२०७६ माघ २४ गते

बैंकरको दैनिकी


खडक रोकाया –

आजभोली मान्छेहरुलाई फुसर्द नै छैन । एका बिहानैदेखि खै के मा हो ब्यस्त नै देखिन्छन । कसैलाइ ब्यापारमा जान त कसैलाई स्कुल, कलेज, पढ्न पढाउन जानदेखि कसैलाई चोकमा गएर चिया चुरोट खाएर ठुला ठुला राजनितिक गफ गर्न त कसैलाई क्यारम बोर्ड तथा तासमा दुईचार गेम खाएर साझको पेगको तयारी गर्नेहरु सबै आफ्नो गति तेज नै गरिरहेका हुन्छन । तर बैंकरको गति पनि यी सबैको भन्दा कम छैन । बैंकरको दैनिकी यसरी सुरु हुन्छ ।
सामान्यतया बिहान करीब ५ बजे देखि ६ बजेसम्म आम मान्छे उठिसकेको हुन्छ । अपबाद बाहेक बैंकरको पनि उठ्ने समय त्यही हुन्छ । सामान्य नित्यकर्म तथा मोबाईलमा यसो अनलाईन गर्दा नगर्दै बिहानको ८ बज्छ । अनि सुरु हुन्छ अफिस जाने तयारी ८:३० मा खाना खाईसक्नुपर्छ अझ उपत्यका भित्रको साथीहरु त त्यो समयमा घरबाट निस्किनुपर्छ । बिहानको ९:३० बजे सम्म अफिस ईन भईस्कनु पर्छ त्यही ९:३० को लागि भौतारीदै अफिस पुग्छ । घाम, पानी, जाम, साथी भाई, परिवार, ईष्टमित्र तथा आफन्त केही नभनी आफ्नो टार्गेटमा लाग्छ । यसो बजेट र रिपोर्टको तुलना गर्छ सबै लक्ष्यभन्दा तल हुन्छ अनि दौडिन्छ बजारमा । जहा जहा उ पुग्छ आफ्नै बैंकर साथी भाई मात्रै देख्छ । कसैले भेट्नलाई समय मात्रै दिएपनि आफु सफल भएको सम्झिन्छ अनि फर्किन्छ । फ्रन्ट अफिस र ब्याक अफिसमा बस्नेको फेरी आफ्नै तरिकाले बित्छ पहिलो अध्याय ।
दिउसोको नास्ता खान्छ अनि सुरु हुन्छ अर्को अध्याय । दोस्रो अध्याय सुरु हुदासम्म दिउँसोको २ बजिसकेको हुन्छ । काम अनुसार कसै कसैको दोस्रो अध्याय ३ बजेपछि सुरु हुन्छ । आन्तरिक काममा केही समय दिन नपाउदै फोनको घन्टीहरु बज्न थाल्छन अनि शुरु हुन्छ अफिसमै भेटघाटको कार्यक्रम । भेटघाटमा कसैको जग्गामा लगाएको बैना पचहुनेदेखि अर्को बैंकले कर्जा नविकरण गर्न नसकेको कुराको चर्चा हुन्छ । कसैको कर चुक्ता हुन नसकेको त कसैको फर्म नविकरण हुन नसकेको त कसैको दुई महिनाकै किस्ता एकैचोटी हाल्ने प्रतिवद्धता साथै असुली संग सम्बन्धित अन्य तीता मिठा कुरा गर्दै दिउँसोको ४ बज्छ । अनि सकेसम्म समाधान गर्ने जुक्ति निकाल्न छलफल हुन्छ ।
बेलुकाको ५ बजेपछि शुरु हुन्छ तेस्रो अध्याय । बल्ल शुरु हुन्छ काम दिनभरीको खाता खोल्नेदेखि अन्य गरेको काम लाई मिलाउनेसम्म र अपुर्ण कामलाई पुर्णता दिने काम जति सबै यही अध्यायमा हुन्छ । मुख्य कार्यालयमा रिपोर्ट पठाउनेदेखि सेवाग्राहीका महत्वपुर्ण कामहरु गर्दागर्दै बेलुकाको ६ बज्छ । दिनभरीको कारोबारहरुको हिसाब किताब मिलाउन नगद बिभागमा काम गर्नेहरु बल्ल मेशिन चलाउन थाल्छन र यो क्रम सामान्य अवस्थामा पनि सात बजेसम्म चल्छ । यी कामहरु सक्दा सम्म ७.३० बजिसकेको हुन्छ । यो समय लामो बिदा र त्रैमाशिक तथा बार्षिक क्लोजिङ बाहेकको समयको हो । यति समय काम गर्दा पनि काम सकिएको हुदैन । हतार हतार गर्दा पनि ८–९ बजे पनि मुस्किलले घर पुग्छ । घरका मान्छेहरुको एउटै गुनासो हुन्छ किन ढिला गरेको ।
समग्र बैंकिङ क्षेत्रको काम गर्ने र काम गराउने शैली हेर्दा लाग्छ हामी ब्यबस्थापनको परम्परागत सिद्दान्तमा पनि पुगेको छैनौ । के हामीले सिकेको ब्यवस्थापन यही हो ? जब हामी ७० बर्षको उमेरमा हिडिरहेको हुनेछौं कल्पना गर्नुहोस आजको समयलाई हामीले सही ठाँउमा लगानी गर्यौ कि गरेनौ ।

रोकाया कुमारी बैंकमा कार्यरत छन् ।