बैंकिङ खबर । लघुवित्त क्षेत्रमा मर्जरको क्रम बढ्दो छ । मर्जर प्रक्रियामा यसै साता मात्रै चार लघुवित्त सामेल भएका छन् । यो साता अरुण तेस्रोमा बैंकिङ लगानीदेखि राष्ट्र बैंकद्धारा वालुवाटार जग्गाको विवरण माग लगायत थुप्रै गतिवधिहरु वित्तीय क्षेत्रमा भएका छन् ।
राष्ट्र बैंकले माग्यो बालुवाटार जग्गाको विवरण
नेपाल राष्ट्र बैंकले बैंकहरुसँग बालुवाटारस्थित ललिता निवासको घर-जग्गा धितो राखेर दिएको ऋण रकमको विवरण माग गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याएर भ्रष्टाचार गर्नेहरुविद्ध बुधबार विशेष अदालतमा मुद दायर गरेको थियो । अख्तियारले त्यहाँ रहेको जग्गा खरिद गर्न ऋण दिने बैंकलाई कारबाही गर्नको लागी राष्ट्र बैंकलाई लेखी पठाउने निर्णय गरेको थियो ।
अरुण तेस्रोमा लगानी जुट्यो
९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनामा भारतको एसबिआईका साथै कानरा बैंक, पञ्जाब नेशनल बैंक (पिएनबी), एक्जिम बैंक अफ इण्डिया र युनियन बैंकले ऋण लगानी गर्ने भएका छन् । यी बैंकले कुल ८५ अर्ब ९७ करोड रूपैयाँ लगानी गर्ने छन् । नेपालको एभरेष्ट बैंकले १० अर्ब २० करोड र नबिलले ५ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । आयोजनाको ३० प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजनाको कुल लागत एक खर्ब ४४ अर्ब अनुमान गरिएको छ ।
चार लघुवित्त मर्जर प्रक्रियामा
नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त एक आपसमा गाभिन लागेका छन् । त्यस्तै, समिट लघुवित्त र साजिलो लघुवित्त पनि गाभिने भएका छन् । मर्जर प्रक्रिया अघि बढाउनका लागि समिट लघुवित्त र नयाँ नेपाल लघुवित्तको नेप्सेमा कारोबार रोक्का भएको छ ।
राष्ट्रमा दुई अधिकारीको बढुवा
नेपाल राष्ट्र बैंकले विश्रुत थापा र रामबहादुर मानन्धरलाई कायम मुकायम कार्यकारी निर्देशकमा बढुवा गरेको छ । यसअघि सुपरिवेक्षण विभागको निर्देशकको जिम्मा पाएका थापाले अहिले मुद्रा ब्यवस्थापन विभागको काम सम्हाल्ने भएका छन् भने विकास बैंक सुपरिवेक्षण विभागको निर्देशकका रुपमा रहेका मानन्धरले संस्थागत योजना विभागको जिम्मेवारी पाएका छन् ।



