बैंकिङ खबर । पैसा कमाउन भन्दा गाह्रो सम्हाल्न हुन्छ । धेरै कमाउनेहरु खर्च गर्ने कुरामा धेरै सोच्छन् । विना योजना खर्च गरियो भने आजको धनाढ्य भोली कंगाल हुन सक्छ । यस विषयमा उनीहरु जानकार हुन्छन् । धनी व्यक्तिहरुबाट तपाईँ हामीले सिक्नुपर्ने कुराहरु यसप्रकार छन्ः
१. देखावटीका लागि अनावश्यक खर्च नगर्ने
धनाढ्यहरु मनलाग्दी रुपमा पैसा उडाउँदैनन् । उनीहरु आवश्यक कुरामा मात्रै पैसा खर्च गर्छन् । साधारण घरमा बस्छन्, साधारण गाडी चलाउँछन् । हवाई यात्रा गर्दा विजनेश क्लास नै चाहिन्छ भन्ने सोचाई राख्दैनन् । देखावटीका लागि अनावश्यक सामानहरुमा खर्च गर्दैनन् ।
२. लुगा, जुत्ता र खानेकुरामा कम खर्च गर्ने
स्मार्ट धनाढ्यहरू डिजाइनर लुगा, ब्राण्डेड जुत्ता र एक्सेसरिजमा धेरै नै कम खर्च गर्छन् । उनीहरूले आफ्ना छोराछोरीका लागि समेत उही नियम चलाएका हुन्छन् । उनीहरू भविष्यमा आफू र आफ्ना छोराछोरीलाई धनी बनाइराख्ने किसिमका कुरामा खर्च गर्छन् । हाल आफू धनी भइरहेको जस्तो देखाउने वस्तु खरीद गर्नबाट उनीहरू टाढै बस्छन् ।
३. बचत र लगानीपछि मात्रै खर्च गर्ने
अधिकांश धनाढ्यले आफ्नो आम्दानीको कम्तीमा पनि २० प्रतिशत बचत र लगानी गर्छन् अनि बाँकी रहेको रकम मात्र खर्च गर्छन् । आफ्नो कमाइ थोरै छ भने पनि बचत गर्ने बानी भयो भने त्यसले भविष्यलाई सुरक्षित बनाउन सहयोग गर्छ र सेवानिवृत्त हुने बेलामा दुःख गर्नुपर्ने अवस्थाबाट बचाउँछ । पहिले बचत गर्नुपर्छ र केही रकम अनपेक्षित आपतविपतका लागि पनि छुट्ट्याउनु पर्छ ।
४. क्रेडिट कार्ड बोक्ने
नगद हातमा भयो भने खर्च गर्न मन लाग्छ । अधिकांश धनी व्यक्तिहरूले त्यति मात्र नगद बोक्छन् जति आफूलाई चाहिएको वस्तु खरीद गर्न पुगोस् । उनीहरू क्रेडिट कार्डलाई नै बढी प्राथमिकता दिन्छन् । क्रेडिट कार्डले बढी खर्च गराउँछ भन्ने भनाइ रहे पनि यी धनाढ्यहरू चाहिँ अनुशासनमार्फत खर्च जोगाउँछन् र क्रेडिट कार्डबाट खर्च गर्दा पाइने छूट र सुविधाको लाभ उठाउँछन् ।
५. छुट एवम् सहुलियतको फाइदा लिने
छुट एवम् सहुलियत ग्राहककै लागि हुन्छ । कतिपयलाई सहुलियत लिँदा हिच्किचाहट हुने हुन्छ । तर, धेरैजसो धनी व्यक्तिहरू छूट, सेल, कुपन र पुरस्कार जस्ता अवसरको खोजीमा रहेका हुन्छन्, जसबाट उनीहरूले आफ्नो लागत र खर्च घटाउन सकून् । थोरै मात्र छूटले पनि ठूलो रकमको बचत हुन सक्छ ।
६. मूल्यभन्दा गुणस्तरलाई बढी महत्त्व दिने
अधिकांश धनाढ्यहरूले कुनै वस्तु सस्तो हुँदैमा खरीद गरिहाल्दैनन् । उनीहरूको बुझाइमा राम्रो गुणस्तरको वस्तु धेरै लामो समयसम्म टिक्छ । घरमा प्रयोग हुने कुनै सस्तो सामान खरीद गरियो भने त्यसको मर्मत सम्भारमा धेरै पैसा खर्च हुन सक्छ अथवा त्यो बिग्रिएर छिट्टै नै त्यसको सट्टामा नयाँ सामान ल्याउनुपर्ने हुन सक्छ ।




