बैंकिङ खबर । यो साता नेपाल राष्ट्र बैंकले नेपालमा रेमिट्यान्स आप्रवाहको स्थितीसम्बन्धी अध्ययन रिपोर्ट सार्वजनिक गरेको छ । जसअनुसार, विदेशीने नेपाली कामदारको संख्यामा कमी, गन्तव्य मुलुकहरुको आर्थिक अवस्था लगायतका कारण रेमिट्यान्सको वृद्धिदरमा कमी आएको देखिएको छ । त्यस्तै, प्राप्त रेमिट्यान्समध्ये अधिकांश हिस्सा उपभोग्य वस्तुमा खर्च भएको देखिएको छ । यसबाट रेमिट्यान्स प्राप्त गर्ने परिवारको जीवनस्तरमा सुधार आएको पाइएको छ । यसबाहेक पनि केही गतिवविधिहरु वित्तीय क्षेत्रमा भएका छन्ः
राष्ट्र बैंकको रेमिट्यान्स रिपोर्ट
आर्थिक वर्ष २०६५।६६ मा रु.२०९ अर्ब विप्रेषण आप्रवाह रहेकोमा यस्तो आप्रवाह क्रमशः वृद्धि हुँदै आर्थिक वर्ष २०७५।७६ मा रु.८७९ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७०।७१ मा २५ प्रतिशतले बढेको विप्रेषणको वृद्धिदर त्यसपछिका वर्षहरुमा भने क्रमशः घट्दै गई आर्थिक वर्ष २०७५।७६ मा १६.५ प्रतिशतले बढेको देखिन्छ । आर्थिक वर्ष २०७६।७७ को चार महिनामा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले कमी आई रु.३०४ अर्ब ९७ करोड कायम भएको छ । कुल विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २५.४ प्रतिशत रहेको छ ।
तेस्रो पक्ष बीमामा पुल प्रणाली
तेस्रो पक्ष बीमामा पुल प्रणाली लागु भएको छ । निर्जीवन बीमक संघले मोटरको तेस्रो बीमामा पुल बनाउने निर्णय गरेको हो । अब तेस्रोपक्ष बीमा बापत आउने प्रिमियम सबै कम्पनीले अन्य क्षेत्रबाट गरेको प्रिमियमको आधारमा दामासायी रुपमा बाड्ने छन् । बीमक संघका अनुसार सबै प्रदेशमा रहेका १८ यातायात कार्यालयहरुमा निर्जीबन बीमा कम्पनीको ६० वटा कार्यालय रहने छन् । आवश्यकता अनुसार कम्पनीहरुले शाखा थप्न पनि सक्नेछन् । इन्स्योरेन्सले आर्जन गरेको बीमांक रकमको बाँडफाड कम्पनीको अन्य पोलिसी अनुसार हुने छ ।
नेप्सेमा सुचिकृत कम्पनीहरुको वर्गाीकरण
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र सूचीकरण नियमावलीको विनियम ११(६) बमोजिम सुचिकृत कम्पनीहरुको दोस्रो त्रैमासको अध्यावधिक बर्गिकरण सार्बजनिक गरेको छ । जसअनुसार, ए वर्गमा १२ बैंक परेका छन् । बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापूच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, सानिमा बैंक र स्टान्डर्ड चार्टर्ड बैंक ए वर्गमा परेका छन् । समुह ’बि’मा भने कुनै कम्पनी परेका छैनन् । जी वर्गमा ३२ वटा कम्पनी छन् । नबिल, एभरेष्ट बैंक लगायतका कम्पनीहरु बन्द भैसकेका बुटवल स्पिनिङको बर्गमा बर्गिकरण भएको छ ।
नेप्सेमा सुचिकृत करिब २०० बढी संस्थाहरु ’जेड’ बर्ग अर्थात खराब कम्पनीको सुचिमा परेका छन् ।


