नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सम्पूर्ण नेपाल प्रहरी कर्मचारीहरुको तलबी बचत खाता खोली सञ्चालन सम्बन्धमा बिहिबार समझदारी भएको छ । उक्त समझदारी पत्रमा नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्यालको समुपस्थितीमा प्रहरी अतिरिक्त महानिरिक्षक रमेश शेखर बज्राचार्य र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे । समझदारीपछि बैंकले आफ्ना हाल ६७ जिल्लामा रहेका १ सय ६७ वटै शाखा कार्यालयहरुबाट नेपाल प्रहरीका सम्पूर्ण कर्मचारीहरुलाई आवश्यक प्रक्रिया पुर्याएर शुन्य मौज्दातमा तलबी बचत खाता खोलीदिने, सहुलियत दरमा एटिएम डेबिट कार्ड, मोबाइल बैकिङ्ग सुविधा, एबिबिएस सुविधा, निशुल्क स्टेटमेन्ट, चेकबुक सुविधा, दुई लाख रुपैयाँसम्मको निक्षेप बीमा, एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा, प्रहरी तथा प्रहरीका परिवारलाई नियमानुसार डलर सटही सुविधा प्रदान गर्न तथा VISA Debit Card International/Travel quota सुविधा उपलब्ध गराउने छ ।
उक्त अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले इतिहास बोकेको नेपाल सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकसंग तत्काल करिब ७२ हजार प्रहरीको तलबी खाता संचालन गर्न पाउदा खुशी लागेको विचार ब्यक्त गर्नुभयो । प्रहरी महानिरिक्षक अर्यालले यसबाट प्रहरीले अब नगद बोकेर हिड्नु नपर्ने र प्रहरीको बचत गर्ने बानीमा विकास हुने बताए । सो अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले उक्त समझदारी ऐतिहासिक भएको बताउँदै नेपाल प्रहरीका कर्मचारीहरुलाई बैंकका आधुनिक सेवाहरु उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरे । साथै श्रेष्ठले हाल ६७ जिल्लामा रहेका यस बैंकको सेवालाई निकट भविष्यमा ७५ वटै जिल्लामा विस्तार गर्ने अभियानमा बैंक रहेको र यसबाट नेपाल प्रहरी लगायत सर्वसाधारण जनता लाभान्वित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायब महाप्रवन्धक बिष्णु प्रसाद बैद्य, इलेक्ट्रोनिक विभागका प्रमुख कपिलमणी ज्ञवाली, सुचना प्रविधि विभागका प्रमुख देवेश लोहनी, ब्रान्च अपरेशन विभागका उप प्रमुख नारायण प्रसाद सुवेदी, प्रवन्धकसरोज बस्नेत, शाखा कार्यालय नक्सालका प्रवन्धक श्रीमती सोनी श्रेष्ठ लगायत नेपाल प्रहरी र बैंकका बरिष्ठ पदाधिकारीको उपस्थिती रहेको थियो ।