यबिधि समेतको जानकारी वित्तीय साक्षरता कार्यक्रम मार्फत लक्षित वर्गमा पुर्याउने गरिन्छ ।
बैंक वित्तीय कारोबार गर्न ईजाजतप्राप्त बैंकिङ सेवाहरु प्रदान गर्ने बैधानीक संस्था हो । बैंकहरुले बचतगर्न चाहने बचतकर्ताहरुबाट रकम लिएर ऋण लिन चाहने ब्यक्तिहरु तथा संस्थाहरुलाई ब्याज तिर्न सक्ने क्षमताको उचित बिष्लेशण गरि रकम प्रदान गर्दछ । आजको युग साईबर युग पनि हो, ८० प्रतिशत नेपालीनागरिकहरुसंग मोबाइलको पहुँच र ६० प्रतिशत जनतासंग ईन्टरनेटको पहुँच पुगिसकेको अवस्थामा घरमै बसि बसि वित्तीय ज्ञानहरु आर्जन गर्न सकिने थुप्रै माध्यमहरु छन । बचत गर्न चाहने बचतकर्ताहरुले घरमै बसी ईन्टरनेटको माध्यमबाट आफ्नो बसेको ठाउमा कुन वित्तीय सेवा प्रदायक उपलब्ध छ, कुन वित्तीय संस्थाको समाजमा राम्रो प्रतिष्ठा छ, बचत गर्दा प्राप्तहुने ब्याजदर वा अन्य बैंकिङ सेवाहरु के कस्ता छन् जस्ता वित्तीय जानकारी सहजै प्राप्त गर्न सकिन्छ । हरेक बैंक तथा वित्तीय सस्थाहरुले निक्षेप तथा कर्जाका प्रकारहरु, स्कीमहरु, ब्याजदर, ऋणको अवधि देखी सेवाशुल्क सम्मका बिभिन्न जानकारीहरु आ–आप्नो वेबसाइटहरुमा राखेका हुन्छन । आजको अवस्थामा सबैभन्दा बढी प्रविधिमैत्री तथा वित्तीय पारदर्शिता कायम गर्न सकेका संस्थाहरुमा बैंक तथा वित्तीय संस्थाहरु पर्दछन । प्रत्येक बैंकहरुको वेबसाइटमा उक्त बैंकले प्रदानगर्ने सेवा मात्र होईन, शाखा संजाल र सम्बन्धीत शाखाको तथा शाखा प्रबन्धकको सम्पर्क नम्बरहरु समेत राखेको हुन्छ । ईन्टरनेट मार्फत थाहा पाएको जानकारी संगै मनमा लागेका दुबिधाहरु तथा बैंकिङ सेवा सम्बन्धीका थप जानकारी जान्न मन भएमा सम्बधीत बैंकका बैंकर संग सिधा कुरा गरि घर बाटै बैंकिङ कारोबार सम्बन्धी जानकारी सहजै पाउन सकिन्छ । बैंक तथा वित्तीय संस्थाहरु प्रतिका गुनासाहरु तथा नितीगत जटिलताले प्रभावपारेका समस्याहरु समेत नेपाल राष्ट्र बैंकको ईमेल मार्फत तथा वेबसाईटमा उपलब्ध प्रबक्ताको सम्पर्क नम्बरमा फोन गरि सिधाकुरा उच्च ब्यवस्थापन सम्म समेत पुर्याउन सकिन्छ । उक्त जानकारी तथा बित्तीय ज्ञानले पैसाको उचित बचतमात्र होइन समयको उचित बचत पनि हुने गर्दछ जसलाई वित्तीय साक्षरताको डिजिटल नमुनाको रुपमा समेत अनुग्रहीत गर्न सकिन्छ ।

जोशी नेपाल बैंक लिमिटेड, घर्तिगाउ“ शाखाका शाखा प्रबन्धक हुन् ।