February 20th, 2020

सफल महिला उद्यमी, जसले शून्यबाट करोडौंको कारोबार बढाइन्

नरहरि पौड्याल । विगत दुई दशकदेखि पोखरालाई कर्म थलो बनाएकी सफल महिला उद्यमी हुन् मिलन थापा । विसं २०५२ सालमा पोखराका व्यवसायी धुब्रबहादुर थापासँग वैवाहिक बन्धनमा जोडिएपछि उनको व्यावसायिक यात्रा शुरु भएको हो ।

वैवाहिक जीवनको यात्रासँगै उनले गण्डकीमै पहिलो पटक सञ्चाल गरिएको ‘गण्डकी रिकन्डिसन हाउस’मा व्यावसायिक सहकार्य गरिन् ।

केही समयपछि उनको परिवारमा क्रमश: व्यवसायलाई विस्तार गर्ने योजना बन्यो । पुरानो मोटर साइकलको खरीदविक्रीबाट शुरु भएको व्यवसायलाई विस्तार गर्दै ‘हिमालयन अर्गनाइजेसन’ नामको संस्था दर्ता भयो ।

व्यावसायिक घराना बनाउने उद्धेष्यले हिमालयन अर्गनाइजेसन दर्ता गरेको थापा परिवारले यस संस्था मार्फत करीब डेढ दर्जन व्यवसाय सञ्चालन गर्दै आएको छ । हिमालयन अर्गनाइजेसनमार्फत सञ्चालन भएका आधादर्जन भन्दा धेरै व्यावसायिक प्रतिष्ठानको नेतृत्व गर्न सफल महिला उद्यमी मिलन थापाले अहिलेसम्म व्यवसाय निरन्तर गर्दै आएकी छन् ।

गण्डकी रिकन्डिसन हाउसबाट शुरु गरेको व्यावसायिक यात्राले अहिले डेढ दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठान सञ्चालन गर्न सफल भएको उद्यमी मिलन थापाले बताइन् ।

‘शुरुको अवस्थामा विभिन्न अभाव र कठिनाइका वावजुद पनि व्यवसाय अगाडी बढायौं’,उनले भनिन्, ‘शुरुको समयमा आर्थिक र व्यापारिक अनुभवको अभावलाई छिचोल्दै हामीले सुझबुझका साथ व्यावसायिक यात्रालाई अगाडी बढाएको हौं । ’

विसं २०३६ सालमा पोखराको फूलवारीमा जन्मिएकी महिला उद्यमी थापाले बिद्यालय र कलेजस्तरको अध्ययन पोखरामै गरेकी थिइन् । उनले व्यवसाय शुरु गर्दाका बखत आर्थिक अभावका साथै बजारसमेत सानो भएको विगत स्मरण समेत गरिन् ।‘बजारको अवस्थामा क्रमश स् सुधार आएपछि हाम्रो व्यावसायिक यात्रा पनि अगाडी बढ्दै गयो’, उनले बताइन् ।

गण्डकी रिकन्डिसन हाउसको सञ्चालन भएको केही समयपछि नयाँ हिमालयन अर्गनाइजेसन दर्ता गरेर जापानमा निर्मित सुजुकी मोटरवाइकको व्यवसाय शुरु गरेको उद्यमी थापाले बताइन् ।

हिमालयन अर्गनाइजेसन सुजुकी मोटरसाइकलको गण्डकी र धौलागिरिको आधिकारीक विक्रेता थियो । जापानीज मोटर साइकलका अन्यको तुलनामा केही महंगो भएका कारण सोचे अनुसारको बजार लिन सकेन ।

त्यसलगत्तै हिमालयन अर्गनाइजेसन कोरियन मोटरसाइकलको समेत विक्रेता बन्यो । कोरियन कम्पनीको डेलिम ब्राण्डले पोखरामा राम्रो बजार लियो । त्यसपछि अटो व्यवसायमा लागेको थापा परिवारको भाग्यनै खुल्यो । दुई पाङग्रे सवारीका साधन विक्री गर्दै आएको हिमालयन अर्गनाइजेसनले चारपाङग्रे सवारी साधनमा समेत हात हाल्यो ।

पहिलो चरणमा नेपालमै उत्पादन भएको हुलास मोटर्सको आधिकारीक विक्रेता बनेर चारपाङग्रे सवारीको व्यावसायिक यात्रा शुरु गरेको उनले बताइन् ।

‘हुलासका विभिन्न ब्राण्डका साधनको विक्रीसँगै अन्य कम्पनीका समेत चारपाङग्रे सवारीको व्यवसाय थालेका हौं’ उनले भनिन्, ‘दुई पाङग्रे वाइकबाट शुरु भएको अटो व्यवसाय चार पाङग्रेसम्म आइपुग्दा व्यावसायिक घरानाका रुपमा स्थापित भएका छौं ।’

