Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

नेपालको रेमिट्यान्स आप्रवाहमा प्रभाव पार्ने तत्वहरु

२०७६ माघ १४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको तथ्यांकले रेमिट्यान्स आप्रवाह वर्षेनि बढे तापनि आप्रवाहको वृद्धिदर क्रमशः घट्दै गइरहेको देखाएको छ । आर्थिक वर्ष २०६५।६६ मा रु.२०९ अर्ब विप्रेषण आप्रवाह रहेकोमा यस्तो आप्रवाह क्रमशः वृद्धि हुँदै आर्थिक वर्ष २०७५।७६ मा रु.८७९ अर्ब पुगेको छ । तर, आर्थिक वर्ष २०७०।७१ मा २५ प्रतिशतले बढेको विप्रेषणको वृद्धिदर त्यसपछिका वर्षहरुमा क्रमशः घट्दै आर्थिक वर्ष २०७६।७७ को दोस्रो महिनादेखि भने विप्रेषण आप्रवाह रकममा नै कमी आएको छ । आर्थिक वर्ष २०७६।७७ को चार महिनामा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले कमी आई रु.३०४ अर्ब ९७ करोड कायम भएको छ । विदेश जाने कामदारको संख्या घट्नु, गन्तव्य देशहरुको अर्थतन्त्रको अवस्था लगायतका कारणले रेमिट्यान्स घटेको देखिन्छ ।

विदेश जाने कामदार घटे
पछिल्ला वर्षहरुमा नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्यामा कमी आएको छ । वैदेशिक रोजगारीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०५०।५१ मा ३,६०५ नेपालीलाई वैदेशिक रोजगारीका लागि स्वीकृति प्रदान गरिएकोमा यो संख्या क्रमशः वृद्धि हुँदै आर्थिक वर्ष २०७०।७१ मा अधिकतम ५,२७,८१४ पुगेको थियो । पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७५।७६ मा २,४३,८६८ जनाले यस्तो स्वीकृति लिएको देखिन्छ ।

रेमिट्यान्स पठाउने शूल्क
रेमिट्यान्स पठाउने शूल्क धेरै भएका कारण पनि रेमिट्यान्स आप्रवाह बढ्न नसकेको देखिन्छ । गन्तव्य मुलुकहरुबाट नेपाल पठाउँदा लाग्ने शूल्क भारत, बंगलादेश लगायतका देशहरुमा पठाउने शूल्कभन्दा बढी रहेको छ । धेरै नेपाली कामदार जाने मुलुकहरुबाट नेपालमा २०० अमेरिकी डलरसम्म रेमिट्यान्स पठाउँदा औसतमा ४.३ प्रतिशत लागत लाग्छ भने ५०० डलरसम्म पठाउँदा २.९ प्रतिशत लागत लाग्छ । धेरै नेपाली गएका खाडी मुलुकहरुमा नै रेमिट्यान्स पठाउँदा धेरै खर्च लाग्ने देखिन्छ ।

छिमेकी मुलुकको अर्थतन्त्र
छिमेकी मुलुक भारतको अर्थतन्त्रले नेपालमा पनि प्रभाव पार्छ । नेपालमा प्राप्त विप्रेषणमा भारतको पनि ठूलो हिस्सा रहेको छ । अहिले भारतको आर्थिक वृद्धिदरमा कमी आएका कारण भारतबाट आप्रवाह हुने विप्रेषणमा कमी आउन सक्ने राष्ट्र बैंकको अध्ययनले देखाउँछ ।

गन्तव्य मुलुकहरुको आर्थिक अवस्था
गन्तव्य मुलुकहरुको आर्थिक अवस्थाले नेपालमा प्राप्त हुने विप्रेषणमा प्रत्यक्ष प्रभाव पार्दछ । गन्तव्य मुलुकका अर्थतन्त्रको समष्टिगत अवस्था, वित्तीय नीति र कच्चा पेट्रोलियमको मूल्य जस्ता बाह्य चक्रीय कारकहरुले विप्रेषणमा प्रभाव पार्न सक्ने देखिन्छ । नेपाल भित्रिएको कुल विप्रेषणको आधा हिस्सा खाडी मुलुकबाट प्राप्त हुने सन्दर्भमा ती मुलुकहरुमा यस्ता चक्रीय कारकहरुले पार्ने प्रभावले नेपालको विप्रेषण आप्रवाह प्रभावित हुने देखिन्छ । सन् २०१३ देखि सन् २०१६ सम्म खनिज तेलको उत्पादनमा प्रतिस्पर्धा र उल्लेख्य वृद्धिले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य घटी खाडी मुलुकहरुका अर्थतन्त्रमा सुस्तता देखिएको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य र निर्यात परिमाणमा आउने गिरावटले पेट्रालियम निर्यातमा निर्भर खाडी मुलुकहरुको आर्थिक वृद्धिदरमा नकारात्मक असर पर्न गई यसबाट नेपालको विप्रेषण आप्रवाह समेत प्रभावित हुने सम्भावना रहन्छ ।

गन्तव्य मुलुकहरुको वित्तीय नीति
विश्व अर्थतन्त्रमा आएको सुस्ततासंगै साउदी अरेबियाले निताकत नीति अन्तर्गत साउदी कम्पनीहरुमा साउदी नागरिकहरुलाई रोजगारी प्रोत्साहन गर्न दश जना भन्दा वढी कामदार रहेको प्रतिष्ठानमा निश्चित प्रतिशत स्वदेशी कामदार हुनुपर्ने व्यवस्था गरेको छ । साथै, अन्य खाडी मुलुकहरुले समेत स्वदेशी रोजगारीलाई प्रोत्साहन गरी विदेशी कामदारलाई निरुत्साहित गर्ने नीति अबलम्वन गरेको पाइन्छ । यसवाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आई विप्रेषण आप्रवाहमा समेत प्रतिकुल प्रभाव पर्ने सम्भावना रहन्छ ।