बैंकिङ खबर । यो साता वित्तीय क्षेत्रमा केही नयाँ मर्जर सम्झौताहरु भएका छन् । वित्तीय क्षेत्रसँग सम्बन्धीत केही मार्गदर्शन जारी हुनुका साथै केही नीति संशोधन पनि भएका छन् । शेयर बजार नयाँ रेकर्ड कायम गर्दै उचाईमा पुगेको छ ।
सामाजिक सुरक्षा कोषमा नयाँ कर नीति
सरकारले सामाजिक सुरक्षा कोषमा नयाँ कर नीति लागु गरेको छ । यसअघि योगदानकर्ताले अनिवार्य रुपमा ३३ प्रतिशत कर तिर्नुपर्ने नीति रहेकोमा अब पाँच लाख कि एक तिहाईमध्ये जुन घटी हुन्छ सोही कर तिर्न सक्ने व्यवस्था गरिएको छ ।
बीमकको सूचना प्रविधि मार्गदर्शन जारी
बीमा समितिले ‘बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ जारी गरेको छ । मार्गदर्शनमा बीमा कम्पनीले वेवसाइट निर्माण गर्नुपर्ने उल्लेख गर्दै वेवसाइटमा उल्लेख गर्नुपर्ने विषयहरु समेत स्पष्ट पारेको छ ।
मिर्मिरेले नागबेलीलाई किन्ने
मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ती गर्ने भएको छ । दुई संस्थाबीच प्राप्ती सम्बन्धी सैद्धान्तिक समझदारी भएको छ । स्वाप रेसियो डिडिए प्रतिवेदनका आधारमा तय गरिने बताइएको छ ।
प्राइमलाई कैलाश गाभ्ने स्वीकृति
प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभ्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । दुई बैंकबीच गत असार २० मर्जरमा जाने सैद्दान्तिक समझदारी भएको थियो भने गत पुस ३ गते मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
शेयर बजारको नयाँ रेकर्ड
साताको पहिलो दिन नै तीन अर्ब ६० करोड ८५ लाख २६ हजार तीन सय ५४ रुपैयाँको कारोबार गर्दै रेकर्ड कायम भएको शेयर बजारमा बुधबार सो रेकर्ड पनि तोडिँदै चार अर्बमाथिको कारोबार भयो ।
एनएसीको २५ प्रतिशत शेयर विक्री गरिने
नेपाल वायु सेवा निगमको २५ प्रतिशत शेयर विक्री गरिने भएको छ । यसका लागि निगमले संचालक समितिबाट सैद्धान्तिक सहमति समेत पाइसकेको छ । २२ प्रतिशत सरकारी संस्थालाई र तीन प्रतिशत शेयर कर्मचारीलाई दिने सहमति भएको छ । बाँकी ७५ प्रतिशत शेयर भने सरकारकै रहनेछ ।