उद्यमी थापाले विगत केही वर्षदेखि फोर्ड मोटर्सको विभिन्न ब्राण्डका सवारीका सधानहरुका लागि नेपालको आधिकारीक विक्रेताका रुपमा काम गर्दै आएको बताइन् । पछिल्लो समय फोर्ड मोटरका विभिन्न ब्राण्डले नेपालमा राम्रो बजार लिएको छ । यस मोटर्सले ठूला र सानागरी विभिन्न मोडलका सवारीहरु नेपाली बजारमा विक्री गर्दै आएको छ ।

महिला उद्यमी थापा पछिल्लोसमय अटोसँगै अन्य व्यवसायमा समेत आबद्ध रहेकी छन् । व्यवसाय विस्तारका क्रममा उनले पछिल्लो समय हिमालयन अर्गनाइजेसन, हिमालय इन्भेष्टमेन्ट कम्पनी प्रालि, आयम इन्टर कन्टीनेन्टल प्रालि, हिमालय रिसोर्ट प्रालि, हिमालय अटोवल्ड प्रालि, हिमालयन इक्युपमेन्ट प्रालि, हिमालय अटो इन्जिनेरिङ प्रालि लगायत आधादर्जन भन्दा धेरै व्यवसाय सञ्चालन गर्दै आएकी छन् ।

थापाका विभिन्न व्यावसायिक प्रतिष्ठानहरुले वार्षिक रू।५० करोडभन्दा बढीको कारोबार गर्ने गरेका छन् । उनको व्यवसाय पोखरामा मात्र नभइ काठमाडौं, हेटौंडा, विराटनगर, चितवन लगायतका ठाउँमा रहेको छ ।

आफ्ना विभिन्न व्यावसायिक प्रतिष्ठानहरुमा १०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको बताउँदै उनले भनिन्, ‘अप्रत्यक्ष रोजगारी पाउने पनि धेरै छन ।’

महिला उद्यमी थापाले व्यवसाय गर्दा सेवा पहिलो शर्त हुनुपर्ने बताइन् । ग्राहकसँग हँसिलो, मिजासिलो भएर गुणस्तरिय सेवा दिएमात्रै सफलता हात लाग्ने उनले बताइन् । ‘व्यवसाय सफल हुन धैर्यता, ईमान्दारिता र लगनशिलता आवस्यक हुन्छ’, उनले भनिन् ।

महिला उद्यमी थापाले सरकारले साना तथा ठूला उद्यमीहरूसँगको समन्वयमा नीति निर्माण गरी व्यवसायमैत्री वातावरण बनाउन आवश्यक रहेको पनि बताइन् ।

उनका अनुसार बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रक्रिया अत्यन्तै झन्झटिलो रहेको छ । महिला उद्यमशीलता विकासका लागि सरकारले विनाधितो सहुलियत दरमा कर्जा दिने नीति लिए पनि उद्यमीले सहज रूपमा कर्जा नपाएको गुनासो उनको छ ।

बैक तथा वित्तीय संस्थाहरुले व्यावसायीलार्य शुरुमा सस्तो व्याजमा सहमती गर्ने र ऋण लिएपछि मनलाग्दो गरी आफू खुशी व्याज लगाउने गरेको उनले सुनाइन् ।

‘बैक तथा वित्तीय संस्थाले शुरुमा कारोबार गर्दा चलनचल्तीको व्याज लगाउँछन्, जब कारोबार शुरु हुँदै जान्छ अनि अस्वभाविक व्याज बढाउँछन्’ उनले भनिन् । उनका अनुसार शुरुमा बैक र ऋणीबीच भएको सहमती धेरै समय टिक्नै पाउँदैन ।

व्यावसायिक यात्राको क्रममा करीब दुई दर्जनभन्दा बढी देशको भ्रमण गरेकी उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध रहेकी छन् ।

सवै क्षेत्रमा पुरुषहरुको मात्र दबदबा रहेको अवस्थामा महिलाले पनि पुरुषहरुले गर्दै आएका कामहरु गर्न सक्छन् भन्ने सन्देश दिन महिलाहरुकै संलग्नतामा रेडियो जननी संचालन गरिएको थापाले बताइन् ।

‘सवै क्षेत्रमा पुरुषहरुको मात्र दबदवा बढेको देखेर महिला दिदीबहिनीले पनि केही गर्नुपर्छ भनेर रेडियो खोलेका हौं’ उनले भनिन् । आर्थिक अभियानमा प्रकाशित


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]